close

जनतासँग गरिएका वाचा ९० प्रतिशत पूरा भए 

जनतासँग गरिएका वाचा ९० प्रतिशत पूरा भए 

Trulli
ADVERTISEMENT

केदारनाथ यादव
अध्यक्ष, सखुवानन्कारकट्टी गाउँपालिका, सिरहा

 

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादव विकास निर्माणमा बेलाबेला व्यवधान गरिए पनि पालिकाको विकासले फड्को मारेको दाबी गर्छन् । सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष यादवसँग गरिएको कुराकानी :



तराई–मधेसका देहात विकास निर्माणमा निकै पछि परेका छन् । तपाईंको पालिकाको अवस्था कस्तो छ ? 


पाँच गाविस मिलेर अहिले गाउँपालिका बनेको हो । हामी निर्वाचित हुनुपूर्वको अवस्था हेर्दा यहाँ बाटाघाटा, पुलपुलेसा, कृषिको क्षेत्र, दलित वस्तीको घरबत्तीसमेत नबल्ने अवस्था थियो । हामी आएपछि विद्यालयको अवस्था, पूर्वाधारको क्षेत्रमा थुप्रै विकास गर्‍यौँ । हामी निर्वाचित भएपपछि सबैभन्दा पहिला वडा नम्बर १ को विकट क्षेत्रलाई विकास गर्न जोड दियौँ । सुत्केरी हुँदा झोलुंगेमा टाँगेर अस्पताल लग्नुपर्ने अवस्था थियो । अहिले पक्की पुल बनाएका छौँ । ५  वटै वडामा पक्की पुल बनेका छन् । विद्यालय भवन राम्रा थिएनन् । बालबालिका भुइँमा बसेर पढ्न बाध्य थिए । हामीले विद्यालय भवन बनायौँ । शिक्षाको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्‍यौँ । 

 

निर्वाचनका बेला जनतासँग के–के गर्छु भनेर वाचा गर्नुभएको थियो ? गरिएका वाचा कति पूरा भए ? 


हामीले ९० प्रतिशत वाचा पूरा गरेका छौँ । पक्की सडक बनाउने, पुल बनाउने काम भएको छ । विद्युत् विस्तार गरेका छौँ । किसानको खेतमा बिजुली पु¥याएका छौँ । अहिले हामीले विद्यालयको पूर्वाधार निर्माणमा मुख्य जोड दिएका छौँ । स्वास्थ्य संघ–संस्थालाई केन्द्र बनाएका छौँ । बर्थिङ सेन्टरमा ल्याब राख्ने, एम्बुलेन्स खरिद गरेका छौँ । राजस्व छुट गरेर छिट्टै गाउँमा एम्बुलेन्स आउनेछ । हामीले गाउँपालिकामा दलितका लागि सुरक्षित आवास निर्माणअन्तर्गत घर निर्माण गर्ने योजना बनाएका थियौँ । अहिले हामीले त्यो काम अघि बढाएका छौँ । उनीहरूको बैंक खातामा रकम उपलब्ध गराएका छौँ । समूहगत हिसाबले हामीले पालिकाबाट नागरिकलाई विभिन्न सेवा प्रदान गर्दै आएका छौँ । 

 

जाडो, गर्मी, वर्षायाम जुनसुकै मौसममा पनि तराईबासीले विभिन्न कहर भोग्नुपर्छ । प्राकृतिक रूपमा आइलाग्ने विपद्बाट पालिकाबासीलाई जोगाउन के–कस्ता तयारी गर्नुहुन्छ ? 

 

तराईमा आगलागीको मुख्य चुनौती हुन्छ । त्यसका लागि हामीले अक्सिजनको व्यवस्था, वारुणयन्त्रको व्यवस्था गरेका छौँ । हामीसँग दमकल छैन । तर, नजिकै रहेको स्थानीय तहसँग समन्वय गरेर दमकल १० मिनेटमा आउने व्यवस्था गरेका छौँ । प्राकृतिक प्रकोप रोक्न हाम्रो टोली खटिएका छन् । बाढी जान सक्ने दुई वडाका गाउँ छन् । त्यस गाउँलाई बाढीबाट जोगाउन हामीले गृह मन्त्रालयसँग समन्वय र पहल गर्ने काम गर्दै आएका छौँ । 

 

स्थानीय सरकारको प्रमुखका रूपमा काम गरिरहँदा तपाईंले भोग्नुपरेका समस्या के–के हुन् ? 


पालिका निर्माणका लागि हामीसँग चुनौती धेरै थिए । यो पालिका मधेशमा भएकाले केही व्यक्ति काम गर्न नदिने प्रवृत्ति छ । सडक निर्माण गर्न खोज्यौँ भने विवाद निकाल्ने काम राजनीतिक दलबाटै हुने गरेको छ । आफ्नै कुरो हुनुपर्छ भन्ने प्रवृत्ति हुँदा काम गर्न बेलाबेला मुस्किल हुने गर्दछ । विरोध र अवरोधका बीच पनि हामीले धेरै काम गरेका छौँ । 

 

आर्थिक अनुशासन कायम गर्ने सवालमा प्रदेश २ कमजोर छ । यहाँ स्थानीय तहमा आर्थिक अनियमितता भइरहेका खबर आइरहेका हुन्छन् । तपाईंको पालिकाको अवस्था कस्तो छ ? बेरुजु कति छ ? 


यो पालिकामा बेरुजुको अवस्था हेृर्दा ०.४ प्रतिशत छ । यो प्रदेशमै हाम्रो सबैभन्दा कम हो । यो पालिकामा हामीले मितव्ययीता कायम गरेका छौँ । कानुन र आर्थिक ऐनमा टेकेर काम गर्दै आएका छौँ । हामीबाट केही कमजोरी हुन सक्छ तर सच्याउँदै अघि बढ्ने काम गर्दै आएका छौँ । हरेक महिना कर्मचारी, शिक्षक, वडासचिवसँग छलफल गरेर समस्या समाधान गर्ने, मितव्ययीता कायम गर्ने गरेका छौँ । त्यसले गर्दा महालेखा परीक्षकको प्रतिवेदनले अहिलेसम्म राम्रो रिपोर्ट देखाएको छ । 

 

अन्त्यमा, कार्यकालको अन्तिम वर्षमा तपाईंले प्राथमिकता दिनुभएका योजना के–के हुन् ?


स्थानीय किसानका लागि प्रत्येक किसानलाई सिँचाइ गर्न विद्युतीकरण गर्ने, सबै शुल्क पालिकाले बेहोर्ने, दलित वस्तीलाई आर्थिक सहयोग गर्ने योजना बनाएका छौँ । पालिकाको विद्यालयमा रहेका विद्यार्थीको समस्या समाधान गर्ने, त्यसका लागि छलफल गरेर शिक्षामा कुनै पनि समस्या निम्तिन नदिने योजना बनाएका छौँ । बर्थिङ सेन्टरमा ल्याब सञ्चालन गर्ने हाम्रो योजना छ ।