close

'बालबालिकामाथि खर्च होइन लगानी गर्नुपर्छ’

'बालबालिकामाथि खर्च होइन लगानी गर्नुपर्छ’

Trulli
ADVERTISEMENT

डाेटी - बोगटान फुड्सिल गाउँपालिका-१ मा खेमबहादुर घर्तीमगर निर्वाचित भएसँगै स्थानीयले वडाध्यक्षमात्रै पाएनन् । कृषिकाे समस्या समाधानकाे लागि अभिभावकसमेत पाए । नेकपा एमालेबाट निर्वाचित भएका उनी  आफ्नाे कार्य अवधिप्रति एकदमै सन्तुष्ट भएकाे महसुस गर्छन् । अरु वडाभन्दा आफ्नो वडा उत्कृष्ट बनाउन लागिपरेका उनी कृषकका स-साना समस्यालाई नजिकबाटै केलाएका छन् । कृषिमा आफ्नाे वडालाई आत्मनिर्भरसँगै उत्पादित सामग्रीलाई बजार लैजान कृषि एम्बुलेन्स ल्याउने सोचमा  छन् । उनै वडाध्यक्षसँग पालिकाखबरकर्मी पार्वती साउदले गरेकाे कुराकानीकाे सम्पादित अंश :

तपाई निर्वाचित भएर जिम्मेवारी सम्हालेपछि आफूले सम्पादन गरेको कामका आधारमा कतिको सन्तुष्ट हुनुहुन्छ ?
आफ्नाे कामप्रति सन्तुष्ट नै छु । स्थानीय सरकार भएकाले प्रत्यक्ष रुपमा जनतालाई सेवा दिन पाएको छु । हरेक दुःखसुखमा मर्दाको मलामी जिउँदाको जन्ती हुन पाएर सहयोग गर्न पाएको छु । जनतासँग निकै घुलमिल भएर काम गरिरहेको छु । आफू निर्वाचित भएर जनताको घरदैलोसम्म पुगेर समस्या बुझी समस्याको समाधान गरिरहँदा आफ्नो कामप्रति म सन्तुष्टि नै छु ।

तपाई सबैभन्दा नजिकैको सरकार प्रमुख हुनुहुन्छ । तपाईले के-कस्ता कार्यक्रमलाई प्राथमिता दिनुभएको छ ?
मैले जनतासँग एकदमै पारदर्शी भएर काम गरिरहेको छु  । सार्वजनिक सुनुवाइका कुरालाई पहिलो प्राथमिकतामा राखेको छु भने, दोस्रो कुरा बालबालिकाहरुमा स्थानीय बालमैत्री, स्थानीय शासन लागू गर्नुपर्छ भनेर 'बालबालिकामाथि खर्च होइन लगानी' गर्नुपर्छ भन्ने तरिकाले बालबालिकाहरुलाई लगानी गर्दैछौँ । आफ्नो वडा सबैभन्दा उत्कृष्ट बन्नुपर्छ भनेर 'जेष्ठ नागरिकसंग वडाअध्यक्ष कार्यक्रम' राखेर जेष्ठ नागरिकलाई औषधि गर्ने, बालबालिकासंग बसेर भविष्यमा के बन्ने कलाकार, डाक्टर, इन्जिनियर, राजनीतिज्ञ बन्न सकिन्छ कि भनेर 'बालबालिकासंग वडाअध्यक्ष' बहस कार्यक्रम राखेर सञ्चालन गर्ने योजनामा छु ।

किसानको जीवनस्तर उकास्नका लागि कस्ता नीति, कार्यक्रमलाई अगाडि सार्नुभएको छ ?
किसानको आयस्तर वृद्धिका लागि गाउँपालिकामा कार्यपालिका मिटिङमा कुरा उठाका छौँ । कृषकका लागि केही राहत दिनको लागि अनुदानको व्यवस्था गर्नुपर्ने कुरा जस्तै, किसानका लागि विमा गर्ने काम पनि गर्छौ  । गाउँबस्ती नजिकै जङ्गल भएकोले जङ्गली जनावरले कृषककाे उत्पादित बाली खाने, नष्ट गर्ने,  अतिवृष्टी, अनावृष्टीले नोक्सान रोक्नलाई स्थानीय सरकार छ है भन्ने अनुभूती बनाउन कृषि विमाको कार्यविधि बनाएर पास गराएर चाँडै लागू गर्ने छौँ ।

