close

सिँचाइका लागि डिप ट्युवबेल निर्माण

सिँचाइका लागि डिप ट्युवबेल निर्माण

Trulli
ADVERTISEMENT

नवलपरासी पूर्व– कावासोती नगरपालिकामा सिँचाइका लागि डिप ट्युवबेल निर्माण गरिएको छ । कावासोती–३ को पुरानो बजारमा निर्माण गरिएको डिप ट्युवबेलका कारण स्थानीय एक सय ८१ घरधुरीका एक हजार जनसङ्ख्या लाभान्वित हुने नगरपालिकाले जनाएको छ । 

सङ्घीय सरकारको सिँचाइ विशेष कार्यक्रम अन्तर्गत भैरहवास्थित लुम्बिनी भूमिगत जल सिँचाइ व्यवस्थापन कार्यालयले डिप ट्युवबेल निर्माण गरिदिएको पुरानो कावासोती डिप ट्युबेल सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । 

कूल लागत रु ८६ लाख ५८ हजार दुई सयमध्ये उपभोक्ता समूहले रु तीन लाख ७१ हजार एक सय ९३ लागत सहभागिता जनाएको श्रेष्ठको भनाइ छ । वर्षौँदेखि सिँचाइको अभावले कृषि पेसानै सङ्कटमा परेको बेला डिप ट्यूवबेल निर्माणपछि आफूहरु हर्षित भएको श्रेष्ठले बताए । 

सिँचाइका लागि निर्माण गरिएको डिप ट्युवबेलमा सी आकारमा एक हजार मिटर भूमिगत पाइप विच्छ््याइएको जियोलोजिष्ट इञ्जिनियर कपिल महर्जनले बताए । उनकाअनुसार भूमिगत पाइपमध्ये एक दर्जन आउटलेट, दुईवटा एअर पाइप तथा क्षेत्र विस्तारका लागि तीनवटा टी फिटिङ गरिएको छ । 

डिप ट्यूवबेलको प्रतिसेकेन्ड २५ लिटर पानी फाल्ने क्षमता रहेको भन्दै महर्जनले ट्युवबेलबाट निकालिएको भूमिगत जल १८ फिटमाथि ओभरहेड ट्याङ्कीमा पठाइ त्यहाँवाट सिधा वितरणको व्यवस्था मिलाइएको बताए । 

डिप ट्युबेलले यहाँको ४० बिघा जमिन सजिलै सिञ्चित गर्नसक्ने उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ । विसं २०७७ पुस १७ देखि काम सुरु गरेको उपभोक्ता समितिले तीन वर्ष सात महिना २२ दिनमा डिप ट्युवबेल निर्माण सम्पन्न गरी उद्घाटन गरिएको हो । 

डिप ट्युवबेललाई कृषि सहकारीमार्फत सञ्चालन गर्नेगरी आवश्यक प्रक्रिया अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । कावासोती–३ पुरानो बजारका सयौँ घरधुरी र आश्रित परिवार सिँचाइ सुविधाबाट प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।