close

भरतपुर महानगरको चार वर्ष  ः ठूला योजना अझै अधुरा

भरतपुर महानगरको चार वर्ष  ः ठूला योजना अझै अधुरा

Trulli
ADVERTISEMENT

चितवन– विकास निर्माणका ठूला योजना निर्माण पूरा नहुँदै भरतपुर महानगरपालिकाका जनप्रतिनिधिको कार्यकाल सकिने भएको छ । साना योजना सम्पन्न गरे पनि महानगरका गौरवका आयोजना सम्पन्न नहुँदै वर्तमान जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सकिने भएको हो । महानगरपालिकाको पहल र नेपाल सरकारको लगानीका योजना प्रतिबद्धताअनुसार सम्पन्न नहुँदा अझै निर्माणाधीन छन् ।

 

सङ्घीयता कार्यान्वयनका क्रममा महानगरपालिकामा जनप्रतिनिधि आएपछि गौरवको आयोजनाका रूपमा वर्तमान नेतृत्वको कार्यकालमा भरतपुर ‘सिटी हल’ निर्माण पूरा गर्ने लक्ष्य लिएको थियो । एक अर्ब ८५ करोड रुपियाँको लागतमा निर्माण सुरु भएको भरतपुर सिटी हलको काम अहिले भइराखेको छ । निर्माण सम्पन्न हुन अझै दुई वर्ष लाग्ने देखिएको छ । हल निर्माणका लागि जग्गा प्राप्तिमा केही समय लागेकाले काम ढिला भएको महानगर प्रमुख रेनु दाहालले बताइन् । जिल्ला समन्वय समितिबाट जग्गा हस्तान्तरण भएपछि सिटी हल निर्माण भइरहेको हो ।

 

महानगरको अर्को गौरवको आयोजनाका रूपमा रहेको ८८ किलोमिटर लामो चक्रपथ निर्माणले गति लिएको छैन । चक्रपथ निर्माणका लागि प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनसहित परियोजना तयार पारे पनि कामले पूर्णता पाउने गरी अगाडि बढ्न सकेको छैन । आठ अर्ब २० करोड रुपियाँ निर्माण लागतमा रहेको चक्रपथको ४० किलोमिटर सडकखण्ड सङ्घ, प्रदेश, सडक विभाग र महानगरको लगानीमा निर्माणाधीन छ । बाँकी ४८ किलोमिटर सडकका लागि स्रोतको खोजी भइरहेको महानगरपालिकाले जनाएको छ ।

 

‘महानगरपालिकाको आफ्नै लगानी रहेका ठूला आयोजना छैनन्,’ महानगरका योजना शाखाका इन्जिनियर कृष्ण मल्लले बताए । ‘महानगरपालिकाको लगानीमा निर्माण हुने योजना भरतपुर मेट्रो प्लाजाको काम सुरु हुँदैछ र अटोल्यान्ड प्रक्रियामा रहेको छ,’ मल्लले भने ।

 

महानगरपालिकाले हालसम्म ६१० किलोमिटर कालोपत्रे र ४५० किलोमिटर ग्राभेल सडक निर्माण गरेको छ । कालोपत्रेमा राम्रो प्रगति भएको र ग्रामीण क्षेत्रमा कालोपत्रे सडकको पहुँच पुगेको स्थानीयवासीले बताएका छन् ।

 

महानगरको २९ वटा वडामध्ये ११ वटा वडा कार्यालयको आफ्नै भवन निर्माण भइसकेको छ । छवटा वडा कार्यालयको तला थप र बाँकी वडाको कार्यालय मर्मत र नयाँ निर्माणका योजना छन् । चार वर्षमा महानगरले ३५० वटा साना सिँचाइ र २१ वटा मझौला सिँचाइ आयोजना सम्पन्न गरी ४५५ बिघामा सिँचाइ सुविधा सुनिश्चित भएको जनाएको छ ।

 

नारायणी नदी किनारमा सी बिच (समुद्री किनार) को मोडल बनाउने योजनाअन्तर्गत ९७ लाख रुपियाँको लगानीमा एक किलोमिटर पैदल मार्ग निर्माण गरेको छ । जम्मा २९ करोड रुपियाँ लाग्ने यो योजना सम्पन्न गर्न बजेटको खोजी भइरहेको महानगरले जनाएको छ ।

 

भरतपुर अस्पतालमा पाँच करोड ७५ लाख रुपियाँ लागतमा निर्माण पूरा भएको बिरामी कुरुवा घर हस्तान्तरणको पर्खाइमा छ । त्यस्तैगरी शिवनगर र शारदानगरमा रहेको स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल निर्माण गरी सञ्चालन गरिएको छ । महानगरपालिकाले पहलकदमी लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकिएको छ ।

 

नारायणी नदी तटबन्ध र महानगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण सुरु भएको छैन । महानगरवासीले सधैँ भोग्दै आएको फोहोर व्यवस्थापनका लागि वर्तमान कार्यकालमा ठोस काम भएको छैन । व्यवस्थित ल्यान्डफिल साइट बनाउन नसक्दा अस्थायी रूपमा स्थान खोजी गर्दै फोहोरलाई फालिएको छ । महानगरमा ट्राफिक बत्ती, व्यवस्थित पार्किङ, बजार क्षेत्रमा सार्वजनिक शौचालय र भरतपुर बसपार्कको व्यवस्थापन हुन सकेको छैन ।