close

‘महिला पुरुषजत्तिकै सक्षम छन्’

‘महिला पुरुषजत्तिकै सक्षम छन्’

Trulli
ADVERTISEMENT

पाँचथरका आठ स्थानीय तहमा ६० वटा वडा रहेका छन् । तीमध्ये दुई वडामा महिला अध्यक्ष छन् । सुजता वान्तवा फालेलुङ गाउँपालिका वडा नं. ६ की अध्यक्ष हुन् ।


 

वडाध्यक्ष भएको चार वर्ष भइसक्यो ? के–के काम गर्नुभयो त ?


निर्वाचित भएर आउँदा वडा कार्यालयको आफ्नो अफिससमेत थिएन । कुर्सी–टेबलबाट वडा कार्यालयलाई उठाउनु थियो । कार्यालय व्यवस्थापनबाट काम सुरु गरियो । अहिलेसम्म पूर्वाधारका धेरै काम भएका छन् । हामीले वडा भवन बनाएर सञ्चालनमा ल्याएका छौँ । त्यस्तै, स्वास्थ्य, महिला, सामुदायिक भवन निर्माण ग र्‍यौँ । सडक पूर्वाधारको विकासमा काम गरेका छौँ । 

 

तपाईंको वडामा गर्नुपर्ने मुख्य काम के–के हुन् ?


संघ र प्रदेशसँग मिलेर काम अघि बढाइएको छ । ठूला विकासका योजनाका लागि काम भएका छन् । प्रदेश सरकारको सहयोगमा खानेपानीको काम भइरहेको छ, त्यसलाई पूरा गर्नु छ । सिँचाइको काम पनि भइरहेको छ । ट्र्याक खोलिएका सडक पूरा गर्नुपर्छ । पर्यटकीय स्थलको स्तर वृद्धि, कृषिलगायत क्षेत्रमा काम गर्नुपर्नेछ । 

 

काम गर्नका लागि के–कस्ता अप्ठ्यारा छन् ?


मेरो वार्ड भौगोलिक रूपमा ठूलो र विकट छ । विकासमा अलि पछि परेका छौँ । जनसंख्या थोरै, भूगोल ठूलो भएकोले विकासको काममा केही समस्या भएको छ । एउटा बस्तीमा सडक पु¥याउन केही डाँडा, खोल्सा छिचोलेर जानुपर्ने हुन्छ । यस्तै समस्या भोगिरहेका छौँ ।

 

महिला भएकाले काम गर्न कत्तिको सजिलो/अप्ठ्यारो छ ?


चुनावताका कतिपयले ‘महिलाले सक्दैनन्’ भनेका थिए । तर, महिलाले पुरुषजस्तै काम गर्न सक्छन् भन्ने कुरा प्रमाणित गर्नुपर्ने अवस्था छ । महिला पनि पुरुषजत्तिकै सक्षम छन् । सुरुमा काम गर्न केही असजिलो थियो तर अहिले धेरै कुराको अनुभव भइसक्यो । जनताले सहयोग गरेका छन् । घरपरिवार, श्रीमान्ले सहयोग गर्नुभएको छ । महिलालाई परिवारबाट सहयोग भयो भने काम गर्न गाह्रो हुँदैन । 

 

गाउँपालिकामा बजेट छुट्याउन, नीति कार्यक्रम कार्यान्वयन गर्न कत्तिको गाह्रो छ ?


हाम्रो गाउँपालिकामा त्यस्तो समस्या छैन । आपसी सहकार्य र सल्लाहले कार्यपालिकाको बैठक हुन्छ । गाउँपालिका प्रमुख र उपप्रमुख कांग्रेसबाट निर्वाचित हुनुहुन्छ, हामी नेकपाबाट निर्वाचित भएका छौँ । तर, हाम्रोमा केही समस्या छैन । गाउँपालिकाको विकासका लागि केही गर्नुपर्छ भनेर सल्लाह गरेर काम गछौंं । 

 

जनप्रतिनिधि हुँदाको अनुभव कस्तो रह्यो ?


सुरुमा अलि–अलि असजिलो थियो, काम गर्दै जाँदा सजिलो भएको छ । यो ठाउँमा आएपछि जनताका सुखदुःखमा साथ दिनुका साथै धेरै जनासँग चिनजान हुने अवसर मिल्यो । काम गर्ने अवसर मिल्यो । अझै केही धेरै गर्न सकिन्छ भन्ने प्रेरणा पाएकी छु ।