close

मुहार फेर्दै कोतघर, सडकदेखि खुँडा र खुकुरीसम्म तयार 

मुहार फेर्दै कोतघर, सडकदेखि खुँडा र खुकुरीसम्म तयार 

Trulli
ADVERTISEMENT

बागलुङ- गलकोट नगरपालिका र स्थानीय मिलेर गलकोटको कोतघर संरक्षण थालिएको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको संरक्षण गरेर पर्यटक भित्राउने लक्ष्य समेत राखिएको वडा नं. ३ का अध्यक्ष बीरजंग भण्डारीले बताए ।

 

नगर विकास कोष, गण्डकी प्रदेशको पर्यटन मन्त्रालय, बिदेशमा बस्ने गलकोटे युवा समेतले कोतघर संरक्षणका लागि लगानी गरेको भण्डारीले बताए । संरक्षण अभियानका लागि मध्यपहाडी लोकमार्गदेखि ६ किमी सडक समेत स्तरीय बनाउने क्रम सुरु भएको छ । एउटा कल्भर्ट र केही घुम्ती मिलाउने काम भइसकेको हो । 

 

सडक व्यवस्थित र कालोपत्रेसम्म गर्ने योजना बनेको व्यवस्थापन समितिका सदस्य झरसिंह खत्रीले बताए । ‘घुम्न आउनेलाई रमाउने वातावरणका लागि काम गरिरहेका छौं’, खत्रीले भने, ‘नाली र कल्भर्ट समेत निर्माण भइसकेको छ, आगामी वर्षसम्म ग्राभेल सकिन्छ ।’

 

 सहज जान आउन सकिने भएपछि कोतघरको पर्यटकीय महत्व बढ्ने उनले बताए । कोतघरबाट गलकोट उपत्यका, घुम्टेको पहाड, दरमखोला र ताराखोला गाउँपालिकाको केही खण्डसमेत देखिन्छ । 


झण्डै एकसय रोपनी जमिन तारबार लगाएर संरक्षण गरिएको छ । खानेपानीको धारा निर्माण, सत्तल, बिश्रमस्थल र आर्कषक पदमार्ग समेत निर्माण भइरहेको छ । 

 

पदमार्गका लागि नगरपालिकाले ३ लाख रुपैयाँ लगानी गरेको छ । आर्कषक गेट बनाएर संरक्षण गरिने खत्रीले बताए । कोतघर भित्र अजंगका २ वटा खुकुरी र २ खुँडा बनाएर राखिएको छ । यहाँ पुराना हतियार समेत संकलित छन् । 

 

गलकोटे राजाले प्रयोग गरेका तीनसय बर्ष पुराना हतियार समेत यहाँ सुरक्षित छन् । ‘यी सबै सामान पुरातात्विक हुन्, त्यसैले संरक्षणको योजना बनाइएको हो’, भण्डारीले भने, ‘समृद्ध गलकोट बनाउन पर्यटकीय गन्तव्य बनाउने लक्षसहित संरक्षणको अभियान थालिएको हो ।’ गलकोटका पहिलो राजा जितेन्द्रदेव मल्लले यो कोतघर बनाएको इतिहास छ ।