close

अस्पताल बनाउन पैसा दिन्छन्, मजदुरका लागि रिक्सा किन्छन्

अस्पताल बनाउन पैसा दिन्छन्, मजदुरका लागि रिक्सा किन्छन्

Trulli
ADVERTISEMENT

नवलपरासी– जनताले आशा, विश्वास र भरोसा गरेर निर्वाचित गरेर पठाएका प्रतिनिधिहरूले जनविश्वासचाहिँ गुमाउँदै गएका बेला केही जनप्रतिनिधि भने भिन्न देखिएका छन् ।

 

नवलपरासीको सुनवल नगरपालिकाका नगरप्रमुख भीमबहादुर थापा (भरत) यस्तै उदाहरणीय जनप्रतिनिधि बनेका छन् । उनले आफूले पाउने सम्पूर्ण सुविधा नगर र नगरवासीका लागि खर्च गरेका छन् ।


उनका १० वटाभन्दा बढी उद्योग छन् । २०६६ सालमा कांग्रेसको सक्रिय राजनीतिमा आउनूपूर्व उनले सफल व्यवसायीको परिचय बनाइसकेका थिए ।

 

२०४८ सालमा नेविसंघबाट राजनीतिबाट सुरु गरेका थापाका टायर, मैदा, इँटा, रबर, पेट्रोल पम्पलगायतका उद्योग छन् । अहिले उनी आफूले पाउने तलब भत्ता सामाजिक कार्यमा खर्चिने ‘जनप्रतिनिधि’का रूपमा चर्चामा छन् ।


उद्योग वाणिज्य संघ नवलपरासीका पूर्वअध्यक्षसमेत रहेका थापा अहिले उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत हुन् । उनी आर्थिक वर्ष २०७५/२०७६ मा धेरै कर तिर्ने उत्कृष्ट करदाताबाट सम्मानितसमेत भएका थिए ।


राज्यको नीति निर्माण तहमा उद्योगी व्यवसायीको प्रतिनिधित्व नभएसम्म आर्थिक एजेण्डाले स्थान नपाउने र विकासका कामले समेत गति नलिने हुँदा आर्थिक समृद्धिका लागि व्यवसायीहरू राजनीतिमा लाग्नुपर्ने धारणा राख्छन् उनी । यही विचारले नै उनलाई एक सफल व्यवसायीदेखि नगरको नेतृत्वसम्म पु¥याउन सहयोग गरेको हो ।


उनले निर्वाचनकै बेला आफूलाई मत दिएर विजयी बनाए आफूले पाउने तलब भत्ता सामाजिक कार्यमा लगाउने बाचा मतदातासँग गरेका थिए ।


उनले तलब भत्ताबापत  चालू आर्थिक वर्षसम्मको १७ लाख ९० हजार रुपैयाँ बुझिसकेका छन् । त्यो रकममध्ये आठ लाख २१ हजार रुपैयाँ सुनवल स्वास्थ्य चौकी र ज्येष्ठ नागरिक तीर्थयात्रालाई एक लाख रुपैयाँ खर्चेका छन् । उनले विपन्न मजदुरलाई रिक्सा खरिद, काज किरिया खर्च र मिर्गाैला उपचारका बिरामीलाई समेत सहयोग गर्दै आएका छन् ।


उनले जनप्रतिनिधिको तलबलाई अदालतले अवैध ठहर गरेपछि रोकिएको ९ महिनाको रकम लिन पाइने व्यवस्थासँगै आफूले लिन मिल्ने सात लाख ९३ हजार रुपैयाँ नगरपालिकाको कोषमा र  एक लाख तीन हजार रुपैयाँ नगरपालिकाको कोभिड कोषमा जम्मा गरेको बताए ।


असोजमा पनि एक लाख ६६ हजार रुपैयाँ नगरपालिकाको कोषमा जम्मा गरेको नगरप्रमुख थापाले जानकारी दिए ।


नगरप्रमुख थापा आफ्नो प्रमुख एजेन्डा आर्थिक समृद्धि भएको बताउँछन् । समृद्धिका लागि नगरको कृषि र पर्यटनको विकास गर्न आफू लागिपरेको उनको भनाइ छ ।


ऐतिहासिक पर्यटकीय क्षेत्र महलपोखरी र देवदह तालको विकासदेखि दीर्घकालीन योजनासहितका आफू नगरको विकासमा लागेको उनले बताए । नेपालमै पहिलो बालमैत्री नगर घोषणा भएको सुनवललाई महिलामैत्री बनाउने उनको संकल्प छ ।


‘बालमैत्री नगरको इतिहास हामीले रचेका छौँ, अब महिलाहरूलाई सफल उद्यमी बनाएर महिलाको क्षेत्रमा फड्को मार्ने तयारी छ’, उनले भने ।