close

जिल्ला प्रहरी कार्यालय उदयपुरको भवन उद्घाटन 

जिल्ला प्रहरी कार्यालय उदयपुरको भवन उद्घाटन 

Trulli
ADVERTISEMENT

उदयपुर–जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित भवन प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षेत्रीले उद्घाटन गरेका
छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको भवन ०७२ को भूकम्पले क्षतिग्रस्त बनाएपछि नयाँ भवन निर्माण गरिएको हो ।

 

त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेस्थित जिल्ला प्रहरी कार्यालय उदयपुरको परिसरमै नयाँ भवन निर्माण गरिएको हो ।भवन निर्माण दुई वर्षअघि निर्माण थालिएको थियो । निर्माण कम्पनीले समयमै निर्माण सम्पन्न गरेपछि प्रहरी महानिरीक्षक थापाले उद्घाटन गरेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय उदयपुरको परिसरभित्र नवनिर्मित कार्यालय भवन ९ करोड ४९ लाख ९६ हजार ६६८ रुपैयाँको लागतमा निर्माण भएको हो । सो भवन भूकम्प प्रतिरोधी तथा अपांगतामैत्री रहेको छ । प्रशासनिक भवन, ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको आवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्ष निर्माणको जिम्मेवारी आशीष-आर्शीवाद जेभी उदयपुरले जिम्मा लिएको थियो ।

 

नयाँ भवनमा पहिलो पटक बाल न्यायिक हिरासत व्यवस्था गरिएको छ भने महिला र पुरुषलाई छुट्टाछुट्टै शौचालयसहितको न्यायिक हिरासत राखिएको छ ।  जिल्लाभर रहेका ३८ वटा प्रहरी युनिटमध्ये देशमा शान्ति स्थापनापछि १० वटा भवनको पुर्ननिर्माण सम्पन्न भएका छन् । अन्य दुई निर्माणाधिन अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले शान्ति–सुरक्षा र अपराध नियन्त्रण गर्न प्रहरी अझ चनाखो हुनुपर्ने बताए । प्रहरी भौतिक सुविधासम्पन्न भए मात्र सेवाको आशा नागरिकमा बढ्ने भएकाले प्रहरीले दिने सेवा प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।  भवन निर्माणमा योगदान दिनेलाई उनले प्रशंसापत्रबाट सम्मानित गरे । 

 

प्रदेश १ का प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले सुविधासम्पन्न निर्माणसँगै नागरिकलाई चुस्तदुरुस्त तथा प्रभावकारी ढंगले जनमैत्री सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे ।

 

त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरीले भौतिक सुविधा अभावका कारण जीर्ण भवनबाट सेवा प्रदान गर्दै आएको उदयपुर प्रहरीले नयाँ भवन पाएसँगै गुणस्तरीय सेवा प्रवाहमा वृद्धि हुने अपेक्षा गरे ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनाल, नेपाली सेनाका १८ वाहिनी अड्डा भुल्के ब्यारेकका वाहिनीपति सहायक रथी मधुकरसिंह कार्की, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायत उपस्थित थिए ।