close

अम्बे स्टिललाई करिब ३५ मेगावाट विद्युत्

अम्बे स्टिललाई करिब ३५ मेगावाट विद्युत्

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स् उद्योगलाई एक महिनाभित्र करिब ३५ मेगावाट विद्युत् दिने भएको छ । प्राधिकरणले अहिले उद्योगलाई करिब ८ मेगावाट विद्युत् आपूर्ति दिइरहेको छ । 

 

उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत् माग गरेको छ । प्राधिकरणले उद्योगसम्म विद्युत् लैजान आवश्यक सम्पूर्ण संरचना निर्माण सम्पन्न गरी एक महिनाभित्र थप २७ मेगावाटसहित ३५ मेगावाट विद्युत् दिन लागेको हो । 
उद्योगसम्म विद्युत् लैजान कोहलपुर सबस्टेसनबाट ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको
छ । उद्योगले पनि थप विद्युत् आपूर्ति लिन आफ्नो परिसरमा सबस्टेसन निर्माण र कारखानाको क्षमता विस्तारको काम अन्तिम चरणमा पु-याएको छ । 

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिबार स्थलगत अवलोकन भ्रमण गरी नेपालगञ्ज तथा कोललपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगलाई विद्युत् आपूर्ति दिन निर्माण गर्नुपर्ने विद्युतीय पूर्वाधारका विषयमा छलफल गरेको छ ।

 

टोलीले नेपालगञ्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत् खपत गर्ने अम्बे स्टिलको भ्रमण गरी एक महिनाभित्र विद्युत् आपूर्ति लिने गरी आफूले गर्नुपर्ने सम्पूर्ण पूर्वतयारीका काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ । 

 

‘विद्युत् खपत बढाउन उद्योगलाई मागेजति विद्युत् दिइरहेका छौँ । औद्योगिक करिडोरमा विद्युत् खपत बढाउन नयाँ पूर्वाधार निर्माण र भइरहेका संरचनाको सुदृढीकरण तथा स्तरोन्नति अभियानकै रूपमा अगाडि बढाइएको छ’, कार्यकारी निर्देशक घिसिङले भने । अम्बे स्टिलले विद्युत् जडानका लागि आफ्ना पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पु¥याएकाले आवश्यक तयारी पूरा गर्नासाथ विद्युत् आपूर्ति दिन सकिन्छ उनको भनाइ छ ।

 

उनले अम्बे स्टिल सञ्चालित क्षेत्रमा अन्य उद्योग पनि खुल्ने र उक्त क्षेत्र औद्योगिक करिडोरका रूपमा विकास हुन लागेकाले त्यहाँ १३२ केभीको सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको बताए । सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको छ । एसियाली विकास बैंकसँग सहुलियतपूर्ण ऋण सम्झौता भइसकेको छ । 

 

अहिले रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनबाट करिब १० किलोमिटर चार सर्किट १३२ केभी लाइन बनाएर १३२ केभीको सबस्टेसनमार्फत आगामी दिनमा उद्योगलाई विद्युत् आपूर्ति दिइनेछ । 

 

‘खपत बढाउन र आन्तरिक रूपमा खपत गरेर जगेडा हुने विद्युत् भारतमा बिक्री गर्न सकेनौँ भने बर्खामा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर फाल्नुपर्ने अवस्था आयो भने के होला ? त्यसैले ठूला उद्योगमा विद्युत् खपत बढाउन केन्द्रित हुनुपर्छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘यसका लागि औद्योगिक करिडोरमा विद्युत् आपूर्तिका लागि विद्युतीय संरचनाको पूर्वाधार निर्माण योजनाबद्ध रूपमा अगाडि बढाएका छौँ ।’ 

 

कोहलपुर क्षेत्रका औद्योगिक तथा घरायसी ग्राहकलाई भरपर्दो, गुणस्तरीय र चाहिएजति विद्युत् दिन हाल रहेका वितरण प्रणालीको क्षमतालाई दोब्बर बनाउन लाइन र ट्रान्सफर्मर थप गर्ने योजनाअनुरूप काम भइरहेको कोहलपुर वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले जानकारी दिए । 

 

प्राधिकरणले ठूला औद्योगिक हब बन्ने सम्भावना भएका बारा–पर्सा, भैरहवा, सुनवल, परासीलगायत क्षेत्रमा उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागेको छ ।