close

बजेट अभावले सोचेअनुसार काम गर्न सकिएन

बजेट अभावले सोचेअनुसार काम गर्न सकिएन

Trulli
ADVERTISEMENT

कर्णसिंह साउद
अध्यक्ष, शिवनाथ गाउँपालिका, बैतडी

 

सुदूरपश्चिम प्रदेश बैतडीको शिवनाथ गाउँपालिका छिमेकी भारतसँग सीमा जोडिएको पालिका हो । विकासमा पछि परेको सुदूरपश्चिम प्रदेशको सीमान्त पालिका शिवनाथले संघीयता लागू भएसँगै आफूलाई विकास निर्माणमा कसरी अघि बढाएको छ ? यिनै विषय वरपर रहेका पालिका अध्यक्ष कर्णसिंह साउदसँग गरिएको कुराकानी :


 

शिवनाथ गाउँपालिकाले प्राथमिकतामा राखेर अघि बढाएका योजना के–के हुन् ? 


खासगरी निर्वाचन भएलगत्तै साढे चार वर्षमा हामीले मुख्य प्राथमिकतामा सडक, यातायात, कृषि, खानेपानी, सिँचाइ, पर्यटन, विद्यालय भवन, रोजगारका क्षेत्र राख्यौँ । गाउँपालिकामा सडक पूर्वाधार थिएन । अहिले हामीले सबै सडकलाई वडासँग जोड्यौँ । कृषि उत्पादनतर्फ पोलीहाउस निर्माण गर्‍यौँ  । खसी, भैँसीपालनमा आत्मनिर्भर बन्यौँ । धार्मिक पर्यटनको विकास गर्नेतर्फ हामीले जोड दियौँ । विद्यालयको पठनपाठनका लागि शिक्षक अभाव थियो । त्यसका लागि शिक्षक व्यवस्थापन गर्‍यौँ । 

 

पालिकाले अघि बढाएका योजना कति पूरा भए ? 


हामी निर्वाचित हुनपूर्व घोषणा गरेका कार्यक्रम यो कार्यकाल सकिन लाग्दासम्म सबै पूरा गर्ने गरी काम गरिरहेका छौँ । सिंहदरबारको अधिकार गाउँमा पुर्‍याउने काम गरेका छौँ । हामी शून्यबाट अघि बढ्यौँ । भवन नबनेका ठाउँमा भवन बनायौँ । गाउँपालिकाको भवन बनाउने, केन्द्रको भवन बनाउने काम गरेका छाैँ। गाउँपालिकालाई संस्थागत सुत्केरी, साक्षरता बनाउने काम गर्‍यौँ  । सन् २०३० सम्म एक घर, एक धारा अभियानअन्तर्गत ६ सय बढी घरमा यो योजना सफल भएको छ । 

 

जनचाहनाअनुसार विकास निर्माण गर्न पालिकासँग पर्याप्त बजेट छ कि छैन ? 

 

स्थानीय सरकार भनेको देखिने सरकार हो । तर, जनताको इच्छा पूरा गर्न आवश्यक बजेटको भने अभाव छ । संघीय सरकारले बजेट दिएको छैन । बजेट बढाउनुपर्ने देखिन्छ । सुरुआती वर्ष कर्मचारी अभाव थियो । अहिले कर्मचारी छन् । तर, फेरि कोभिडले समस्या निम्त्यायो । तर,  आरोह–अवरोहबीच हामीले काम अघि बढायौँ ।

 

पालिकाको आन्तरिक स्रोत वृद्धिका लागि के–कस्ता पहल गर्नुभएको छ ? 


गाउँपालिकाका राजस्वका स्रोत खोज्ने काम गर्‍यौँ   । यसको वृद्धिका लागि विज्ञसँग छलफल गरेर अघि बढेका छौँ । करको दायरा बढाउने तर कर घटाउनेतर्फ हाम्रो ध्यान केन्द्रित छ । स्थानीय मेलाबाट उठाउने कर, सम्पत्ति करलगायतका विषय छलफलमै छन् । 

 

बितेका चार वर्षमा जनप्रतिनिधिका रूपमा काम गर्दा के–कस्ता कठिनाइ भोग्नुभयो ? 


निर्वाचित भएको वर्ष हामी नयाँ थियौँ । कानुन अभाव थियो । त्यही समस्या समाधान गर्न हामीले ३५ कानुन, कार्यविधि बनाएका छौँ । प्रदेश र संघीय सरकारले उपलब्ध गराएको कानुन नबाझिने गरी काम गरेका छौँ । जनप्रतिनिधिलाई पनि प्रशिक्षण दिन सकिएन । केही समय बुझ्न समस्या थियो । त्यसपछि कोभिडले पनि धेरै समस्या निम्त्यायो । आर्थिक उत्पादनको कुरामा कठिनाइ भोग्नुपर्‍यो  । 


छिमेकी भारतसँग सीमा जोडिएको पालिकाको अध्यक्ष हुनुहुन्छ । सीमामा के–कस्ता समस्या आउने गरेका छन् ? 


महाकालीमा झोलुंगे पुल भइदिएको भए समस्या हट्थ्यो । भारतले अनुमति दिएको छैन । त्योबाहेक अरू समस्या छैन । 

 

अन्त्यमा, कार्यकालको अन्तिम वर्षमा के–के योजनालाई प्राथमिकता दिनुभएको छ ? 


अहिले हामीले सबै टोलमा सडक पुर्‍याए पनि १२ महिनै सवारी चलाउन मिल्ने गरी काम गरिरहेका छौँ । स्वास्थ्य, शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन चिकित्सक र शिक्षकको व्यवस्था गरेका छौँ । हामीले १० शय्याको अस्पताल निर्माणका लागि टेन्डर गरेर काम अघि बढाएका छौँ । संस्थागत सुत्केरी गाउँपालिका घोषणाको तयारी गरेका छौँ । सञ्चार अभाव छ । टेलिफोन टावर, विद्युत्को पहुँच छैन । हामीले संघीय सरकारसँग यसका लागि पहल गरिरहेका छौँ । टोलटोलमा बत्ती पुगेको छैन । शैक्षिक संस्था, धार्मिक पर्यटन क्षेत्रमा विद्युत् पुर्‍याउन पहल गरिरहेका छौँ ।