close

संक्रमित बोक्दै मानेभञ्ज्याङका जनप्रतिनिधिको गाडी

संक्रमित बोक्दै मानेभञ्ज्याङका जनप्रतिनिधिको गाडी

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडी कोरोना संक्रमितको सेवामा प्रयोग गरिने भएको छ ।

 

गाउँपालिकाका २ वटा चारपांग्रे गाडीमध्ये प्रदेश ३-०१-००२-झ ४७३८ नम्बरको एउटा गाडी कोरोना संक्रमण भएका जटिल बिरामी बोक्न प्रयोग गरिने भएको हो ।

 

मंगलबार बसेको गाउँ कार्यपालिका बैठकबाट अध्यक्ष मोतीराज राई र उपाध्यक्ष सविता राईले प्रयोग गर्दै आएको एउटा गाडी कोरोनाका बिरामीको सेवामा प्रयोग गर्ने निर्णय भएको छ । 

 

कोरोना संक्रमणका बेला भाडामा समेत गाडी र एम्बुलेन्स नपाउने अवस्था सिर्जना भइरहेको अवस्थामा गाउँपालिकाले यस्तो निर्णय गरेपछि स्थानीयलाई राहत मिलेको छ ।

 

‘संक्रमित दिनहुँ बढिरहेको अवस्थामा बिरामीलाई सहज होस् भनेर एउटा गाडी संक्रमितको सेवामा खटाउने निर्णय गरेका हौँ,’ गाउँपालिका उपाध्यक्ष सविता राई भन्छिन्, ‘हामीले गाडीलाई बिरामी बोक्न तयारी अवस्थामा राख्नेछौँ ।’

 

मानेभञ्ज्याङ गाउँपालिकामा ६५ जना सक्रिय संक्रमित छन् । उनीहरू हाल घरैमा रहेकाले समस्या आउनासाथ अस्पताल पठाउन गाडी व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।