close

विकास निर्माणले गिजोलियो विद्युत् आपूर्ति

विकास निर्माणले गिजोलियो विद्युत् आपूर्ति

Trulli
ADVERTISEMENT

जुम्ला–कर्णाली प्रदेशको जुम्ला राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको भर्खरै मात्र हो । दैलेखदेखि कालीकोट र कालीकोटदेखि जुम्ला राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको हो । राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिए पनि नियमित बिजुली आपूर्तिमा भने चुनौती हुँदै आएको छ । 

 

कर्णाली राजमार्ग हँुदै लामो दूरीको भिरालो भौगोलिक जमिनमा राष्ट्रिय विद्युत् प्रसारण लाइन जोडिएकाले नियमित बिजुली आपूर्तिमा चुनौती देखिएको छ । कर्णाली राजमार्गमा विभिन्न खण्ड र यो राजमार्गसँग जोडेर विभिन्न सहायक सडक निर्माण गरिँदा जथाभावी डोजर प्रयोग हुँदै आएका छन् ।


डोजर प्रयोग हुँदा बिजुलीका पोल ढल्ने र तार चुँडिँदा नियमित बिजुली आपूर्तिमा समस्या आउने गरेको छ । कर्णाली राजमार्गको पिली खण्ड, बालीघाटदेखि विभिन्न खण्डमा सडक विस्तार तथा सहायक सडक खन्ने क्रममा जथाभावी डोजर प्रयोग गर्दा पोल भाँच्नेदेखि तार चँुिडएपछि बिजुली आपूर्ति प्रभावित हुने गरेको नेपाल विद्युत् प्राधिकरण जुम्लाका प्रमुख नरेश रावलले बताए ।

 

उनले भने, ‘कर्णाली राजमार्गमा सडक विकासमा काम गर्ने ठेकेदारलाई आग्रह गर्दा पनि सुधार हुन सकेको छैन । यस्ता घटना पटक–पटक हुँदा मर्मतमा समस्या हुने गरेको छ ।’ सडक डिभिजन कार्यालय जुम्लाका प्राविधिक वीरेन्द्र रावलका अनुसार कर्णाली राजमार्गअन्तर्गत विभिन्न खण्डमा विकास निर्माणका कामले बिजुलीका पोल र तारमा क्षति पुग्ने गरेको छ । उनले भने, ‘पोल र तारमा क्षति हुँदा नियमित बिजुली आपूर्तिमा समस्या देखिएको छ । यस्तो नगर्न ठेकेदारलाई मौखिक÷लिखित दुवै तवरले ध्यानाकर्षण गराएका छौँ ।’ 


कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले अरू विकास निर्माणका काम गर्दा निर्माण भएका संरचना बिजुली भत्काउने काम नगर्न ठेकेदारलाई निर्देशन दिइएको बताए । उनले भने, ‘सडक डिभिजन कार्यालयका ठेक्का हुन् । सडक कार्यालयले पनि ठेकेदारलाई नियमन, नियन्त्रण गर्न आवश्यक छ । ठेकेदारले पनि निर्माण भएका बिजुलीका संरचना भत्काउनु हुँदैन ।’ 


भेरीखोला, गुठीचौर र सिंजा क्षेत्रमा बिजुली विस्तार 

जुम्लामा राष्ट्रिय प्रसारण बिजुलीको लाइन पुगेपछि यहाँका भेरीखोला, गुठीचौर सिंजा क्षेत्रमा पनि लाइन विस्तार गर्न थालिएको छ । तिला गाउँपालिको ४ नम्बर वडाका ५ सय घरधुरीमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पहुँच पुग्न लागेको छ ।

 

विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले वितरण लाइन विस्तार गरी वडाको सापुल्ली र नुवाकोट गाउँमा विद्युत् पहुँच पु¥याउन लागेको हो । गाउँमा विद्युत् पहुँच पु¥याउन सापुल्लीदेखि नुवाकोटसम्म वितरण लाइन विस्तारको काम धमाधम भइरहेको वितरण केन्द्र प्रमुख रावलले बताए । उनका अनुसार विद्युत् पहुँच विस्तार हुँदा सापुल्ली गाउँका करिब ३ सय घरधुरीले राष्ट्रिय प्रणालीको सेवा पाउनेछन् । नुवाकोट गाउँका २ सय घरधुरीमा पनि विद्युत् पहुँच पुग्नेछ ।

 

‘जुम्लामा ६ महिनाअघि मात्रै पहिलो पटक राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पहुँच पुगेको हो,’ उनले भने, ‘सबै स्थानीय तहमा विद्युतीकरण विस्तार गर्ने योजनाअनुरूप अहिले सापुल्ली र नुवाकोट गाउँमा लाइन विस्तारको काम भइरहेको छ ।’ उनले विद्युत् मिटर वितरण गरेपछि स्थानीयलाई राष्ट्रिय प्रणालीको विद्युत् सेवा दिन सुरु गरिने बताए । तातोपानी गाउँपालिकाको वडा नम्बर ७ र ८ भेरीखोलामा पनि विद्युतीकरण विस्तार गर्न ठेकेदार छनोट प्रक्रियामा रहेको रावलले जानकारी दिए ।

 

