close

घोषणापत्रमा लिपिबद्ध ९५ प्रतिशत काम पूरा गरेका छौँ 

घोषणापत्रमा लिपिबद्ध ९५ प्रतिशत काम पूरा गरेका छौँ 

Trulli
ADVERTISEMENT

गजेन्द्रबहादुर खड्का
अध्यक्ष, रौतामाई गाउँपालिका, उदयपुर 

 

उदयपुरको रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्का निर्वाचनका बेला नागरिकसँग गरिएका प्रतिबद्धता करिब करिब पूरा गर्न सकिने दाबी गर्छन् । अध्यक्ष खड्कासँग जनप्रतिनिधिका रूपमा चार वर्ष काम गर्दाको अनुभव, पालिकाको विकास निर्माण, पालिकाले सुरु गरेको नयाँ पहल आदिबारे गरिएको कुराकानी :


 

जनतासँग वाचा गरिएका काम कति पूरा भए ? 


मैले चुनाव लड्दा घोषणापत्र प्रयोग गरेको थिएँ । त्यसमा वडालाई व्यवस्थित बनाउने, विद्युतीकरण गर्ने, खानेपानी र सिँचाइमा जोड दिने उल्लेख थियो । यस्तै, सडक निर्माण गर्ने घोषणा गरेको थिएँ । सबैभन्दा पहिले सडक निर्माण ग¥यौँ । गाउँपालिका केन्द्र जाने बाटो, केन्द्र पुग्ने धुले बाटो बनाएका छौँ । विद्युतीकरणको काम जारी छ । वर्षाका कारण त्यो केही मात्रै अघि बढेको छ । त्यसैगरी विद्यालयको भौतिक पूर्वाधार निर्माण गरेका छौँ । गाउँपालिका केन्द्र जान महेन्द्र राजमार्गबाट जाने बाटो कालोपत्रे गर्ने हाम्रो योजना छ । तर, सरकारले बजेट काटेकाले त्यो अघि बढ्ने सम्भावना न्यून छ । झन्डै ९५ प्रतिशत हाम्रो घोषणापत्रअनुसार काम भएको छ । 

 

संघ तथा प्रदेशले कुन–कुन कानुन नबनाइदिएका कारण स्थानीय तहलाई काम गर्न कानुनी अड्चन भइरहेको छ ? 


शिक्षा, वनलगायत विषयमा कानुन बनेको छैन । रोयल्टी, निकासी कर, जडीबुटी अनुदान आदिको ऐन खुलेको छैन । हामीले कर उठाउन पाएका छैनौँ । 

 

गाउँपालिकाले विशेष महत्त्व दिएर पहल गरेका कार्यक्रमबारे बताउनुस् न ? 


हामीले पर्यटन क्षेत्रबाट समृद्धि हासिल गर्ने योजना बनाएका छौँ । रौतापोखरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिरहेका छौँ । अतिथि गृह, सिँढी निर्माण तयारी गरेका छौँ । उदयपुरको सबैभन्दा अग्लो भूभागबाट हामीले सञ्चार सेवा दिइरहेका छौँ । लामो झरनालगायत क्षेत्रमा विभिन्न काम गरेका छौँ । कृषि क्षेत्रमा तरकारी पकेट क्षेत्र, पशुपालनमा कृषकलाई जोड दिएका छौँ । कृषकको आयआर्जन वृद्धि गर्न विभिन्न कृषि कार्यक्रम अघि सारेका छौँ । 

 

तपाईंको पालिकाको आन्तरिक स्रोतको अवस्था कस्तो छ ? 


जडीबुटी, ढुंगा, बालुवा यस्तैबाट २५–३० लाख रुपैयाँ राजस्व उठाउँछौँ । 

 

अन्त्यमा, कार्यकालको अन्तिम वर्षमा तपाईंले कुन–कुन क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहनुभएको छ ?


स्वास्थ्यका लागि १८ शय्याको अस्पताल निर्माण अघि बढाएका छौँ । गाउँपालिकाभित्रको दुई किलोमिटर बाटो कालोपत्रे गर्ने, पालिकाको तीन तले भवन बन्दै छ । विद्यालय पुनर्निर्माण र सबैलाई खानेपानी पु¥याउनेलगायतमा हामीले काम गरिरहेका छौँ ।