close

विकास मात्रै देख्छन् दृष्टिविहीन वडाध्यक्ष 

विकास मात्रै देख्छन् दृष्टिविहीन वडाध्यक्ष 

Trulli
ADVERTISEMENT

सुनसरी- इटहरी उपमहानगरपालिका– ४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराई लामो समयदेखि दृष्टिविहीन छन् । तर, दृष्टिविहीन भएपनि भट्टराई दृष्टि भएका जनप्रतिनिधिभन्दा बढी जनताका काममा सक्रिय हुँदै आएका छन् ।

०६२÷६३ को जनआन्दोलनमा इटहरीबाट नेतृत्व गरेका भट्टराई हाल वडाको नेतृत्व गर्ने तहमा छन् । 

दृष्टिविहीनका कारण पार्टी नेताहरूबाटै अपमानित हुनु परेको उनको गुनासो छ । २०६४ देखि विस्तारै आँखाधमिलो देख्न थालेको बताउने उनी २ वर्षपछि भने पूर्णरूपमा दृष्टिविहीन बनेका हुन् । 

नेपाल लगायत भारतका विभिन्न अस्पतालमा उपचार गराउँदासमेत निको नभएपछि जनताको सेवामा खटिने प्रतिबद्धता सहित वडाको नेतृत्व लिने आँट पलाएको उनको भनाइ छ ।

‘दृष्टिविहीन भएपछि कहिले आफैंले सुन्ने गरी त कहिले पछाडिबाट शारीरिक कमजोरीप्रति पार्टीभित्रैका साथीहरूले गिज्याउँथे । तर मलाई कुनै लघुताभाष भएन । बरु साथीहरू म भन्दा अझै कमजोर रहेछन् भन्ने लाग्यो । यसले गर्दा मलाई जनताका काममा खट्न ऊर्जा मिलिरहेको छ,’ उनी भन्छन् ।

पार्टीको नगर समितिको निर्वाचनका बेला दृष्टिविहीनलाई पार्टी जिम्मा लगाउन नहुने आवाजपनि उठाइएको विगत सम्झिन्, उनी । पछि वडाध्यक्षको टिकट पाउने बेलामा पनि आँखा नदेख्नेले कसरी वडा चलाउँछ ? पार्टीले चुनाव हार्नेलाई टिकट दियो भन्दै हल्ला फैलाइएको उनले गुनासो गरे ।

‘सुरुमा पार्टीभित्र मेरो विरोध गर्नेहरू अहिले प्रशंसा गर्दै हिँडेको सुन्न थालेको छु । वडाध्यक्ष निर्वाचित भएपछिको ३ वर्षे कार्यकालमा धेरै चुनौती सामना गरियो’, वडाध्यक्ष भट्टराई भन्छन् ।

उपमहानगरभित्र जनसंख्याको हिसाबले इटहरीको सबैभन्दा ठूलो वडा नम्बर ४ हो । मुख्य बजारकै वडा भएपनि सबैतिर पूर्वाधार पुग्न नसकेको भट्टराई स्वीकार्छन् ।

वडाध्यक्षको जिम्मेवारी पाएपछि ३ वर्षभित्रै बाटो र बत्तीको समस्या समाधान गर्न सफल भएकामा उनी सन्तुष्ट छन्् ।  डुबान र कटानको दीर्घकालीन समाधानका लागि पनि धेरै काम गरेको भट्टराईको दाबी छ ।

कार्यालयमा वडाध्यक्ष भट्टराईलाई वडा सदस्य डिभी राईले डो¥याउनेदेखि लिएर निवेदनमा हस्ताक्षर गर्नेसम्म सहयोग गरिरहेका छन् । वडाध्यक्षको सारथि बनेका राईका निम्ति योे दैनिकी नै बनेको छ ।

वडा सदस्यहरूको सहयोग रहे पनि राईको साथले काममा झनै ऊर्जा थपिदिएको अनुभव सुनाउँछन्, भट्टराई । वडासदस्य राईले वडास्तरीय अनुगमनदेखि कार्यालयमा समेत सहयोग पु¥याउने गरेका छन् । अरूले पढेको कुरा सुनेर र युट्युबमार्फत अध्ययनको दायरा फराकिलो पार्दै लगेको भट्टराई बताउँछन् ।  

विकास निर्माणमा आवश्यकतालाई बढी प्राथमिकता दिनुपर्ने तर्क राख्दै आएका वडाध्यक्ष भट्टराई भन्छन्, ‘एकातिर बाटो हिलो भइरहेको छ तर अर्कोतिर पार्कको योजना बनाउन थालियो भने त्यो अल्पज्ञान हो । त्यहाँको आवश्यकता बाटो भएकाले त्यसलाई पूरा गरेपछि मात्र पार्कतिर ध्यान दिनुपर्छ’, भट्टराई भन्छन् ।

इटहरी बीचबजार भएर बग्ने टेंग्रा खोलामा सिटी बोटिङ चलाउने आफ्नो  प्रस्तावलाई सुरुमा धेरैले पागल भनेर उडाएको उनले स्मरण गरे । तर, अहिले सोही योजनामा चिनियाँ कम्पनी लगायत स्थानीय युवाले लगानी गर्ने गरी काम सुरु भइसकेको भट्टराईले जानकारी दिए । 

आधुनिक तटबन्ध गरी दुवैतिर पार्क निर्माण गरिने उक्त योजनाले पूर्णता पाएपछि इटहरी सहरको नयाँ पहिचान विकास हुने दाबी उनले गरे । खोला आसपास बिरुवा तथा फलफूल रोप्ने र जनताका लागि ‘मर्निङ वाक’गर्न मिल्ने सुविधासहितको बाटो बनाउने योजना अगाडि बढाएको उनले दाबी गरे ।

वडा नम्बर ४ लाई आगामी २ वर्षभित्र सबैभन्दा धेरै स्वरोजगार युवा भएको वडा बनाउने योजना भट्टराईले बुनेका छन् । त्यसका लागि क्रिस्टलका गहना बनाउने तालिमबाट काम सुरु भएको छ ।

यस्ता तालिमले हरेक युवा, महिला, गृहिणी, ज्येष्ठ नागरिक सबैलाई आर्थिक हिसाबमा जोड्न सकिने उनको बुझाइ छ । वडाध्यक्ष भट्टराईका अब कौसी खेतीदेखि सार्वजनिक जग्गा लिजमा दिएर युवा उद्यमशीलता विकास गर्नेसम्मका योजना छन् ।