निर्वाचन आयोगको निर्णयबाट पदमुक्त भएका कटहरिया नगरपालिकाका प्रमुख सियाराम प्रसाद कुशवाहा भर्खरै सर्वोच्च अदालतबाट पुनर्वहाली भएका छन् । कुशवाहालाई किन पदबाट हटाइयो ? कसरी पुनर्वहाली भए ? , अब पालिकाका काम कसरी अघि बढ्लान ? यी र यस्तै विषयमा केन्द्रीत रहेर करिस्मा कार्कीले गरेकाे कुराकानी:
पार्टी परित्याग गरेको भन्दै निर्वाचन आयोगले पदमुक्त गरेको थियो, अदालतवाट पुनर्वहाली हुनुभएको छ । कस्तो लागिरहेको छ ?
मेरो लागि पद गएको अवस्थामा अलिक पीडा भयो । पाँच वर्षका लागि चुनिएको मलाई पार्टीको दबाबमा निर्वाचन आयोगले पदमुक्त गर्ने निर्णय गर्यो । त्यसपछि मैले सर्वोच्च अदालतमा रिट दिएँ । अदालतले मलाई न्याय दियो । मलाई दुःख पनि लागेको छ कि कुनै पार्टीमा कसैलाई टिकट दिनु भनेको उसको लगानी हो । माओवादीले रौटहटमा ११ स्थानीय तहमा टिकट दियो । केहीले जिते । त्यही जितेको मध्येपनि दुई जनालाई पदमुक्त गर्न आयोगलाई पत्र लेख्यो । यस्ता पार्टी अलोकतान्त्रिक पार्टी हुन् । नागरिकको मर्म विपरीत यसरी कारवाही गर्नु नै माओवादीले ठूलो भुल गरेको छ । संविधानको धारामा नभएको कानून अनुसार कारवाही गर्नु नै गलत थियो ।
निर्वाचित भएको पार्टी परित्याग गरेपछि त स्वभाविक रुपले पार्टीले कारवाही गर्न पाउँछ हैन र ?
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई त्यसरी कारवाही गर्न पाइन्छ । संविधानको स्थानीय तहसम्बन्धी कुनै पनि व्यवस्थामा जनप्रतिनिधिलाई पदमुक्त गर्ने भन्ने उल्लेख भएको पाइँदैन ।
यो आदेशले अव जनप्रतिनिधि निर्वाचित भएपछि कसैले हटाउन सक्दैन भन्ने कुरा स्थापित भएको हो ?
स्थापित हुनुपर्छ । कुनै पार्टीबाट प्रतिनिधि जितेर आउँदा त्यसको समयावधि भरी जनताले दिएको म्यान्डेट अनुसार काम गर्न पाउनुपर्छ ।
पालिकाको बजेट निर्माण, नीति तथा कार्यक्रम कसर अघि वढ्छ अब ?
असार १० गते नै नगरसभा उद्घाटन गरेँ । तर, बीचमै पदमुक्त भएँ । बजेट ल्याउन सकेनौँ । तर, हामीले धेरै योजना अघि सारेका छौँ । स्वास्थ्य क्षेत्र, शिक्षामा हामीले प्राथमिकता दिने योजना बनाएका थियौँ । अब विस्तारै हामी अघि बढ्छौँ ।
यसपटक बजेटमा तपाईँहरुका प्राथमिकता के छन् ?
यसपालिको बजेटमा हामीले शिक्षा, स्वास्थ्य, शिक्षा, कृषि, कोरोनाविरुद्धको भ्याक्सिन लगाउने, कोरोना सक्रिय संक्रमितको उपचार सुनिश्चितता गर्ने, वाइफाई फ्रि गर्ने, कृषकलाई निःशुल्क विद्युत दिने लगायतका कार्यक्रम बजेटमा समावेश गरेका छौँ ।
कार्यकालको अन्तिम बजेट हो । हालसम्म गरेका कामप्रति कति सन्तुष्ट हुनुहन्छ र बाँकी अवधिमा के के काम तपाईका प्राथमिकतामा छन् ?
यो प्रश्न मलाई होइन जनतालाई सोध्दा थाहा होला । म त जनताको नोकर । मैले कस्तो नोकरी गरेँ भन्ने कुरा यहाँका नागरिकले थाहा पाउलान् नै । अन्य पालिका भन्दा हामीले फरक योजना अघि सारेका छौ्र्रँ । ति योजना हामीले कार्यान्वयन गरेका छौँ । हामीले सडक निर्माण ग¥यौँ । हामीले नागरिकको स्वास्थ्य क्षेत्रमा पनि ठूलै सहयोग गरेँ । मैले आफ्नो समयावधिसँग सन्तुष्ट छैन । अझै पनि नागरिकलाई सन्तुष्ट पार्ने गरी अन्तिमसँग लागिरहनेछु ।