close

नाली खन्न लाज मान्नेलाई स्वरोजगार बनाउन सकिन्न (भिडियो वार्ता)

नाली खन्न लाज मान्नेलाई स्वरोजगार बनाउन सकिन्न (भिडियो वार्ता)

ADVERTISEMENT

बाँकेको नेपालगंज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणासँग नगरको बजेट, बजेट कार्यान्वयनका लागि अघि सारिएका नीति, पालिकाले हालसम्म गरेको विकास निर्माण कार्यको समीक्षालगायतमा केन्द्रीत भएर पालिकाखबर बुलेटिनकाको पालिका टकका लागि करिष्मा कार्कीले गरेको कुराकानी : 

 

पालिकाको आर्थिक वर्ष २०७८/७९ को बजेटका प्राथमिकता र नयाँ कार्यक्रमबारे बताइदिनुस न ।

यो बजेट हाम्रो कार्यकालको अन्तिम बजेट हो । त्यसमाथि अहिले फेरि तेस्रो भेरियन्ट आउने चेतावनी आइरहँदा हामीले स्वास्थ्यमा बढी पैसा राखेका छौँ । सरसफाई, नगरको सौन्दर्यीकरण, बालबालिकाका लागि उद्यान, नयाँ पसल, दमकल राख्ने घर बनाउने योजना बनाएका छौँ । धैरै नयाँ योजना बनाएका छैनौँ । तर, नगरको सरसफाई र कोभिडमा हामीले बढी ध्यान दिएका छौँ ।


कार्यकालको अन्तिम बजेट भएकाले बहुवर्षीय नयाँ योजनामा लगानी नगर्ने भन्ने नीति हो । तर,  तपाईहरुले त यसको पालना गर्नु भएन हैन ? 

बहुवर्षीय योजना हामीले खासै गरेका छैनौँ  ।


पूर्वाधार र कृषिका कस्ता कार्यक्रममा कति बजेट दिनुभएको छ ? 

मैले अघि पनि भने, पूर्वाधारमा एउटा पुरानो नगर भवन भत्काएर पार्किङ, पसलहरु, दमकल घर, ठूलो उद्यान बनाउने हाम्रो योजना हो ।


चारवर्षको अवधिमा पालिकाले पूर्वाधारमा लगानी गरे, कृषिक्षेत्रको विकासमा पनि राम्रो काम भएको छ । तर, स्वरोजगार बनाउने र उद्यमशीलता विकासमा भने खासै काम भएन । यो समस्या तपाईहरू कहाँ पनि देखियो । तपाईहरू किन पछि पर्नुभयो ? 

हामीले त तालिम कक्ष राखेका छौँ । स्वरोजगारका लागि ६ वटा हल भएको घर बनाएका छौँ । हाम्रो नगर साझेदारी कार्यक्रम अन्तर्गत विना धितो ऋण दिइरहेका छौँ । हामीले ३ सय समूह र व्यक्तिलाई रोजगारीका लागि कार्यक्रम गरेका छौँ । महिलालाई सिलाइकटाई, ब्यूटीपार्लर, मोबाइल बनाउने, कुक र वेटर तालिम लगायत दिने गरेका छौँ । 


प्रधानमन्त्री रोजगार कार्यक्रममा मात्रै भर पर्दा स्वरोगारका योजना सफल नभएका होइनन् र ? 

स्वरोजगार योजनाको तल्लो काम गर्न जनता मान्दैनन् । नाली खन्न मान्दैनन् । त्यो कार्यक्रम राम्ररी सञ्चालन हुन सकेन । किनकि पढेलेखेकाहरु सूचिकृत गर्ने तर काम गर्न नचाहने बढी छ । 


नयाँ व्यवसाय र उद्यमशीलता प्रर्वद्धन गर्ने योजना चै कहाँ पुग्यो प्रमुखज्यू ? 

व्यवसाय प्रवर्द्धन केन्द्रका लागि कार्यालय नै खोलेर अघि बढेका छौँ । 


अलिकति कोरोनाको कुरा गरौं, दोस्रो लहरले पालिकालाई निकै दुःख दियो । पालिकाको तर्फवाट यसको नियन्त्रण र रोकथाममा अहिले कसरी काम भइरहेको छ ? 

दोस्रो लहरमा हामीले भेरी अस्पतालमा स्वास्थ्यकर्मीको संख्या बढायौँ । चिकित्सक सीमामा बढायौँ । सबै वडामा क्वारेन्टिन र आइसोलेसन बनायौँ । देशविदेशबाट सहयोग पनि मिल्यो । अब तेस्रो लहर आउने संकेत पाइरहँदा हामी तयारी गरिरहेका छौँ । 


नगरबस चलाउने योजना थियो, अहिले त्यसबाट पछि हट्नु भएछ किन ?

नगरबस ठेक्कामा छ । कोरोनाका कारण चलाउन नपाएको हो । खुल्ने वित्तिकै चलाउनेछौँ । 

 

चार वर्षको अवधि कस्तो रह्यो, चुनावताका जनतामाझ गरेका प्रतिवद्धता कति पुरा गर्नुभयो कति बाँकी छ ? 

मलाई के लाग्छ भने म असाध्यै सन्तुष्ट छु । नेपालगञ्जका जनता, बोर्डका मित्र, कर्मचारीले सहयोग गर्दा नै हामीले कायापलट गर्न सकेका छौँ । राम्रो र सुनौलो यो पाँच वर्षको कार्यकाल भएको छ । सडकबत्ती, नाला, पार्क सबै बनायौँ । म एकदमै सन्तुष्ट छु ।