close

नारदमुनि थुलुङ स्मृति सभाहल बजेट अभावले अलपत्र

नारदमुनि थुलुङ स्मृति सभाहल बजेट अभावले अलपत्र

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसाहा वर्षेडाँडामा निर्माण भइरहेको नारदमुनि थुलुङ स्मृति सभाहल बजेट अभावका कारण अलपत्र परेको छ । निर्माण सम्पन्न गर्न बजेट अभाव भएपछि स्मृति सभाहल झाडीमा परिणत भएको हो । 

 

निर्माणाधीन भवनमा झार उम्रिएर सभाहल पूरै जंगलमा परिणत भएको छ । सभाहलमा वाल लगाइसकिए पनि छत ढलान, वाल प्लास्टर, झ्यालढोका रंगरोगनलगायत काम अधुरै रहेको निर्माण समितिका अध्यक्ष वीरबहादुर राईले जानकारी दिए ।


तत्कालीन बसाहा गाविसले निर्माण सुरु गरेको सभाहललाई जिविसले ४ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो । त्यसपछि २ फागुन ०६८ मा पहिलो पटक निर्माणका लागि जिविस र उपभोक्ता समितिबीच सम्झौता भएको थियो ।

 

कुल ५ कठ्ठा क्षेत्रफलमध्ये सभाहलका लागि डेढ कठ्ठा जग्गामा १३ कोठासहितको सभाहल भवन निर्माण गर्न थालिएको थियो । ११ वर्ष पहिले निर्माण सुरु गरिएको सभाहल बजेट अभावमा हालसम्म सम्पन्न नभएको हो ।

 

०७० मा तत्कालीन संघीय सांसद डा. नारायण खड्का सहरी विकासमन्त्री भएपछि दोस्रो पटक १६ लाख रुपैयाँ उपलब्ध गराएपछि केही काम भएको अध्यक्ष राईले बताए ।

 

आर्थिक वर्ष ०७५/७६ मा प्रदेश १ सरकारबाट २० लाख, सोही आवमा नगरपालिकाबाट १५ लाख र आव ०७७÷७८ मा प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ९ लाख ६० हजार ७ सय ३६ गरी कुल ६५ लाख १० हजार ७ सय ३६ रुपैयाँबाट वाल लगाउने काम भएको निर्माण समितिका अध्यक्ष राईले जानकारी दिए ।

 

सभाहलको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्न २ लाख रुपैयाँ खर्च भएको निर्माण समिति अध्यक्ष राईको भनाइ छ । नेपालका ऐतिहासिक व्यक्तित्व नारदमुनि थुलुङको नाम भएकाले बजेट व्यवस्थापन हुन नसकेको स्थानीयको गुनासो छ । अझै पनि सभाहल सम्पन्न गर्न करिब १ करोड ५० लाख रुपैयाँ जति लाग्ने स्थानीय समाजसेवी तथा जसपाका चौदण्डीगढी नगर अध्यक्ष भूपेन्द्र राईले बताए ।


उनले भने, ‘यो सार्वजानिक, साझा काम भए पनि न वडाले, न त स्थानीय सरकारले कुनै तहले चासो नदिँदा सभाहलको दुर्गति भएको हो । हाम्रो क्षमताले भ्याएसम्म काम गर्दा यहाँसम्म निर्माण गर्न सकेका हौँ । अरूले चासो दिएनन् ।’ ११ वर्ष बितिसक्दा पनि ऐतिहासिक व्यक्तित्वको नाम जोडिएको सभाहल निर्माण पूरा नहुँदा दुःख लागेको स्थानीय समाजसेवी शेखर राईले बताए । बसाहाको विकास निर्माणमा अग्रणी भूमिकामा देखिएका मध्ये स्व. मकरध्वज राई थिए ।