close

व्यावहारिक र सैद्धान्तिक पक्षमा बेमेल हुँदा बेरुजु देखियो

व्यावहारिक र सैद्धान्तिक पक्षमा बेमेल हुँदा बेरुजु देखियो

Trulli
ADVERTISEMENT

रमेशकुमार जिमी
नगरप्रमुख धर्मदेवी नगरपालिका, संखुवासभा

 

संखुवासभाको धर्मदेवी नगरपालिकाका नगरप्रमुख रमेशकुमार जिमी चार वर्षे अवधिमा नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा विकास गरेको बताउँछन् । उनीसँग पालिकाको नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन, योजना, कार्यकालको समीक्षालगायत विषयमा गरिएको कुराकानी :


 

कार्यकालको अन्तिम बजेटमा समावेश भएका योजना के–के छन् ? यसलाई कसरी कार्यान्वयन गर्नुहुन्छ ?


बजेट लगभग स्थानीय स्तरमा आइसकेको छ । स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार क्षेत्रमा बजेट छुट्याएर हामी कार्यान्वयनको चरणमा छौँ । कार्यान्वयन गर्न अलि ढिला भइरहेको छ । तर, १५ भदौदेखि नै उपभोक्ता समिति गठन गर्ने, ठेक्का प्रक्रिया लगाएर छिट्टै्र अघि बढ्छौँ । 

 

स्वास्थ्य क्षेत्रमा बढी जोड दिनुभएको छ । पूर्वाधार निर्माणमा लाखौँ खर्च गरिरहँदा स्वास्थ्य क्षेत्रको विकास गर्न यही आर्थिक वर्षमा सम्भव छ ?


हामीले चार वर्ष पूरा गर्‍यौँ । योबीचमा हामीले सबै वडामा सहरी स्वास्थ्य केन्द्रको अवधारणामा स्वास्थ्यको पहुँच विस्तार गरिसकेका छौँ । त्यसको स्तरोन्नतिका लागि जोड दिएका छौँ । स्वास्थ्यको अधिकारलाई ग्रामीण क्षेत्रमा सरकारले वितरण गर्ने औषधीसमेत प्राप्त नगर्ने अवस्था अन्त्य गर्न सबै वडामा स्वास्थ्य केन्द्र निर्माण र विस्तार गरिरहेका छौँ । 

 

प्रदेश १ स्थानीय तहमा पनि अत्यधिक बेरुजु रहेको महालेखाले देखाएको छ । कसरी बेरुजु स्थानीय तहमा देखिए ?


जनप्रतिनिधि र कर्मचारीको समन्वयात्मक रूपमा काम गर्नुपर्दा कतिपय पेस्की बाँकी रहेकाले सैद्धान्तिक रूपमा बेरुजु देखिएको छ । कतिपय योजनालाई पेस्कीमा राखेका छौँ । ती योजना अघि बढाउन सकेका छैनौँ । लकडाउनका कारणले कार्यक्रम, सेमिनार पनि गर्न सकेका छैनौँ । पेस्की योजना दिए पनि फरफारक भएको छैन । त्यसैले पनि महालेखाले बेरुजु देखाएको हो । व्यावहारिक र सैद्धान्तिक कुरा नमिल्दा पनि बेरुजु देखिन्छ । त्यसमा कर्मचारी र जनप्रतिनिधिले कानुनको पालना गरेर अघि बढे भने त्यसलाई घटाउन सकिन्छ । 

 

कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी सरकारले दिइसकेको छ । तपाईंको पालिकाले कसरी तयारी गरिरहेको छ ?


कोरोनाको विषयमा दुई लहर रोक्न हामीले विभिन्न काम गर्‍यौँ । आइसोलेसन, क्वारेन्टाइन बनाउने, बिरामीको घरमै पुगेर उपचार गर्‍यौँ । तेस्रो लहर रोक्न हामीले लकडाउन नै प्राथमिकतामा राखेका छौँ । बैठक, सेमिनारलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गरिरहेका छौँ । बाँकी अक्सिजनको तयारी, एम्बुलेन्सको व्यवस्था गरेका छौँ । प्रारम्भिक चरणमा हामीले कर्मचारीलाई तयारी अवस्थामा राखेका छौँ । हाम्रै स्वास्थ्य संस्थाबाट उपचार गर्ने गरी काम गरिरहेका छौँ । प्रदेश सरकारअन्तर्गतका अस्पतालसँग पनि समन्वय गर्ने योजना बनाएका छौँ । 

 

ग्रामीण अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने भन्नुभएको छ । यो कसरी सम्भव हुन्छ ? 


कार्यान्वयनको चरणमा हामीले अलि सकिरहेका छैनौँ । तथापि अर्थतन्त्र बलियो बनाउन प्रयासरत छौँ । हामीले अर्थतन्त्र व्यवस्थापनका लागि विभिन्न परामर्श र सुझाव लिने गरेका छौँ । आम्दानी बढाउने गरी नीति बनाउने योजना बनाएका छौँ   । त्यसबाट विकास सिर्जना गर्ने तयारी गरेका छौँ । सोचिएको लक्ष्य पूरा गर्न सकिएको छैन । तर, हामीले त्यसलाई पनि अन्त्य गर्दै अघि बढ्ने प्रयत्न गरिरहेका छौँ । 

 

अन्त्यमा, तपाईंको अन्तिम कार्यकालसम्म आइपुग्दा नागरिक सन्तुष्ट छन् जस्तो लाग्छ ?


हामीले हाम्रो चुनावमा विभिन्न कार्यक्रम घोषणापत्र जारी गर्‍यौँ । त्यहीअनुसार काम गर्‍यौँ । राजनीतिक, कानुनी चुनौती पनि भोग्यौँ । तर, हामीले नेतृत्व गरेर जसरी काम गर्‍यौँ, योजनाको लगभग ७० प्रतिशत काम गर्न सफल भएका छौँ । अस्पताल निर्माण, खेल मैदान, सडक, खानेपानी व्यवस्थापन गरेका छौँ । विभिन्न विधि र प्रक्रियाबाट हामीले चार वर्ष काम गरिसक्यौँ । बाँकी कार्यक्रम पनि यो अन्तिम कार्यकालमा सम्पन्न गर्ने योजना बनाएका छौँ ।