close

रामपुर नगरपालिकामा ज्याग्दी पार्क बन्दै (भिडियो खबर)

रामपुर नगरपालिकामा ज्याग्दी पार्क बन्दै (भिडियो खबर)

ADVERTISEMENT

पाल्पा- यो समय मुलुक कोरोनाको दोस्रो भेरियन्टको प्रकोपमा छ । कोरोनाका कारण जारी निषेधाज्ञाले सर्वसाधरण घर बाहिर निस्कन पाएका छैनन् । एक ठाउँका मानिस अर्को ठाउँमा जाने भेटघाट गर्ने, कार्यक्रम छलफल, गोष्ठी सबै ठप्प छन । 

 

स्थानीय सरकारले कोरोना रोकथाम र नियन्त्रणमा ध्यान केन्द्रित गरेका छन् । सिमित विकासे गतिविधिले मात्रै निरन्तरता पाइरहेको अवस्था छ । तर, पाल्पाको रामपुरमा भने ज्याग्दी बृहत पार्क निर्माणले तिव्रता पाएको छ । 

 

कोरोनाका कारण गाउँघरमा जम्मा भएका रामपुर नगरपालिका वडा नं ६ का स्थानीयको संक्रियतामा अहिले पार्क निर्माणले गति पाएको हो । गाउँघरमा फुर्सदीला बनेका युवा पुस्ता देखि पाका पुस्तासम्मले पार्कको संरचना निर्माणमा रेखदेख गर्ने गरेका छन् । 

 

अहिले स्थानीयबासी पार्कमा बसेर आराम गरिरहेका भेटिन्छन् । कालिगण्डकीको आड माथि अवस्थित ज्याग्दी सामुदायिक वन क्षेत्रको २६ हेक्टर क्षेत्रफल मध्ये ८ हेक्टर क्षेत्रफलमा यति खेर रामपुर नगरपालिका ६ नं वडा कार्यालयले ज्याग्दी वनलाई पार्कको रुपमा परिणत गरेको हो ।

 

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फतबाट समेत यस पार्ककोको संरचना निर्माण, सरसफाई, रंङरोगन लगायतको काम हुँदै आएको छ । ज्याग्दी पार्कमा पाका पुस्ताको मात्रै होइन नयाँ पुस्ताको समेत त्यस्तै भीड लाग्ने गर्दछ । 

 

वडाले पार्कको डिपिआर तयार गरि पार्कको निर्माण सुरु गरेको हो । प्रधानमन्त्री रोजगार मार्फत २ हजार ७ सय मिटरको ट्रयाक निर्माण, गिट्टी बिछ्याउने, चौतारो, काठे पुल तथा बेन्च बनाउने, ट्रयाकका ढुङ्गा तथा रुखहरु सजाउने काम भइरहेको छ । 

 

पार्कको निर्माणको लागि रुपन्देही, चितवन लगायतका विभिन्न जिल्लाका पार्कको अध्ययन अवलोकन गरी त्यहाँ निर्माण भए भन्दा फरक ढंगले संरचना तयार गर्ने लक्ष्य लिइएको छ । पार्क घुमफिर गर्ने क्षेत्रको रूपमा मात्र सिमित नभई यसलाई जंगली जनावर संरक्षण क्षेत्रको रुपमा समेत विकास गर्ने लक्ष्य लिइएको छ । गाउँघर नजिक आएर घाइते भएका जंगली जनवारलाई सो क्षेत्रमा संरक्षणको लागि राख्ने प्रमुख लक्ष्य छ । 

 

नेपाल सरकारले लिएको ‘एक वन, एक उद्यान’ कार्यक्रम अन्र्तगत वडाले सो क्षेत्रलाई नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने लागिएको छ । पार्क निर्माणमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रत्येक दिन २८ जना सम्मले काम गरि रहेका छन् भने वडाले छुट्टै १५ लाख बजेट विनियोजन गरेर काम अघि बढाएको हो ।