close

कालोपत्रेले चम्किए कानेपोखरीका सडक

कालोपत्रेले चम्किए कानेपोखरीका सडक

Trulli
ADVERTISEMENT

मोरङ–मोरङको कानेपाखेरी गाउँपालिकाको उत्तरी भागबाट पूर्व–पश्चिम राजमार्ग गएको छ । सडक मार्गको पहुँचका कारण देशको जुनसुकै भागमा जान तथा उत्पादित वस्तु बिक्री गर्न यहाँका नागरिकलाई सहज छ । तर, पालिका भित्रका अधिकांश सडक ग्राभेल मात्रै गरिएको छ । पुल निर्माण र पालिकाका सडक कालोपत्रे गरिँदा बाह्र्रैमास सडकमा गाडी गुडाउन सकिने अवस्था सिर्जना भएको छ । 

 

मोरङको कानेपाखेरी गाउँपालिकामा सडकले ओगटेको क्षेत्र ८२ दशमलव ८३ किलोमिटर मध्ये २ सय ८९ दशमलव ९०५ हेक्टर मात्रै हो । गाउँपालिकामा विभिन्न वडामा ग्राभेल र कच्ची सडक भएकाले आधा घन्टाभित्र सबैतिरबाट कुनै सवारी साधन प्रयोग गरी गाउँपालिकासम्म पुग्न सकिन्छ । 

 

सहायक राजमार्गबाट ५ र ७ नम्बर वडाबासीले सेवा पाइरहेका छन् । वडा नम्बर ३, ४, ५, ६ र ७ मा सडक पक्की तथा कालोपत्रे गरिएको छ । तर, जनप्रतिनिधि आउनुपूर्व ६ किलोमिटर सडक मात्रै कालोपत्रे थियो ।

 

कानेपोखरीदेखि रंगेली बाहेक ३१ किलोमिटर सडक कालोपत्रे गरिएको छ । एम्बुलेन्समा राखेर बिरामीलाई सुगम अस्पतालमा लैजान सक्ने सहज अवस्था बनेको कानेपोखरीका अध्यक्ष ताराबहादुर काफ्ले बताउँछन् ।

 

जनप्रतिनिधिले आर्थिक वर्ष ०७४/७५ देखि नै सडक तथा पूर्वाधारमा बजेट विनियोजन गरेर सडक नपुगेका स्थानमा ट्र्याक खोल्ने कामलाई तीव्रता दिए । वडा नम्बर ३ मा खोलामाथि पुल थिएन । अहिले साना–ठूला गरेर ४८ वटा कल्भर्ट निर्माण गरिएको छ । बालबालिकाहरू विद्यालय जानुपर्दा जोखिम मोल्ने गर्दथे । 

 

यो अवस्था अन्त्य गर्न जनप्रतिनिधिले पुल बनाउँदा अहिले आउजाउमा सहज भएको छ । अहिले चिल्ला सडक वडा–वडामा पुग्दा नागरिकमा खुसी छाएको वडा नम्बर ३ का स्थानीय टंकेश्वरी याख्या सुनाउँछन् ।

 

सडक पुगे पनि धुलो र हिलोसँग पौठेजोरी खेल्नुपर्ने नागरिकको नियति थियो । यातायातको विकास भए पनि सडककै कारण समयमै गन्तव्यसम्म पुग्न सकस थियो । अब स्थानीयले आफ्नो खेतबारीमा उत्पादित  सामग्रीलाई बजार लैजान हैरानी बेहोर्नुपर्ने अवस्था अन्त्य भएको वडा नम्बर ५ का वडाध्यक्ष चरण गुरुङ र वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर राईले
बताए ।

 

गाउँपालिकाले सडक निर्माणमा जनसहभागितालाई जोड दिएको पाइएको छ । पूर्वाधार निर्माण गर्दा उपभोक्ता समिति गठन गर्ने, नागरिकलाई सहभागी गराएर जनपेक्षाअनुसार काम गराउँदा सडकको गुणस्तरमाथि प्रश्न उठाउनुपर्ने ठाउँ नरहेको वडा नम्बर ६ का वडाध्यक्ष खड्गबहादुर बस्नेतको भनाइ छ ।

 

संघीय सरकारले सात वटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने निर्णय लिएको थियो । यसलाई मुख्य लक्ष्यका रूपमा अघि सार्दा कानेपोखरीले सडकबाट समृद्धि भित्र्याउने एउटा खुड्किलो पार गरेको छ । सडक निर्माण र त्यसको उपादेयतामा जोड दिने गरी जनप्रतिनिधिले बनाएका नीतिका कारण प्राप्त सफलता दीर्घकालसम्म निरन्तर रहने निश्चित छ ।