close

जनप्रतिनिधि नागरिकमुखी नहुँदा समस्या 

जनप्रतिनिधि नागरिकमुखी नहुँदा समस्या 

Trulli
ADVERTISEMENT

खड्गबहादुर फागो
नगरप्रमुख, उर्लाबारी नगरपालिका, मोरङ

 

मोरङको उर्लाबारी नगरपालिका प्रमुख खड्गबहादुर फागो राजनीतिक पार्टीबाट चुनिएर आएपछि जनता नजिक हुनुपर्नेमा जनप्रतिनिधि दल नजिक भएपछि समस्या आएको सुनाउँछन् । फागोसँग स्थानीय सरकारको प्रमुखका रूपमा चार वर्ष काम गर्दाको अनुभव, नगरपालिकाले अघि बढाएका विकास आयोजना, संघीयता कार्यान्वयनको अवस्था आदिबारे गरिएको कुराकानी :


 

स्थानीय सरकारको प्रमुखका रूपमा चार वर्ष काम गरिसक्नुभयो, कस्तो रह्यो अनुभव ? 


स्थानीय सरकार नयाँ संरचना हो । नयाँ तरिकाले काम गनुपर्‍यो  । भौतिक संरचना बनाउनुपर्ने, वडा कार्यालय भवन, आधारभूत स्वास्थ्य कार्यालय बनाउनुप¥यो । हाम्रो लागि यो नौलो हुन पुग्यो ।

 

यो अवधिमा काम गर्दा के–के अप्ठेरा आइलागे ? 


अप्ठेरा अधिक रहे । सबैले पुरानै निकाय जसरी सम्झिए । हामीलाई अभ्यास गर्नै समय लाग्यो । समन्वय र सहकार्यको आवश्यकता अझै पनि छ । नेपालमा राजनीतिबाट निर्वाचित भएर आउँदा पनि हाम्रो मानसिकता एकदमै घेरिएको छ । हामीले काम गर्न भित्रैबाट अप्ठेरो भयो । राजनीतिक कार्यकर्ताका रूपमा जनप्रतिनिधि प्रस्तुत हुँदा समस्या धेरै आयो । 

 

नगरपालिकाले प्राथमिकताका साथ अघि सारेका योजना के–के हुन् ? 


विशेषगरी पूर्वाधारमा हामीले जोड दियौँ । त्यसपछि शिक्षा, स्वास्थ्य, आर्थिक विकासमा जोड दिएका छौँ । नागरिकलाई स्वावलम्बी बनाउनेतर्फ हामी अग्रसर भइरहेका छौँ । आफ्नो जिम्मेवारी र नैतिकतालाई ख्याल गरेर विभिन्न काम गर्दै आएका छौँ । 

 

तपाईंले प्रतिबद्धता जनाएका योजना कति पूरा भए ? 

 

चुनावताका हामीले गरेको प्रतिबद्धता सबै पूरा भएका छैनन् । यद्यपि, हामीले स्रोत–साधनले भ्याएसम्म काम गरेका छौँ । स्थानीय तहले कानुन बनाएर गर्नुपर्ने काम हामीले गरेका छौँ । तर, साझा अधिकारभित्र पर्ने कुरा जस्तै, सुकुम्बासीको समस्या घोषणा गरेअनुसार गर्न सकेनौँ । 

 

संविधानमा गरिएको व्यवस्थाअनुसार संघीयता कार्यान्वयन भएको छ ?


संघीयता जुन मर्मले आएको थियो, त्योअुनसार भएको पाइँदैन । व्यावहारिक र कानुनी हिसाबले अझै संघीयताले मूर्त रूप लिन सकेको छैन । स्थानीयको अधिकार संघले केन्द्रित गर्ने काम गरेको छ । अझै तालमेल मिलेको छैन । नागरिकले पाउने सेवा–सुविधा संघीयताको मर्मअनुसार पूरा भएको पाइँदैन । 

 

संघ र प्रदेशले स्थानीय सरकारप्रति गर्ने व्यवहार कस्तो छ ? 


संघीय सरकारले प्रदेश र स्थानीय तहलाई गर्नुपर्ने सहयोग गरेको पाइँदैन । हामी राजनीतिमा एकदमै जकडिएका छौँ । हाम्रो मानसिकता नागरिकतर्फ भन्दा पनि दलप्रति हुने गरेको छ । 

 

अन्त्यमा, कोरोना महामारी नियन्त्रणमा जनताका नजिकको सरकार महसुस गर्ने गरी काम गर्नुभयो । महामारी नियन्त्रणमा के काम गर्नुभयो ?


क्षेत्राधिकारभित्र रहेर हामीले महामारी नियन्त्रण गरिरहेका छौँ । स्वास्थ्य कर्मचारी राखेर ११ शय्याको आइसोलेसन सेन्टर सञ्चालन गरिरहेका छौँ । हामीले निःशुल्क बिरामीलाई सेवा प्रदान गरिरहेका छौँ । संक्रमित भएकालाई घरमै गएर सहयोग गर्ने, औषधी दिने, प्याकेजका कार्यक्रम ल्याएका छौँ । सबैका घर–घरमा कोरोना परीक्षण गराइरहेका छौँ ।