गुल्मीको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष हुन् द्रोणबहादुर खत्री । खत्रीसँग आगामी आर्थिक वर्षको बजेट र यसको कार्यान्वयन, पालिकाले चार वर्षमा हासिल गरेको उपलब्धिलगायका विषयमा पालिका खबर बुलेटिनका लागि करिष्मा कार्कीले गरेको कुराकानी :
आगामी वर्षका लागि प्रस्ताव गरिएको बजेटका प्राथमिकता के के छन् ?
हाम्रो यो अन्तिम कार्यकाल हो । त्यसैले चार वर्षमा अधुरा रहेका योजनालाई पूरा गर्ने गरी योजना अघि बढाएका छौँ । हामीले चार वर्ष भित्रमा एक घर एक धारा खानेपानी सम्पन्न गर्न बजेट छुट्याएका छौँ । खरको छाना विस्थापन कार्यक्रमका लागि बजेट विनियोजन गरेका छौँ । शिक्षामा गरिएको सुधार मध्ये बालविकास केन्द्रको निरन्तरता र शैक्षिक उपलब्धी बढाउने कार्यक्रमलाई अघि बढाएका छौँ । स्वास्थ्यमा पनि स्वास्थ्य चौकी स्तरोन्नती गर्ने योजना अघि बढाएका छौँ । यि सबै कार्यक्रम यो वर्ष पूरा हुने लक्ष्य हाम्रो छ ।
बजेटमार्फत कृषि र पूर्वाधारलाई प्राथमिकता दिने भन्नु भएको छ यसका लागि कस्ता कार्यक्रममा कति बजेट छुट्याउनु भएको छ?
गाउँपालिकाभित्र कृषि, पशु उत्पादन गर्ने कुरा भयो । त्यसैका लागि शान्तिपुर बजार र मझुवा बजारमा हाट बजारको व्यवस्थापन गरेका छौँ । शान्तिपुरमा कृषि संकलन केन्द्र स्थापना गरेका छौँ । उत्पादित वस्तुको बजारीकरण गर्ने गरी हामीले उत्पादित वस्तुलाई बजारसम्म जोड्ने गरी अघि बढेका छौँ ।
कोरोनाका कारण बालबालिकाको पढाइ नराम्रोसँग प्रभावित भएको छ । पठनपाठन र नतिजा प्रकाशनका काम कसरी गरिरहनु भएको छ ?
चन्द्रकोट गाउँपालिकाभित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा हामीले भौतिक रूपमा गर्न सकेनौँ । अनलाइनको पहुँच पनि छैन । विकट पालिका भएकाले हामीले विभिन्न वैकल्पिक विधिबारे छलफल गरेर परीक्षा ग¥यौँ, नतिजा प्रकाशन ग¥यौँ । अहिले हामीले विभिन्न अनलाईन कक्षा र वैकिल्पक कक्षा सिकाईका लागि ‘क्लोज युजर ग्रुप’ एनटिसीसँग सहकार्य गरेर हामीले अध्ययन गराइरहेका छौँ ।
कोरोनाले पालिकामा कम्तीमा एउटा सुविधासम्पन्न अस्पताल बनाउनुपर्ने पाठ सिकाएको छ । कोभिड अस्थायी अस्पताल त भयो तर जनतालाई दीर्घकालीन स्वास्थ्य सेवा दिनेबारे के सोचिरहनु भएको छ ?
स्थानीय तहले सबै प्रकारका सेवा दिन सकिँदैन । भौतिक पूर्वाधार निर्माण गरेर मात्र पनि हुँदैन । आवश्यक जनशक्ति र उपकरण, ल्याब आवश्यक पर्दछ । त्यसैले हामीले १५ शय्याको अस्पताल निर्माण सुरु गरेका छौँ । संघीय सरकारले जनशक्तिमा सहयोग गर्ने अपेक्षा गरेका छौँ ।
चारवर्षको अवधिमा पालिकाहरुले पूर्वाधारमा लगानी गरे, कृषिक्षेत्रको विकासमा पनि राम्रो काम भएको छ । तर स्वरोजगार बनाउने र उद्यमशीलता विकासमा भने खासै काम भएन । यो समस्या तपाईहरुकहाँ पनि देखियो । तपाईंहरु किन पछि पर्नुभयो ?
अन्य स्थानीय तह जस्तै गरी भौतिक पूर्वाधार अन्तगर्त गाउँपालिकाको केन्द्रलाई मुख्य सडकसँग जोड्ने गाउँपालिका पहुँच मार्गहरू र गाउँपालिका केन्द्रबाट हरेक वडामा जाने विभिन्न पहुँच मार्गका कुरा, खानेपानी तथा सरसफाई, स्वास्थ्यका भवन निर्माण, पालिका भवन र सभा हल निर्माण भइरहेको छ । हामीले कृषि र पशुपालनमा गरिएको उत्पादन बढाएर स्वावलम्बी बनाउने योजनामा केन्द्रित छौँ । रोजगारको विषयमा भने मानिस पेशामा आउने चुनौतीलाई सामना गर्न सक्यो भने रोजगारी आफै उत्पादन गर्न सक्ने हुँदो रहेछ ।
प्रधानमनत्री रोजगार कार्यक्रममा मात्रै भर पर्दा स्वरोगारका योजना सफल नभएका होइनन् र ?
त्यस्तो मात्रै पनि होइन । प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यविधि संघीय सरकारको हो । १ सय दिनको रोजगारी भन्ने कुरालाई व्यवस्थित बनाउने कुरा हामीले गरिरहेका छौँ । त्यसलाई उत्पादनसँग जोड्यौँ भने फलदायी होला । तर, सय दिनपछि रोजगारीको अवस्था के हुने भन्ने प्रश्न उठिरहेको छ । रोजगारी सृजना गर्ने कुरा अरु जस्तो सजिलो हुँदैन ।
एकवर्ष अवधि बाँकी छ । यो वर्षलाई यादगार बनाउन कस्ता नयाँ काम हुँदैछन् पालिकामा बताइदिनुस् न ?
हाम्रो अन्तिम कार्यकाल भएकाले हामीले सुरु गरेका कार्यक्रमलाई सम्पन्न गर्ने योजना बनाएका छौँ । सबै स्वास्थ्य चौकी निर्माण गर्ने, पहुँच मार्ग गर्ने, बजारका ढल निकास गर्ने, कृषि उपज र पशुलाई बजारसँग जोड्ने, व्यक्तिलाई स्वावलम्बी बनाउने, शिक्षामा व्यक्तिको पहुँच बढाउने लगायतका कार्यक्रमलाई सकाएर बिदा हुने हाम्रो चाहना हो ।