close

भरतपुर महानगरको ढोडेनीमा खानेपानी आयोजना निर्माण

भरतपुर महानगरको ढोडेनीमा खानेपानी आयोजना निर्माण

Trulli
ADVERTISEMENT

चितवन–खानेपानी अभाव झेलिरहेको भरतपुर महानगरको पहाडी क्षेत्रमा खानेपानी आयोजना निर्माण गरिएको छ । योजना सम्पन्न भएसँगै स्थानीयलाई घन्टौँ लगाएर खानेपानी बोक्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

 

१ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको योजनाको मंगलबार उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ ढोडेनीमा निर्माण गरिएको खानेपानी आयोजनाको महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले उद्घाटन गरे ।

 

संघीय सरकारको १ करोड, भरतपुर महानगरको ३५ लाख रुपैयाँ लागतमा जनसहभागितामा निर्माण गरिएको योजनाबाट ८३ परिवार लाभान्वित भएका छन् । सोही वडामा चौकीडाँडा खानेपानी योजनासमेत निर्माणको अन्तिम चरणमा छ ।

 


महानगर प्रमुख दाहालले वडा नम्बर २९ को खानेपानी समस्या अब सधैँका अन्त्य भएको भन्दै खुसी व्यक्त गरिन् । उनले ढोडेनी र चौकीडाँडा खानेपानी योजनाबाट वडावासी लाभान्वित भएको बताइन् । उपप्रमुख शाहले जनप्रतिनिधि आएसँगै खानेपानीलाई प्रमुख प्रथामिकतामा राख्दै काम गरिएको दाबी गरिन् ।

 

यसअघि यहाँका स्थानीय ५०० मिटर तलको खोलामा पानी लिन जान बाध्य थिए । गाउँमा बारीमा तरकारी लगाउन पनि सम्भव थिएन । अहिले ५०० मिटर तल खोलाको पानीलाई लिफ्टिङ गरेर माथि ट्यांकीमा तानेर घरघरमा वितरण गरिएको छ ।

 

भरतपुर महानगर वडा नम्बर २९ का वडाध्यक्ष मानबहादुर रानाले बिहानभरि लगाएर खानेपानी ओसार्नुपर्ने बाध्यता हटेको बताए । उनले भने, ‘पानी अभावमा बारीमा तरकारी लागाउन समस्या भएको थियो । अब सबै समस्या हट्नेछन् ।’