close

पाेखरालाई झिलिमिली बनाउन ‘उज्यालो पोखरा अभियान’

पाेखरालाई झिलिमिली बनाउन ‘उज्यालो पोखरा अभियान’

Trulli
ADVERTISEMENT

कास्की– नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती-स्मार्ट स्ट्रिट लाइटबाट झिलिमिली बनाउने काम सुरु भएको छ । ‘उज्यालो पोखरा अभियानअन्तर्गत’ पोखराका मुख्य–मुख्य चोकमा जडान गरिएका हाइमास्ट र सडकमा बत्तीको उद्घाटन गरिएको छ । 

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार पोखराको नयाँ सडकमा गरिएको कार्यक्रममार्फत जडान गरिएका हाइमास्ट र सडक बत्तीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

कार्यक्रममा नगर प्रमुख आचार्यले सडक बत्तीले पोखराको सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै सडकको यात्रालाई सुरक्षित बनाएको बताए । उनले बाँकी स्थानमा सडक बत्ती जडानका लागि दोस्रो चरणको कार्यक्रम सुरु गरिसकिएको उल्लेख गरे । 

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सडक बत्तीले पोखराको सौन्दर्यलाई अझै सुन्दर बनाउन र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । उनले सडक बत्तीको मर्मतसम्भारमा विशेष ध्यान दिन आग्रह गरे । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पोखराको सौन्दर्यवृद्धिका लागि विद्युतीय तारलाई भूमिगत गर्ने काम भइरहेको बताए । 

उनले विद्युत् आपूर्ति सुधारका लागि संरचना निर्माणमा केही ठाउँमा भइरहेको अवरोध हटाउन आवश्यक सहयोग र सहजीकरण गरिदिन महानगरपालिकालाई आग्रह गरे । पोखरा महानगरपालिका र प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकमा १६ मिटर अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने २३ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरिएको  छ । 

महानगरभित्रको ६० किलोमिटर मुख्य सडकमा दुई हजार सात वटा सडक बत्ती जडान गरिएको छ ।  जसमध्ये ऊर्जा दक्षतायुक्त  ९० वाट र (२) वाटका स्मार्ट बत्ती छन् । सडक बत्ती जडान अयोजनाको लागत रु १४ करोड ६५ लाख  छ । कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने छ । 

पोखरा महानगरपालिकाले सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ । प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि ३२ वटा फिडर प्यानल जडान गरिएको छ ।

 सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । जडान गरिएका बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले नै गर्ने छ । सडक बत्तीको डिजाइन आयु ५० हजार घण्टा छ ।