पाल्पाको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीसँग पालिकाले अघि सारेका आर्थिक विकासको रणनीति, उद्यमशीता र रोजगारी प्रर्वद्धनमा पालिकाको नीति, पूर्वाधार विकासका प्राथमकितालगायतका विषयमा गरिएको कुराकानी:
यसवर्षदेखि छोरी शिक्षा कार्यक्रम सुरु गर्नुभएको छ । यो कार्यक्रमको अवधारणा र लक्षित वर्गवारे अलिकति बताइदिनुस् न ?
अहिले एउटा बहसको रुपमा लैंगिक समानता उठिरहेको छ । समानताका लागि सबैभन्दा ठूलो कुरा शिक्षामा पहुँच हुनुपर्छ । त्यसैमा आधारित भएर नगरपालिकाभित्रका दलित, आदिवासी र अन्य गरेर एक वडाबाट ५ जना छोरीलाई नगरपालिकाले विशेष शैक्षिक सहयोग गरेर माध्यमिक तहको शिक्षा हासिल गर्न कार्यक्रम ल्याएका हौँ । त्यसपछि उहाँहरु अब्बल विद्यार्थी बनेमा उच्च शिक्षामा समेत सहयोग गर्ने गरी हामीले कार्यविधि तयार गरेर अघि बढाउने योजना बनाएका छौँ ।
कोरोनाको तेस्रो लहर आउने चेतावनी आइरहेको छ । शिक्षामा तपाईंहरु संवेदनशील हुनुहुन्छ । यस्तो बेला शिक्षण सिकाइ र जनजीविकालाई कसरी व्यवस्थित गर्नुहुन्छ? कस्तो छ तयारी ?
कोरोनाले प्राय सबै क्षेत्रमा असर गरेको छ । शिक्षा सबैभन्दा संवेदनशील क्षेत्र हो । अत्यधिक असर यही क्षेत्रमा बढी गरेको छ । बालबच्चको विद्यालयबाट ड्रपआउट हुने सम्भावना छ । हामी वैकल्पिक सिकाइको खोजी गरिरहेका छौँ । अनलाइनको एउटा माध्यम त छ तर हाम्रो मुलुकमा पहुँच रहने सम्भावना कम छ ।
हामीले विकास गरेको भिडियो सामग्रीबाट बालबच्चालाई शिक्षासँग जोड्ने योजना बनाएका छौँ । तर, व्यवहारतः टोलटोलमा यो कार्यक्रम लग्दा अभिभावक डराउने, कोरोना सर्ने डर पनि उहाँहरुमा त्यतिकै देखिएको छ । अलिक चुनौती छ ।
धेरैजसो स्थानीय तहले गतवर्षको बजेटमा अघि सारेको कार्यक्रम पुरा गर्न नसकेपछि यसवर्षपनि तिनै कार्यक्रमलाई निरन्तरता दिएका छन् ? तपाईहरुको अवस्था कस्तो छ ? यसवर्ष बजेटमा कस्ता कार्यक्रम छन् ?
हामीले कतिपय राम्रा कार्यक्रमलाई निरन्तरता दिएका छौँ । कोभिडले प्रभाव पारेको क्षेत्रको पुनर्उत्थान, शिक्षा, स्वास्थ्य क्षेत्रलाई निरन्तरता दिएका छौँ । पर्यटक र लगानीकर्ता आकर्षित गर्न एग्रो टुरिजम कार्यक्रम अघि सारेका छौँ । त्यस्तै, उत्पादनशील क्षेत्रमा हामीले लगानी गरेका छौँ । कृषकको समूह बनाउने, उत्पादनलाई बजारसम्म पुर्याउन हामीले संकलन केन्द्र निर्माण गरिरहेका छौँ ।
पालिकाले पूर्वाधार र कृषि क्षेत्रमा हालसम्म गरेका उपलब्धिबारे संक्षेपमा बताइदिनुस न ।
जहाँसम्म कृषि क्षेत्रको कुरा छ । हामीले व्यापक युवालाई कृषिमा आवद्ध गरेका छौँ । मासु र दूग्धजन्य कुरामा आत्मनिर्भर भएर निर्यात गर्ने योजना हामीले बनाएका छौँ । गाईभैँसी पालनमा युवालाई आकर्षित गरेर झण्डै ४ सय ८० युवा यसमा जोडिनुभएको छ । परम्परागम खाद्य बालीलाई निरन्तरता दिन तालिम दिएका छौँ । कृषि पकेट क्षेत्र हामीले अघि बढाएका छौँ ।
६ वटा वडामा बाख्रा पकेट क्षेत्र घोषणा गरेर ४५ सय माउ बाख्रा विक्री गरेका छौँ । ३ सय खोर नगरपालिकाले बनाइदिएको छ । पहाड भए पनि मत्स्य पालनमा जोड दिएका छौँ । चार सय युवा अहिले यसको व्यवसाय गरिरहेका छन् ।