close

निर्माण सामग्रीको रकम नतिरेपछि विद्यालयविरुद्ध प्रशासनमा उजुरी 

निर्माण सामग्रीको रकम नतिरेपछि विद्यालयविरुद्ध प्रशासनमा उजुरी 

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ सिउँडेमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ग्वानिले बहुउद्देश्यीय भवन बनाउँदा निर्माण सामग्रीकोे पैसा नतिरेको भन्दै उजुरी परेको छ ।  निर्माण सामग्री बेच्ने २ स्थानीय व्यापारीले आफ्नो पसलबाट सामान लगेको ८ लाख रुपैयाँ बढी रकम नतिरेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीमा उजुरी दिएका हुन् ।  उजुरी दिनेमा सुर्नया वडा नम्बर २ कै स्थानीय व्यापारी गणेश विष्ट र नरेन्द्र विष्ट छन् । गणेशको ४ लाख ८३ हजार र नरेन्द्रको ४ लाख २ हजार रुपैयाँ विद्यालयले नतिरेको उजुरीमा उल्लेख छ ।

 

व्यापारी गणेश विष्टले भने, ‘बिक्री गरेको सामानको पैसा नपाएकाले पुँजी रोकिँदा व्यवसाय ठप्प भयो । उजुरी गरेको पनि २० दिन पुगिसक्यो । प्रशासनले गाउँपालिकालाई चिठ्ठी लेख्यो । पालिकाले स्कुललाई रकम उपलब्ध गराउन चिठ्ठी लेख्यो । तर, स्कुलले वास्ता गरेको छैन ।’ विद्यालय भवन गत आर्थिक वर्षको असार मसान्तमै निर्माण सम्पन्न गरिसकिए पनि उधारो नतेरको भन्दै उनीहरूले उजुरी गरेका हुन् । 

 

उक्त दुई तले बहुउद्देश्यीय भवन निर्माणका लागि आएको रकम अपुग भएको हुँदा उधारो रकम तिर्न बाँकी रहेको बिद्यालय ब्यवस्थापन समिति सदस्य डम्बरसिंह विष्टले बताए ।  उनले भने, ‘विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक राजेन्द्र विष्ट र मलाई जिम्मेवारी दिएको थियो । तर, मलाई आर्थिक अधिकार दिइएन । काम गर्दा स्टिमेटभन्दा बढी खर्च भयो । त्यसैले निर्माणका लागि प्राप्त पैसा अपुग हुँदा व्यापारीको रकम तिर्न सकिएन । स्रोत जुटाएर तिर्छौं ।’ 

 

उक्त भवनका लागि सुर्नया गाउँपालिकाबाट ३६ लाख रुपैयाँ प्राप्त भएको थियो । तर, भवनको जम्मा लागत ४८ लाख रुपैयाँ पुगेकाले व्यापारीको पैसा तिर्न समस्या भएको उनले बताए । स्टिमेटभन्दा १२ लाख रुपैयाँ बढी रकम खर्च कसरी भयो भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

 

स्टिमेटभन्दा बढी रकम खर्च भए पनि काम अधुरो रहेकाले सम्पन्न गरेपछि स्रोत जुटाएर उधारो रकम तिर्ने विद्यालय व्यवस्थापन समितिले जनाएको छ । बहुउद्देश्यीय भवन बनाउन विद्यालय व्यवस्थापन समितिले सदस्य विष्ट र प्रधानाध्यापक राजेन्द्र विष्टलाई लिखित जिम्मेवारी दिएको थियो । तर, प्रधानाध्यापक विष्टले आफूले जिम्मेवारी लिन नसक्ने व्यवस्थापन समितिलाई मौखिक जानकारी गराएको बताएका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेकी सुर्नया गाउँपालिका उपाध्यक्ष लीला विष्टले पालिकाबाट स्रोत जुटाएरै भए पनि उधारो रकम तिर्ने बताइन् ।