close

बसपार्क निमार्ण गर्न ग्यारेज र माेटर पार्टस् बन्द गराउँदै पाेखरा महानगर

बसपार्क निमार्ण गर्न ग्यारेज र माेटर पार्टस् बन्द गराउँदै पाेखरा महानगर

Trulli
ADVERTISEMENT

कास्की - पोखरा महानगरपालिकाले पृथ्वीचोक स्थित बसपार्क भित्र रहेका एक दर्जन बढी मोटर पार्टस् र ग्यारेजहरू बन्द गरेको छ । बसपार्क निर्माणकाे लागि महानगरपालिकाले साे ग्यारेज तथा माेटर पार्टस् बन्द गरेकाे हाे । 

महानगरपालिकाले उनीहरू यसअघि नै स्थानान्तरणका लागि समय दिइएको थियो । हाल बसपार्क व्यवस्थापनको काम तीव्र गतिमा भइरहेकाले बसपार्क कै जग्गामा सञ्चालित ती मोटर पार्टस् र ग्यारेजहरू बन्द गरिएको महानगरको यातायात व्यवस्थापन समितिका संयोजक एवं वडा नं-१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले बताए । 

'महानगरपालिका पोखरा बसर्पाकको व्यवस्थित सञ्चालनका लागि प्रतिबद्ध छ । अहिले सडकबाट छुट्ने सबै गाडीहरूलाई बसपार्क भित्रबाटै छुट्ने/छुटाउने अनिवार्य व्यवस्था लागु गरिएको छ,'  संयोजक शर्माले भने, 'अहिले बसपार्कको आन्तरिक व्यवस्थापनको काम गरिरहेका छौँ, सोही अनुरूप बसपार्क कै जग्गा रहेका मोटर पार्टस् र ग्यारेजहरू बन्द गरेका हौँ ।'

 बसपार्क व्यवस्थापनको कार्यमा स्थानीय व्यवसायीहरूले सकारात्मक सहयोग गरिरहेको संयोजक शर्माले बताए। उनका अनुसार बसपार्क भित्र रहेका कवाडी सङ्कलन केन्द्रहरूलाई भने २२ गते भित्र स्थानान्तरण गर्न निर्देशन दिइएको छ । 

पृथ्वीचोक बसपार्कलाई थप व्यवस्थित बनाउनका लागि रेलिङहरू निर्माण गरिएका छन् भने नाला निर्माण सम्पन्न गरी ढलान गर्ने तयारी गरिएको समितिका सदस्य एवं वडा नं - ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताए । उनका अनुसार  बसपार्कको बिच भागमा रहेको टिकट काउन्टरहरू हटाइएको छ भने, केही टहराहरू समेत स्थानान्तरण गरिएका छन् । 

यस कार्यमा पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्थापन समिति, यातायात व्यवसायीहरू, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय जनप्रतिनिधिहरू निरन्तर लागिरहेका छन् । बसपार्क क्षेत्रमा भइरहेको अतिक्रमणलाई हटाई व्यवस्थित बसपार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताइएकाे छ ।

उनका अनुसार त्यस क्षेत्रमा रहेका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरणको पहिलो चरणको कार्य सम्पन्न भैसकेको भने, अव दोस्रो चरणमा तिनीहरूको व्यवस्थापनको काम सुरु हुनेछ । त्यसपश्चात् बसपार्कमा थप पूर्वाधार निर्माणका कामहरू गरिनेछन् ।