ठेकेदार छनोटको चरण पूरा भएपछि २ वडाको सर्मी, सुर्की र ताम्ती गाउँमा वितरण लाइन विस्तार सुरु हुनेछ । ठेकेदार छनोट प्रक्रिया पूरा गरी वितरण लाइन विस्तारको काम सुरु गर्न अझै २ महिना लाग्ने उनले बताए । जिल्लाका तातोपानी र तिलामा सञ्चालित अधिकांश लघु जलविद्युत् आयोजना गत बर्खाको बाढीले क्षतिग्रस्त बनेर सञ्चालनमा आउन नसकेका कारण स्थानीयले विद्युतीकरण विस्तार गर्न प्राधिकरणसमक्ष माग राख्दै आएका थिए ।

 

बाढीले क्षतिग्रस्त लघु जलविद्युत् आयोजनाको पुनर्निर्माण नहुँदा यहाँका स्थानीय अँध्यारोमा बस्न बाध्य छन् । बजेट अभावमा बाढीले भत्किएका लघु जलविद्युत्का संरचना पुनर्निर्माण नहुँदा स्थानीयले राष्ट्रिय प्रसारण प्रणालीको सेवा विस्तारको माग गर्दै आएका छन् ।

 

विद्युतीकरण विस्तारको माग गर्दै नेकपा माओवादी केन्द्रका संघीय सांसद गजेन्द्रबहादुर महतको नेतृत्वमा जुम्लाबासीले प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि बाजागाजासहित प्रदर्शन गरेका थिए । जिल्लामा पूर्ण विद्युतीकरण गर्न प्रसारण तथा वितरण लाइन निर्माण एवं विस्तार हुनुपर्ने जुम्लाबासीको माग छ ।

 

चुकेनी र जालपादेवी विद्युत्मा ‘नेट मिटरिङ’ 


विद्युत् प्राधिकरणले जुम्लाको पातारासी गाउँपालिका गडीगाउँस्थित १ मेगावाट चुकेनी जलविद्युत् आयोजना र तातोपानी गाउँपालिकास्थित २१४ किलोवाटको गिडिखोला जालपादेवी लघु जलविद्युत् केन्द्रले उत्पादन गर्ने विद्युत् ‘नेट मिटरिङ’ गर्ने भएको छ । 

 

खपत नभएको विद्युत् प्रसारण प्रणालीमा लिने तथा अपुग भएका बेला त्यहाँका उपभोक्तालाई विद्युत् दिने गरी ‘नेट मिटरिङ’ गर्न लागिएको हो । चुकेनी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छ ।

 

चुकेनी जलविद्युत् आयोजनाको बिजुलीले पातारासी गाउँपालिकाभरि लाइन विस्तार गर्ने र अपुग बिजुली ग्रिडबाट लिने, खपत हुन नसकेपछि ग्रिडमार्फत बाहिर आपूर्ति गर्ने सहमति भएको गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले बताए । 

 

स्थानीय लगानीकर्ताले लघु जलविद्युत् केन्द्रको विद्युत् लिइदिन आग्रह गर्दै आएकाले ‘नेट मिटरिङ’ गरेर लिने÷दिने गरी प्रक्रिया अघि बढाएको प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख रावलले बताए । उनका अनुसार स्थानीय लगानीकर्तासमक्ष ‘नेट मिटरिङ’ गर्ने सहमतिपछि प्रक्रिया अघि बढेको हो । ‘लघु जलविद्युत् केन्द्रका लगानीकर्ताले गत बर्खादेखि नै प्राधिकरणलाई विद्युत् खरिद गरिदिनुप¥यो भनेर आग्रह गर्दै आएका थिए,’ उनले भने, ‘अहिले नेट मिटरिङ गरेर बढी भएको विद्युत् लिने र आवश्यक परेका बेला प्राधिकरणले ग्रिडको विद्युत् दिने सहमति गरेका छौँ ।’


नेट मिटरिङका लागि निजी ऊर्जा उत्पादकसरह हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ विद्युत् खरिद–बिक्री दर निर्धारण गरिएको उनले बताए । वितरण केन्द्रको प्रस्ताव प्राधिकरणको केन्द्रीय कार्यालयमा पठाइसकिएकाले कार्यकारी निर्देशकबाट स्वीकृत भएपछि कार्यान्वयन हुने रावलले जानकारी दिए । प्राधिकरणले विद्युत् लिएको अवस्थामा लघु जलविद्युत् केन्द्रलाई यो दरअनुसार भुक्तानी गर्नेछ भने लघु जलविद्युत् केन्द्रले लिएको अवस्थामा प्राधिकरणलाई भुक्तानी गर्नुपर्नेछ ।

 

जालपादेवी स्थानीय क्षेत्रको विद्युतीकरणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा स्थानीयले मिलेर निर्माण गरेका हुन् । २ वर्षअघि मात्रै निर्माण भई सञ्चालनमा आएको यो लघु जलविद्युत् केन्द्रले उत्पादन गर्ने विद्युत् स्थानीय क्षेत्रमा वितरण गरिएको छ ।

 

अनुदानबाहेकको ४० प्रतिशत लगानी स्थानीयले गरेका छन् । ६० प्रतिशत अनुदानको लगानी छ । गत बर्खामा आएको बाढीले संरचनामा क्षति पु¥याउँदा केही महिनासम्म विद्युत् उत्पादन बन्द हुन पुगेको थियो । मर्मतपछि अहिले सञ्चालनमा आइसकेको छ ।  गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ मा यो लघु जलविद्युत् केन्द्रले उत्पादन गरेको विद्युत्बाट विद्युतीकरण गरिएको छ । लघु जलविद्युत् केन्द्रले आफैं वितरण लाइन निर्माण गरेर विद्युतीकरण गरेको हो ।