close

कटारीमा बन्यो सुनकोसी लिफ्टिङ खानेपानी योजना

कटारीमा बन्यो सुनकोसी लिफ्टिङ खानेपानी योजना

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको कटारी नगरपालिकाका ६ वटा वडाले खानेपानी अभाव झेलिरहेकामा अब सुनकोसी लिफ्टिङ खानेपानी आयोजना निर्माण हुने भएको छ । सुनकोसी लिफ्टिङ खानेपानी योजना निर्माण हुने भएपछि स्थानीयलाई खानेपानी अभाव हट्नेछ ।

 

कटारी नगरपालिकाको दुर्गम भेग वडा नम्बर ९, १०, ११, १२, १३ र १४ वडाबासीले खानेपानीको समस्या भोग्दै आएका छन् । ती वडाका स्थानीय खोलाखोल्सी, सुनकोसीको पानी पिउन बाध्य हुँदै आएका छन् । 

 

खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले नगरपालिकाको वडा नम्बर ९, १०, ११, १२, १३ र १४ गरी ६ वटा वडामा सुनकोसीको पानी लिफ्टिङ प्रणालीमार्फत पानी तानेर गाउँको माथि रिजर्भ ट्यांकी निर्माण गरी पाइपमार्फत घरघरमा पानी पु¥याइने लक्ष्य लिएको छ ।

 

कटारी नगरपालिकाका ६ वटाका करिब १ हजार ५ सय घरधुरीले अहिलेसम्म खोलाखोल्सी, सुनकोसीको पानी पिउन बाध्य थिए । खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले करिब २४ करोड रुपैयाँ लागतको खानेपानी योजना निर्माण गर्न लागेका हो । 


१ हजार ५ सय घरधुरीलाई लक्षित गरी सुरु गर्न लागिएको योजनालाई व्यवस्थित गर्न दुई ठाउँमा रिजर्भ ट्यांकी राखिनेछ । पहिलो वडा नम्बर १४ घुर्मीको सुनकोसी नदीबाट पानी तानेर लेखानीको अग्लो रमाइलो डाँडामा रिजर्भ ट्ंयाकीमा राखिनेछ भने दोस्रो वडा नम्बर १० सोरुङको कन्यादहबाट गढीथुम्कीमा रिजर्भ ट्ंयाकी राखी पानी वितरण गरिने योजना रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष अमर मगरले जानकारी दिए ।

 

योजना सञ्चालनका लागि जनसहभागिताबापतको २५ लाख बुझाउन नसक्दा अवरुद्ध खानेपानी योजना कटारी नगरपालिकाले जनसहभागिताबापतको २५ लाख रुपैयाँ उपलब्ध गराएपछि सुरु भएको हो ।

 

गरिब तथा बिपन्न परिवारको बसोबास रहेको ६ वडाका स्थानीयले जनसहभागिताबापतको रकम उपलब्ध गराउन नसकेपछि योजना फिर्ता जाने तयारीमा थियो । योजना सञ्चालनका लागि जनसहभागिताबापतको रकम नगरपालिकाले उपलब्ध गराएपछि स्थानीयले शुद्ध खानेपानी पाउने भएका हुन् । 

 


स्थानीयको मागलाई लक्षित गरी कटारी नगर कार्यपालिका बैठकले लागत सहभागिताबापतको रकम उपलब्ध गराइदिने निर्णय गरेसँगै नगर क्षेत्रमा वर्षौंपछि शुद्ध खानेपानी पहुँच पुग्नेछ । निर्णयलगत्तै नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले खानेपानी उपभोक्ता समिति अध्यक्ष अमर मगरलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेपछि खानेपानी योजना सञ्चालन हुने निश्चित भएको छ । 

 

नगरपालिकाको पहलमा खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले नगरपालिकाको वडा नम्बर ९, १०, ११, १२, १३ र १४ गरी ६ वटा वडामा पाइपमार्फत घरघरमा पानी पु¥याइने लक्ष्य राखेको छ ।

 

२४ करोड रुपैयाँ बढीको लागतमा निर्माण सुरु गर्न लागिएको आयोजनामा उपभोक्ताले जनसहभागिताबापत २५ लाख रुपैयाँ जम्मा गर्नुपर्ने सम्झौतामा उल्लेख रहेको अध्यक्ष मगरले बताए । तर, लागत सहभागिता बुझाउन नसक्दा लामो समयदेखि ठेक्का प्रक्रिया अवरुद्ध हुँदै आएको थियो ।

 

उपभोक्ता भेला भई जनसहभागिता रकमको विषयमा छलफल हुँदा सर्वसाधारणले रकम तिर्न नसक्ने भएपछि नगरपालिकासँग अनुरोध गरेको उनको भनाइ छ । उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका गरिब नागरिकको शुद्ध खानेपानी पाउने अधिकारलाई दृष्टिगत गरी नगरपालिकाले लागत सहभागिताको रकम उपलब्ध गराएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

 

‘रकम बुझाउन नसकेर योजना फिर्ता जाने हो कि भन्ने ठूलो चिन्ता थियो’, उनले भने, ‘स्थानीय सरकार जनतासँग छ भन्ने हामीलाई अनुभूति भएको छ । अब थप प्रक्रिया अघि बढाउँछौँ । भौगोलिक कठिनाइका कारण नगरपालिका भएर पनि धेरै समस्या भोग्दै आएका यस क्षेत्रका स्थानीयका लागि योजनाले ठूलो राहत पुग्नेछ ।

 

खानेपानी अभावकै कारण स्थानीय ३ घन्टासम्म पैदल यात्रा गरी खोलाखोल्सी, सुनकोसीसम्म पुगेर तिर्खा मेटने गरेका छन् । शुद्ध खानेपानीको अभाव झेलिरहेका नागरिकलाई लक्षित गरी योजना सञ्चालन गर्न कार्यपालिका बैठकबाट २५ लाख रुपैयाँको सुनिश्चितता गरिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

 

उनले भने, ‘उपभोक्ता योजना सञ्चालनमा जनसहभागिताबापतको रकम जम्मा गर्न नसक्दा फिर्ता जाने बताएपछि अधिकांश गरिब, दुःखी जनता बस्ने भूगोल भएकाले नगरपालिकाबाटै सहयोग गरेका हौँ । नगरपालिकाको माथिल्लो भेगका जनताको खानेपानी समस्या समाधानको लागि अन्य कुनै विकल्प नभएपछि योजना छनोटदेखि बजेट विनियोजन गरेका हौँ’, उनले भने ।

 

यो जिल्लाकै खानेपानीको क्षेत्रमा सबैभन्दा ठूलो योजना हो । योजना सञ्चालनपछि वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका कटारी नगरपालिकाका ६ वडाका १ हजार ५ सय घरधुरीका करिब १० हजार स्थानीयले शुद्ध खानेपानी पाउनेछन् ।