close

कोल्टी–मार्तडी सडक खण्डको विजोग : निर्माण जिम्मा लिएकाले समयमै नबनाएपछि स्थानीयलाई सास्ती 

कोल्टी–मार्तडी सडक खण्डको विजोग : निर्माण जिम्मा लिएकाले समयमै नबनाएपछि स्थानीयलाई सास्ती 

Trulli
ADVERTISEMENT

बाजुरा–मार्तडी कोल्टी सडक खण्डमा कामको जिम्मा पाएको निर्माण कम्पनीले समयमै निर्माण नगर्दा गाडी तानेरै यातायात सञ्चालन गर्नुपरेको छ । मार्तडीदेखि कोल्टीसम्म ४० किलोमिटर कालोपत्रे गर्ने गरी प्रदेश र संघ सरकारबाट रकम विनियोजन भए पनि निमार्ण पूरा नहँुदा स्थानीयलाई सास्ती भएको हो ।

 


मार्तडीदेखि चुथिसम्म ९ किलोमिटर पहिलो खण्ड, चुथिदेखी ढम्कनेसम्म ५ किलोमिटर दोस्रो खण्ड र चुथिदेखि कोल्टीचौरसम्म २६ किलोमिटर ठेक्का गरेर कार्यालयले निर्माण कम्पनीलाई जिम्मा दिएको थियो । अन्य सडक खण्डमा काम सुरु भइरहे पनि दोस्रो खण्ड चुथिदेखी ढम्कनेसम्म ५ किलोमिटरको सडकमा ठेकेदारको लापर्वाहीले काम हुन सकेको छैन ।

 

कामको जिम्मा पाएको निर्माण कम्पनीको लापर्वाहीका कारण यात्रुले सास्ती खेप्नुपरेको छ भने ट्रयाक्टर, बस, जिपलगायत यातायात साधन तानेरै सञ्चालन गर्नुपरेको सवारी चालकको गुनासो छ ।  सडकमा खाल्डाखुल्डीका कारण जोखिम मोलेरै यातायात सञ्चालन हुने हुँदा यात्रामा जोखिम पनि उत्तिकै रहेको छ ।

 

आयोजना कार्यालय साँफेबगरका प्रमुख रुद्र बोगटीले ठेकेदार कम्पनीको म्याद असारमा सकिएको र कोरोनाको कारण आउँदो असारसम्म म्याद थपिएको बताए । ‘असारसम्म ५ किलोमिटर कालोपत्रे गरी सक्नुपर्ने हो । तर, कोरोनाका कारण १ वर्ष म्याद थपिएको छ । कालोपत्रे गर्नुको साटो सामान्य यातायात सञ्चालन गर्ने सडक नबन्दा यात्रुले सास्ती भोग्नुपरेको छ । निर्माणका लागि ताकेता गरिरहेका छौँ’, उनले भने ।

 

ट्रयाक्टरको अगाडिको भागले तानेर पालैपालो गाडी तान्ने गरेको जिप चाmक बताउँछन् । पटक–पटक कम्पनीलाई ताकेता गर्दा पनि बेवास्ता गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले सडक निर्माण गर्न पटक–पटक ठेकेदार र आयोजना कार्यालयलाई ताकेता गर्दा पनि अलटाल भइरहेको बताए । सुदूरपश्चिम प्रदेश सरकारको बहुवर्षीय योजनामा परेको मार्तडी–कोल्टी सडक खण्ड ४० किलोमिटर कालोपत्रेका लागि १ अर्ब ५७ करोड ७५ लाख १२ हजार रुपैयाँ रकम बिनियोजन भएको थियो । विगतमा ४० किलोमिटरमा ३५ करोड रुपैयाँ बढी खर्च भइसकेको छ । ०५६ मा निर्माण सुरु भएको मार्तडी–कोल्टी सडक निर्माण भएको २२ वर्षसम्म पनि पूरा हुन सकेको छैन ।