उत्पादनका लागि कुन-कुन क्षेत्रमा के-के उत्पादन गर्नुभएको छ ?  पकेट क्षेत्रजस्ता केही कार्यक्रम पनि छन कि ?
हाम्रो डोटी जिल्ला सिमचौर वडा भौगोलिक क्षेत्रले लेक तथा बेशी भएको क्षेत्र हो । लेक तिर ओखर, खेती र अलैँची खेती गर्ने भन्ने कुरा गरेका छौँ  ।  यहाँ सुन्तला असाध्यै फल्छ । सुन्तला खेती गर्नका लागि सुन्तला सुपरजोन कार्यक्रम राखेका छौँ । त्यसैगरी यहाँ लोकल मौरीको मह पाइने भएकोले महलाई बजारीकरण गर्नुपर्छ भन्ने लागेर यहाँका सहकारी संस्थासंग पनि प्रस्ताव माग गरेका छौँ । अदुवा धेरै फल्ने भएकोले यसलाई व्यवसाय रुपमा कसरी लगाउन सकिन्छ ? साेबारे जानकारी लिँदै आएका छन् । एकजना कृषकले १० क्विन्टल फलाएमा १ केजीमा ५ रुपैयाँ अनुदान दिने कार्यविधि लागु गरेका छौँ ।

किसानका सहजताका लागि सुन्तला उत्पादन र ओखर उत्पादनमा ७ वटा सुपर जोन, अदुवामा 'एक वडा एक पकेट' क्षेत्र छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत् डोटी जिल्लाको बोकटान फुड्सिल गाउँपालिकामा कार्यक्रम लागू भएकोले सुन्तलामा लाग्ने विभिन्न किसिमका रोगहरुको निराकरणका लागि औषधि वितरण, तालिम दिने, बोटविरुवा वितरण गर्ने र साना सिँचाईअन्तर्गत खडेरी परेका बेला आवश्यक पर्ने पोखरी निमार्णका काम पनि लागू गरेका छौँ।

सहुलियत र अनुदानबाहेक के-के कार्यक्रमहरु अगाडि सार्नुभएको छ ?
किसानहरुलाई मानसिक रुपमा तयार बनाउनका लागि नगदेबालीमा जोड दिनुपर्छ है भनेर एउटा कोल्ड स्टोरको निमार्णका लागि बजेटको व्यवस्था गरेका छौँ । सडकको पहुँच भएकोले सुन्तलाका लागि  अफसिजनका फलफूललाई बजारीकरण गर्ने त्यसको जिम्मा स्थानीय सरकारले लिने वा सहकारीसंस्थाले लिने यसरी नै काम थालेका छौँ ।

कृषि उपजको बजारीकरणका लागि के-के गर्नुभएको छ ?
कृषि उपजका लागि तरकारी एम्बुलेन्स नै भनेर एउटा गाडी खरिद गर्ने कुरा गाउँपालिकाकाे कृषि शाखासँग बहस चलाएका छौँ । त्यसका लागि बजेटको व्यवस्था तुरुन्त लागू गर्नुपर्छ भनेर लागिरहेका छौँ । र, किसानले उत्पादन गरेका विभिन्न किसिमका तरकारीहरु बजारीकरण गर्नका लागि गाडीभाडा महङ्गो हुने भएकोले कृषि एम्बुलेन्स ल्याउने सोच छ । कार्यविधि पास हुने बित्तिकै हाम्रो काम शुरु गर्ने  छौँ ।

तपाईले एक वर्ष किसानको नजिक भएर काम गरिसक्नुभएको छ । पालिकाको कृषि कार्यक्रमबाट किसानहरु कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
किसानहरु सन्तुष्ट नै हुनुहुन्छ । पहिले गाडीको व्यवस्था राम्रो नभएको कारणले उत्पादित वस्तुहरु बजारीकरणको अभावले कुहिएर खेर जान्थे । अहिले बोक्टान सकडखण्ड सुचारु भएसकेपछि साँझ तरकारी सङ्कलन गरेर बिहान ताजा तरकारी धनगढी, अत्तरियासम्म सजिलै गरी पुर्‍याउँछौँ।