close

नमोबुद्धको कायापलट हुनुमा राजनीतिक इच्छाशक्ति र नगरबासीको सहयोग

नमोबुद्धको कायापलट हुनुमा राजनीतिक इच्छाशक्ति र नगरबासीको सहयोग

Trulli
ADVERTISEMENT

जनतासँग निकट रहेर काम गर्न रुचाउने काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका प्रमुख टीपी शर्मा तिमल्सिना ‘नमोबुद्धको नगरपिता’ का रूपमा परिचित छन् । नगरबासीको पक्षमा निर्णय लिन रत्तिभर समय नलगाउने शर्माले नगरपालिकामा उदाहरणीय काम गरेर सबैका लागि उदाहरणीय बनेका छन् । मानवीय र समाजसेवामा पनि उत्तिकै रुचि राख्ने नगरप्रमुख शर्मासँग नगरपालिकाको विकास निर्माणबारे गरिएको कुराकानी :



जनताको सेवक बन्नु नै नेता हुनु हो भन्ने तथ्यलाई तपाईंका कामले पुष्टि गरेका छन् । नगरबासीले तपाईंको कामलाई कसरी मूल्यांकन गरेका छन् ? 


अहिले हामी पाँच वर्षे कार्यकालको अन्तिम वर्षमा छौँ । हाम्रो काम गराइप्रति नगरबासीले सद्भाव दिनुभएको छ, जुन खुसीलाग्दो कुरा हो । तर, आलोचनात्मक कुरा हामी बढी लिने गर्दछौँ । नगरबासीको स्वच्छ आलोचनालाई प्रेरणाको स्रोतको रूपमा लिन्छौँ । राम्रो पालिका, सबैको पालिकाका रूपमा हामीले नीति बनाएर नमोबुद्धको विकासमा अघि बढेका छौँ । 

 


मानवीय सेवाको क्षेत्रमा तपाईंको काम प्रशंसनीय छ । मानवीय सेवामा काम गर्ने प्रेरणा कहाँबाट पाउनुभयो ? 


सबैभन्दा ठूलो विकास भनेकै चेतना र पूर्वाधार हो । हामीले विकास गर्ने भनेकै मानवका लागि हो । त्यसका लागि विकास गर्नुपर्छ भन्ने हिसाबले नीति बनाएका छौँ । देश विकासको क्रममा हामी अघि बढ्ने भनेको मानवले मानवको विकास गर्ने हो । यसको प्रेरणाको स्रोत भनेकै हामी हौँ ।

 

राजनीतिमा लागेपछि अधिकांशको ध्यान शक्तिमा पुगेर धन कमाउने हुन्छ । तपाईं आफ्नो पुख्र्यौली सम्पत्ति नै खर्चेर जनसेवा गरिरहनुभएको छ । यो कसरी सम्भव भयो ? 


हामी राजनीति गर्ने मान्छेका लागि व्यवसायभन्दा अन्य कुरा छुट्टाछुट्टै पाटो हो । हामी यहाँ जागिर खान आएका हौँ । जागिर खाएको भए अहिले हामी अवकाश पाइसकेका हुन्थ्यौँ । यो भनेको प्रत्यक्ष रूपमा जनतासँग सरोकार राखेर इतिहास बनाउने कुरा हो । राम्रो काम गर्न इच्छाशक्ति र टिमवर्क नै हो । मेरा लागि विकासका प्रेरणा भनेकै जनता हुन् । असल गर, असल बन भन्ने हाम्रो धारणा हो । 

 

मानवीय सेवाका क्षेत्रमा तपाईंले गरेका काम के–के हुन् ? 


नेपालको जनसंख्यामै आधा अकास धान्ने महिलाको संख्या छ । मेरो पालिकामा हेर्ने हो भने पुरुषभन्दा महिलाको संख्या ६ प्रतिशतले बढी छ । हामीले नगरलाई महिलामैत्री नगर बनाएका छौँ । उहाँहरूको शिक्षा, स्वास्थ्य, रोजगारीको विषयमा हामी काम गरिरहेका छौँ । प्रत्येक वर्षको नीति तथा कार्यक्रममा महिला लक्षित कार्यक्रम ल्याएका छौँ । दुई सन्तान प्राप्त गर्नेलाई हामीले प्रोत्साहन कार्यक्रम, बुहारी सम्मान कार्यक्रम ल्याएका छौँ । 

 

तपाईंले अभिभावकत्व लिएर पढाएका विद्यार्थीको संख्या कति पुग्यो ? 


व्यक्तिगत रूपमा मैले ७ जनालाई सहयोग गरेको छु । २ जनाले १२ कक्षाको पढाइ सकेका छन् । १ जना महिला पढ्दै हुनुहुन्छ । अभिभावकत्व गुमाएका ३ जना पनि अध्ययन गरिरहेका छन् । मानव कल्याण समाज सेवा घरमा रहेका भर्खर जन्मेका बच्चाको समेत मैले आर्थिक अवस्थालाई हेरिरहेको छु । 

 

निर्वाचनका बेला नमोबुद्धलाई कस्तो बनाउँछु भन्नुभएको थियो ? के–के योजना पूरा भए ?


नगरपालिकालाई ५, १० र १५ वर्षभित्र कस्तो बनाउने भन्ने परिकल्पना गरेका थियौँ । हामीले अद्यावधिक योजना, भावी योजनाको दस्तावेज बनाएका छौँ । हामी आउनुअघि विकास भएका थिए । त्यही विकासलाई दिगो बनाउने, अद्यावधिक गर्ने काम गरेका छौँ । सिँचाइ, लिफ्टिङको काम भएका छन् । हामीले अन्य पालिकासँग समन्वय गरेर आइसोलेसन वार्ड बनायौँ । अन्तरपालिका योजना बनाएर काम गरिरहेका छौँ । जिम्मेवारी दिएका काम, जनतासँग घोषणा गरेका काम गरेका छौँ । पाँच वटा समृद्धि र बेथिति अन्त्य गर्छु भनेको थिएँ । बेथिति र समृद्धिलाई समायोजन गर्दै अघि बढेका छौँ । 

 

अन्य जनप्रतिनिधिलाई जनताको सेवा यसरी गर्नुपर्छ भनेर के सुझाव दिन चाहनुहुन्छ ? 

 

७५३ वटै स्थानीय तहका सबैले केही गर्छु भनेरै लाग्नुभएको छ । अत्यन्तै राम्रा काम भएका छन् । मैले पालिकाखबर हेर्ने, पढ्ने गरेको छु । धेरै कुरा यहाँबाट पनि थाहा हुन्छ । मेरो सुझाव के छ भने जनप्रतिनिधिको पद अस्थायी हो । स्थायी भनेको हामीले गरेको काम हो । हामी यही भूगोलमा रहने हौँ । भोलि अर्को चुनावपछि आउने नयाँ प्रतिनिधिसँग समन्वय गरेर अघि बढ्न तयार हुनुपर्छ । तर, यहाँ उल्टो छ । विकासमा राजनीति हुनुहुँदैन भन्ने मेरो मान्यता छ । हाम्रो कुनै पनि बैठकमा राजनीतिक हस्तक्षेप छैन । हामी एक भएर राजनीतिभन्दा पनि नागरिकको सेवा गर्न लागिपरेका छौँ ।