close

१३ करोड खर्चिएर निर्माण हुँदै अदालत भवन

१३ करोड खर्चिएर निर्माण हुँदै अदालत भवन

Trulli
ADVERTISEMENT

उदयपुर–    जीर्ण भवनबाट सेवा दिँदै आएको उदयपुर जिल्ला अदालतले अत्याधुनिक सुविधासम्पन्न भवन पाउने भएको छ । भवन अभाव झेलिरहेको उदयपुर जिल्ला अदालतका लागि अहिले सुविधासम्पन्न संरचना निर्माण भइरहेको हो ।

 

साढे तीन तले भवनमा जिल्लामै पहिलो पटक दुई लिफ्ट व्यवस्था गरिएको छ । एउटा लिफ्ट कर्मचारी र अर्को लिफ्ट सेवाग्राहीलाई सहज हुने गरी निर्माण गरिँदै छ ।

 

नयाँ भवन पीडितमैत्री, बालमैत्री, अपांगतामैत्री, थुनुवा विश्राम कक्ष र सेवाग्राहीलाई सहज हुने गरी स्टिमेट बनाइएको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।


अपांगतामैत्री भवन नहुँदा यस्ता सेवाग्राहीलाई सेवा प्रवाहमा असहज हुने गरेको थियो । एउटै इजलासबाट सेवा प्रवाह गर्दै आएको अदालतले नयाँ भवनमा बालबालिकालाई लक्षित गरी एक बाल इजलाससहित चार वटा इजलास रहने गरी भवन निर्माण भइरहेको छ ।

 

सुरक्षाको दृष्टिले समेत भवनका सबै ठाउँमा सिसीक्यामेरा जडान गरिने स्रेस्तेदार कार्कीले बताए । अदालतको स्वामित्वमा रहेको १२ कठ्ठा ८ धुर क्षेत्रफलमा भवनको पछाडि भागमा सुरक्षा ब्यारेक, अगाडि सुविधायुक्त चमेनागृह, माथिल्लो तलामा सभाहल, खानेपानी, आधुनिक शौचालयलगायत संरचना रहनेछन् ।

 

कार्यकक्ष अभावका बीच नेपाल बार एसोसिएसनको भवनबाट कार्य सम्पादन गर्दै आएको जिल्ला अदालतमा पहिलो सुविधासम्पन्न भवन निर्माण हुन लागेको हो ।
भवन निर्माणको लागत १३ करोड ४२ लाख ८१ हजार ९ सय २६ रुपैयाँ ९५ पैसा रहेको छ । 

 

३ वर्षभित्र ३० जेठ २०८० मा निर्माण सम्पन्न गर्ने गरी ९ असार २०७७ सम्झौता भएको भवनको निर्माण जिम्मा सिएम÷कृष्ण लक्ष्मी जेभी काठमाडौंले लिएको छ । निर्माण कम्पनीले सम्झौता गरेको मितिभन्दा ४ महिनापछि निर्माण थालिएको हो ।

 

निर्माण कम्पनीले काम थालेको ११ महिनामा करिब ५० प्रतिशत निर्माण सम्पन्न गरेको छ । सहरी विकास तथा भवन कार्यालय विराटनगर मोरङको प्राविधिक सहयोगमा निर्माण भइरहेको भवनको ३५ प्रतिशत भौतिक प्रगति र ३०.२९ प्रतिशत वित्तीय प्रगति भएको उदयपुर जिल्ला अदालतका लेखापाल विष्णु खड्काले बताए ।

 

२०४६ मा निर्माण भएको पुरानो भवन २०४५ र २०७२ को भूकम्पले जीर्ण बनाएको थियो । पहिला एउटा मात्र न्यायाधीश र इजलास रहेकामा अहिले मुद्दाको चाप बढेकाले तीन न्यायाधीशको दरबन्दी र तीन वटै इजलास रहेका छन् ।

 

भूकम्पले जीर्ण बनाएको भवनमा पानी चुहिने हुँदा कार्य सम्पादन र कर्मचारी व्यवस्थापनमै समस्या भइरहेका नयाँ भवन बनेपछि सहज हुने लेखापाल खड्काले बताए । 

 

नयाँ भवन निर्माणसँगै सेवाग्राही र कानुन व्यवसायीलाई समेत सेवा प्रवाह सहज हुने नेपाल बार एसोएियसन उदयपुर इकाइका अध्यक्ष श्यामानन्द चौधरीको भनाइ छ । 

 

निर्माण कम्पनीका सुपरभाइजर राकेश श्रेष्ठले साढे तीन तले भवनको ढलान गर्ने काम सकिएकोे र भित्री काम, सुरक्षा आवासको छत ढलान, चमेनागृह र पुरानो भवन भत्काउने कामबाँकी रहेको जानकारी दिए ।