स्याङजाको भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालसँग पालिकाको बजेट र यसको कार्यान्वयन, पालिकाले शिक्षा स्वास्थ्य र पूर्वाधारमा गरेको प्रगति लगायतका विषयमा पालिकाखबर बुलेटिनका लागि करिष्मा कार्कीले गरेको कुराकानी :
जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्नुभएको छ । यो भनेको के हो? कस्तो मापदण्ड पूरा गरेर तपाईंहरुले घोषणा गर्नुभएको हो ?
जन्मदेखि १८ वर्षसम्मको उमेरसमूहले प्राप्त गर्नुपर्ने आधारभूत अधिकारको व्यवस्था हामीले गरको छौँ । त्यही सिद्धान्तमा रहेर हामीले चार वटा मुलभूत बालअधिकार, ४९ उपशीर्षक समेत पूरा गर्यौँ । गर्भावस्थादेखि जन्मसम्म, आमाको अवस्था, पठनपाठन, परिवारले गर्ने व्यवहार, अन्याय हुन नदिन हामीले विभिन्न काम गर्यौँ ।
बालबचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता मुख्य सिद्धान्त हुन् । ति सबै कुरालाई परिपूर्ति गर्ने सूचकांक पूरा गरेर हामीले बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरेका हौँ । घोषणा मात्रै पनि होइन हामीले बाल अधिकारको पक्षमा हामीले काम गरेका छौँ । उनीहरूको अधिकार दिगो राख्ने काम हामीले गरेका छौँ ।
दुईवटा वडामा चाक्लाबन्दी खेती सुरु भएको भनिएको छ । कृषकले यसबाट कसरी फाइदा पाइरहेका छन् ?
चक्लाबन्दी खेतीबाट हुने फाइदा भनेको एउटै बाली हुँदा उत्पादनमा वृद्धि हुने, रोगको प्रकोप कम हुने, लागत कम हुने, उत्पादकत्व बढी हुने गर्दछ । साझेदारीमा काम गर्दा फाइदा हुने, समय बचत हुँदा कृषकलाई फाइदा हुने देखेर यो काम अघि बढाएका हौँ ।
कार्यकालको अन्तिम बजेट ल्याउनुभएको छ । यसवर्षको बजेटमा बहुबर्षिय योजनामा लगानी नगर्ने भन्ने थियो तर तपाईहरुले त नगर सडक यातायत गुरुयोजना अघि सार्नुभएको छ । यो वर्षमै काम सकिने हो र यो योजना ?
हामीले सडकको सिद्धान्तलाई पालना गर्ने नीति बनाउने हाम्रो योजना हो । मार्गदर्शन बनाएका हौँ । यो वर्ष सकिने काम धेरै गरेका छौँ । हामीले योजना मात्रै बनाउन खोजेका हौँ ।
नगरभित्र सडक, खानेपानी, सिंचाइ लगायतका पूर्वाधारको उपलब्धता चाहिँ कस्तो छ ?
खानेपानीमा पहुँच नै नभएको छैन । अझै स्तरीकरण गर्ने हाम्रो योजना हो । एक घर, एक धारा, पानीको सुद्धिकरणमा जोड दिनेतर्फ हामी काम गरिरहेका छौँ । आँधिखोलाका किनारका सिँचाइ प्रणालीहरू बहाबले बेलाबेला बिगार्ने गरेको छ । जसले गर्दा हिउँदका दिनमा कठिन हुन्छ । अशिक्षित क्षेत्र, पहुँच नभएको क्षेत्रमा हामीले सिँचाई गर्ने कुरा भन्दै लिफ्टिङ गर्ने प्रविधि सिकाएका छौँ । धानबाली हुने ठाउँमा सिँचाईको त्यति अभाव र समस्या छैन ।
सामाजिक विकासतर्फ यसपटक थुप्रै योजनाहरु बजेटमार्फत अघि सारिएको छ तर तिनमा बिनियोजन भएको बजेट न्युन छ । यसरी बजेट छर्नुभन्दा एउटै योजनामा लगानी गरेर सफलता हासिल गर्ने दिशामा किन सोच्नुभएन?
यसलाई यसरी बुझौँ । जनतालाई सेवा दिने कुराहरुलाई सानो र ठूलो भन्न मिल्दैन । ज्येष्ठ नागकिरमा स्वास्थ्य सेवा पुर्याउनुपर्ने हुन्छ । बालबालिका, अपांग, पिछडिएका वर्गलाई हेर्नुपर्ने हुन्छ । त्यो नागरिकको अधिकार हो ।
बालबच्चालाई पुस्तक दिन नसक्ने जस्ता परिवारलाई हामीले सहयोग गर्नुपर्छ । भौतिक निर्माण मात्रै विकास होइन । सामाजिक विकासमा व्यक्ति र समुदायका समस्या समाधान गर्नुपर्ने प्रकृतिको काम हामीले गर्नुपर्छ । हामीले कमसेकम दुई हजार शौचालय बनायौँ । आधारभूत विकास गर्नु भनेको विकासको आधार हुँदैन । त्यो जग हो । साना कुराले जग बसाल्ने हो । त्यसैले हामी साना र ठूला कामलाई मिलाएर अघि बढेका छौँ ।
अन्तमा पालिकाभित्र स्वास्थ्य, शिक्षाको विकास र युवालाई रोजगार बनाउने अभियान कसरी अघि बढिरहेको छ बताइदिनुस न ।
यो कोभिडपछि आएको बेरोजगारीको सम्बन्धमा हामीले मुख्यतः कृषिमा आधारित व्यवसाय सञ्चालन गरेर रोजगारी दिने सोच बनाएका छौँ । धेरै युवाहरू आएर तरकारी खेती गर्ने, पशुपालन गर्ने, टनेल लगाएर उत्पादन गर्ने काम गरिरहनु भएको छ । हामीले उपकरण वितरण गर्ने, बिउ विजन, उन्नत प्रविधि, तालिम दिने, प्राविधिक सेवा दिने काम गरिरहेका छौँ ।
दुध उत्पादन गर्ने किसानका लागि चिस्यान केन्द्र, प्रशोधन केन्द्र बनाउन १५ लाख खर्चेर भवन बनाइदिएका छौँ । गाउँगाउँबाट दुध ल्याएर बेच्न दुधको सहकारी संस्था बनाएका छौँ । एकीकृत कृषि बजारको व्यवस्था गरेका छौँ । जहाँ सबै कृषि उत्पादन बेच्न सकिने व्यवस्था गरिएको छ । उत्पादन वृद्धिमा लागत घटाउन उपकरण वितरण गरेका छौँ ।