close

उपत्यकाबाहिर पनि देखिन थाल्यो बालेन एक्सन प्रभाव

उपत्यकाबाहिर पनि देखिन थाल्यो बालेन एक्सन प्रभाव

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंका मुख्य सडक दुई लेनभन्दा फराकिला छन् ।

तर, अव्यवस्थित पार्किङ, फुटपाथ व्यापार र सवारी साधनको चापका कारण काठमाडौं उपत्यकामा ट्राफिक जाम अधिक हुने गरेको छ । जसले राजधानीको पर्यावरण नै बिगारिरहेको छ । पछिल्लो समय अव्यवस्थित शहरीकरण र पर्यावरण पर्यावरण सुधारका लागि एक्सनमा उत्रिएको छ महानगर  ।

पुटपाथ र पार्किङस्थल खाली गर्ने प्रक्रियालाई निरन्तरता दिएको महानगरले आजबाट त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरबाट होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ । 

जथाभावी पार्किङ समस्या निराकरणका लागि काठमाडौं महानगरका मेयर बालेन्द्र साह आफैँ फिल्डमा उत्रिएका छन् । 

उनले यो बीचमा पार्किङ देखाएर अन्य व्यवसाय गरिरहेका बानेश्वर निजी घर काठमाडौं मलका अवैध संरचना तथा न्युरोड, दरबारमार्ग, कोटेश्वर र कोटेश्वरका अवैध संरचना पनि भत्काएका छन् । 

कतिपयले साहको कार्यलाई चलचित्रका नायकसँग जोडेर प्रशंसा गरिरहेका छन् भने केही आलोचकले दादागिरीको संज्ञा दिएका छन् । 
अण्डरग्राउण्ड पार्किङ व्यवस्थापन र अवैध संरचना हटाएमा उपत्यकाको ३० प्रतिशतभन्दा बढी पार्किङ समस्या समाधान हुने महानगरपालिको दाबी छ । 

सडकमा जथाभावी पार्किङ गर्दा ट्राफिक जाम बढेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता तथा डिएसपी राजेन्द्रप्रसाद भट्टले बताए । जसका कारण ट्राफिक फ्लोमा समस्या आएको उनको भनाइ छ ।

उनी भन्छन्,‘फुटपाथमा पार्किङ गर्दा यात्रुको आवतजावतमा समस्या पार्छ । फुटपाथको सट्टामा सडकबाट बाटो काट्दा सवारी दुर्घटनाको जोखिम झन् धेरै बढाउँछ ।’ 

बालेन डोजर लिएर निस्किएपछि देखिएको प्रभाव

मेयर बालेन्द्र शर्माले नियमितविपरीत काम गर्ने जो कोहीलाई पनि नछाड्ने बताएका छन् । 

यहीबीचमा काठमाडौं महानगरले काठमाडौं जिल्ला अदालतलाई भवन पास गर्दाको नक्साअनुसार पार्किङ व्यवस्था गर्न निर्देशन दिएको थियो । सोहीअनुरुप जिल्ला  अदालत काठमाडौंले आफ्नो भवनअगाडिको फुटपाथ हटाएको छ । 

बानेश्वरको एनएमबी बैंक भएको भवनमा अण्डरग्राउण्ड पार्किङ भइरहेको सूचना टाँसिएको छ । ‘यहाँ का.म.नको सूचनाअनुरुप अण्डरग्राउण्ड पार्किङ भइरहेको छ,’ भवनअगाडि लेखिएको छ । 

यस्तै, महानगरले अन्य कार्यमा प्रयोग भइरहेको राहदानी विभागको बेसमेन्ट शुक्रबार महानगरले खाली गराएपछि आइतबारबाट पार्किङका लागि प्रयोग हुन थालेको छ । 

त्यसैगरी सोमबार महानगर न्युरोडको बिरा कम्प्लेक्स पुग्यो । सो भवनको भवनको अण्डरग्राउण्ड स्टोरका लागि भए पनि पसल व्यवसाय गरेको पाइयो । त्यसपछि महानगर र कम्प्लेक्सबीच  अण्डरग्राउण्डमा पसल सञ्चालन नगर्ने सहमति भएको छ । 

अन्य पालिकामा बालेन एक्सन प्रभाव

काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउन आफैँ डोजर लिएर निस्किएपछि यसको प्रभाव अन्य स्थानीय तहलाई पनि परेको छ । 

कीर्तिपुर नगरपालिकाले भदौ ९ गते नगरपालिकाको भवननजिकै वडा नं १० को नयाँबजारको एक घरको कम्पाउण्डमा बनेका अवैध संरचना भत्काएको छ । 

मध्यपुर थिमि नगरपालिकाले पनि भदौ १४ गते मंगलबार अवैध संरचना हटाउने ३५ दिने सूचना जारी गरेको छ । भवन निर्माणसम्बन्धी मापदण्डविपरीत भवन सडक अतिक्रमण गरी भवन, फुटपाथ अतिक्रमण तथा पार्किङ हटाउन नगरपालिकाले निर्देशन दिएको छ ।  

त्यसैगरी, उपत्यका बाहिरका स्थानीय तहमा पनि काठमाडौं महागरको कामको प्रभाव परेको छ । 

पोखरा महानगरपालिकाले सोमबार ३५ दिने सूचना जारी गरी बेसमेन्ट पार्किङका लागि नक्सा पास गरी बनेका भवनको अण्डरग्राउण्ड पार्किङका लागि प्रयोग गर्न निर्देशन दिएको छ । 

यसैगरी, बुधबार हेटौँडा उपमहानगरपालिकाको नगर कार्यपालिकाको बैठकले अव्यवस्थित संरचना हटाउने निर्णय गरेको छ । सोहीबमोजिम उपमहानगरपालिकाले नक्सा पास नभएका संरचना तथा सडक र फुटपाथ मिचेर बनाइएका संरचना हटाउन ३५ दिने सूचना निकाल्ने भएको छ । 

यसैगरी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ३ ले सार्वजनिक जग्गा अतिक्रमण गरेर अनधिकृत रूपमा बनाइएका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । 

सार्वजनिक जग्गा, सडक अतिक्रमण र नक्सापास स्वीकृतिबिना निर्माण गरिएका संरचना हटाउन वडा कार्यालयले निर्देशन दिएको हो । अटेर गरे कारबाही गर्ने नगरले चेतावनी दिएको छ ।