बाजुराको वुढीगंगा नगरपालिकाका प्रमुख दिपकबिक्रम शाहसँग पालिकाखबर बुलेटिनका लागि पालिकाले कृषि क्षेत्रमा गरेको लगानी, पूर्वाधारमा पालिकाको प्रयत्न, सामाजिक विकासका लागि चालिएका कदमलगायतका विषयमा करिष्मा कार्कीले गरेको कुराकानी:
पालिकाभित्रका कृषकलाई पेन्सन दिन कार्यविधि नै बनाएर काम गरिरहनु भएको छ । यो कार्यक्रमबाट कति कृषकले कस्तो लाभ लिएका छन् ?
यो वर्ष कृषक पेन्सनबाट ३७ किसान लाभान्वित हुनुभएको छ । त्यसले उत्पादनलाई बढाएको छ । किसानलाई पेन्सन दिने हामी पहिलो पालिका हो । अवधारणा बनाएर अघि बढाएका छौँ । त्यसले किसानलाई प्रोत्साहन गरेको छ ।
कृषिकै कुरा गरौं, कृषकहरुलाई अनुदानमा चौपाया वितरण गरियो तर भनेजति प्रतिफल आएन, कृषकले उत्पादन गरेको दुग्धजन्य बस्तुले बजार पाएन भन्ने गुनासो छ । यो विषयमा तपाईहरुको ध्यान गएको छ कि छैन ?
हामी कहाँ कृषि उपज हुन्छ । उत्पादन न्यून हुन्छ । किसानले जुन उत्पादन गरेको कुरालाई बजारीकरण गर्ने कुरामा हामी सचेत छौँ । कम उत्पादन हुने हुँदा बजारको समस्या छ । विशेषगरी तरकारी बढेको छ । पालिकालाई पुर्याएर पनि बाहिरको जिल्लामा पनि उत्पादन बेच विखन भइरहेको छ । पछि किसानको उत्पादनलाई बाहिर पठाउन कोल्ड स्टोर बनाउने योजना बनाएको छौँ । एउटा बनेको छ अरु बनाउँदैछौँ । त्यो स्टोरमा उत्पादन राख्ने र बाहिर पठाउने सजिलो होला भन्ने हाम्रो अपेक्षा छ ।
सडक संजाल पुर्याउन डोजर नै खरिद गरेर बाटो खन्दै हुनुहुन्छ तर डोजरका कारण जाने पहिरोले बस्तीपनि उत्तिकै जोखिममा छ । विकासलाई अघि वढाउदा मानवबस्ती तथा वातावरण संरक्षणमा कसरी सन्तुलन मिलाइरहनु भएको छ ?
अहिले हामीलाई यातायात आवश्यक छ । लागतको हिसाबले सबैलाई बाटो चाहिएको छ । सबैले घरघरमै बाटो खोजिरहनुभएको छ । पहाडमा बाटो खन्ने कुरा सजिलो छैन । भिरालो जमिन भएकाले धेरै क्षति हुन्छ ।त्यसैले हामीसँग पहिलो डोजर थिएन । एउटा डोजर खरिद गर्यौँ । त्यसले सडक अवरुद्ध हुँदा स्लिप हटाउन मात्रै प्रयोग गछौँ । ठेक्कामा लाग्ने बाहेकमा हामीले उपभोक्ता समितिलाई हातले नै गर्न लगाएका छौँ । तर, लागत धेरै लाग्ने ठाउँमा हामीले प्राविधिकसँग सल्लाह गरेर मात्रै डोजर प्रयोग गर्ने गरेका छौँ ।
महिनावारी हुँदा छाउ बार्ने कुप्रथाले बलियो जरा गाडेको छ, यो सामाजिक कुरितीविरुद्ध पालिकाले कसरी काम गरिरहेको छ ?
घरभित्र जान नहुने, टाढा नहुने, भान्सामा जान नमिल्ने कुराहरू छन् । गाईको गोरस खान नमिल्ने लगायतका कुरीति छ । हामीले हाम्रो पालिकामा सामाजिक सचेतना दिएर उन्मुलन गर्नुपर्छ भनेका छौँ । धेरै ठाउँमा विभेद हटेको छ । सबै छाउगोठ हटाएका छौँ । घरभित्र बस्ने परिस्थितिको निर्माण गरेका छौँ । यो बेलामा शरीर कमजोर हुन्छ, पोषणयुक्त कुरा खुवाउनुपर्छ, सहज रुपमा लिनुपर्छ भनेर सचेतना दिइरहेका छौँ ।
अलिकति बजेटको कुरा गरौं । चालु वर्षको बजेट ल्याउनुभएको छ, यसपटक तपाईहरुका प्राथमिकता के हुन् ?
कोभिडको महामारी छ । त्यसैले त्यसलाई प्राथमिकतामा राखेर अघि बढेका छौँ । शिक्षा पनि प्राथमिकतामा छ । कृषि, भेटेरिनरी, सडक, खानेपानीका कुरा पनि अघि बढाएका छौँ । स्वास्थ्य प्राथमिकतामा पर्नुको कारण भने तेस्रो लहरको आकलन गरिरहेकाले त्यसलाई ध्यानमा राख्दै आइसोलेसन, स्वास्थ्य चौकीबाट चिकित्सकको व्यवस्थापन गरिरहेका छौँ ।