close

सहिदको सम्मान उद्यान निर्माण गर्दै काठेखाेला

सहिदको सम्मान उद्यान निर्माण गर्दै काठेखाेला

Trulli
ADVERTISEMENT

बागलुङ । काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद उद्यान (पार्क) निर्माण गर्न थालेको छ । गाउँपालिकाले तत्कालीन सशस्त्र द्वन्द्वका समयमा निधन भएकाहरूको सम्मानका लागि सहिद उद्यान निर्माण गर्न थालेको हो । 

सहिद उद्यानसँगै वडा कार्यालयले चौतारा निर्माण गरिरहेको छ । सहिद स्मृति उद्यान संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा अहिले उद्यान निर्माण थालिएको छ । अझै केही जग्गा व्यवस्थापन गरी पाँच रोपनी क्षेत्रफलमा उद्यान निर्माण हुने भएको हो ।

उद्यानमा सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाउनुभएका भरत शेरचन, नगेन्द्र थापा, भद्रकली थापा, धनबहादु थापा, हर्कबहादुर थापा र चाँदनी थापाको सालिक राखिने छ । बागलुङबजार नजिकै रहेको यस ठाउँ पर्यटकीय हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ ।

सहिद उद्यानले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयको भनाइ छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाखले जग्गा सम्याउने र पदमार्ग निर्माणको काम भइरहेको काठेखोला गाउँपालिका–१ का अध्यक्ष खड्क थापामगरले जानकारी दिए ।

गाउँपालिकाले पहिलो कार्यकालमा रु ३० लाखको लागतमा चौतारालगायतका विभिन्न संरचना बनाएको छ । उद्यान राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नजिकै निर्माण भइरहेको हुँदा यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने अध्यक्ष थापा बताउँछन् । पार्कलाई व्यवस्थित र आकर्षक बनाउनका लागि गाउँपालिकाले निरन्तर बजेट विनियोजन गर्दै आएको उनको भनाइ छ ।
 
'अहिले निर्माण गर्न लागेको उद्यान विशेष खालको हो, यहाँ उद्यानमात्रै बन्न लागेको होइन । एउटा पहिचान, इतिहास र सम्मान पनि जोडिएको हुने छ । राष्ट्रका लागि आफ्नो ज्यानको बलिदान दिनुभएका यही ठाउँका सहिदको सालिक पनि राखिने छ', वडाध्यक्ष थापामगरले भने, 'खासगरी उहाँहरूको सम्मानसँगै पर्यटन प्रवद्र्धनका लागि हामीले यहाँ उद्यान निर्माण गर्न थालेका हौँ । अझै थप जग्गा व्यवस्थापन गर्नुपर्ने छ । तर कामको सुरुआत भने भइरहेको छ ।  केही समयमै पार्कले पूर्णता पाउने छ ।'

अध्यक्ष थापामगर यो उद्यान ग्रामीण क्षेत्रकै उत्कृष्ट बन्ने बताउँछन् । उद्यानले गाउँको सुन्दरतालाई बढाउनुका साथै पर्यटक आकर्षणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । उद्यानसँगै फूलबारी, पदमार्ग, मन्दिर र पोखरी  निर्माण गर्ने योजना रहेको उनले बताए । उद्यान नजिक द्वन्द्वकालका इतिहाससँग सम्बन्धित अभिलेख राख्ने यस ठाउँलाई अध्ययन अवलोकन गर्ने गन्तव्यका रूपमा विकास गर्ने उनी बताउँछन् । यहाँ बन्ने संरचनाका लागि करिब रु नौ करोड लाग्ने उनको भनाइ छ ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले उद्यान सहिदको स्मृतिमा निर्माण गर्न थालेको बताए। काठेखोला–१ लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न उद्यानले ठूलो टेवा पु¥याउने भन्दै यसले बसाइँसराइलाई पनि रोक्न मद्दत पुग्ने बताउँछन् । उद्यानलाई पूर्णता दिन गाउँपालिकाले बर्सेनि बजेट विनियोजन गर्दै आएको जनाउँदै यस वर्ष पनि प्राथमिकतामा राखेर काम गरेको सुनाए ।

उनी भन्छन्, 'उद्यान निर्माणपछि गाउँमा पर्यटकको चहलपहल हुनेछ । अहिले दिनदिनै गाउँ छाड्दै बजार झर्नेको लर्को लागेको छ । यसले त्यसलाई रोक्न ठूलो भूमिका खेल्ने छ भने अर्को कुरा उद्यान वरपर राम्रो व्यवसाय सञ्चालन हुनेछ । त्यसले स्थानीयको आयआर्जनमा टेवा पुग्ने अपेक्षा लिएका छौँ। उद्यानलाई केही समयमै सम्पन्न गर्न पालिका र अन्य सरकारसँग समन्वय गरी काम गर्नेछौँ ।'