close

‘विकासतिर लम्किँदै छ भूमे’

‘विकासतिर लम्किँदै छ भूमे’

Trulli
ADVERTISEMENT

मनकुमारी बुढा (विष्ट)
उपाध्यक्ष, भूमे गाउँपालिका, रुकुम पूर्व

 

निर्माण भएका कानुनमा टेकेर क्रमिक रूपमा विकासका काम अगाडि बढाएका छौँ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत्लगायत क्षेत्रमा काम भइरहेका छन् । 


भूमेमा पर्यटकलाई भित्र्याएर मनग्ये आयआर्जन गर्न सकिने सम्भावना छ । त्यसैले पर्यटकीय क्षेत्रलाई पहिचान गरी विकासका कार्यमा छौँ । गत आर्थिक वर्षमा थवाङ खोला नाम दिइएको दोमई ठाउँमा एक मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न पूर्वसम्भाव्यता अध्ययन गरिएकोले अब डीपीआर गरेर कामलाई अगाडि बढाइदै छ । 


कृषकलाई आत्मनिर्भर बनाउन एकीकृत मारिङ कृषि अनुसन्धान केन्द्र स्थापना गरिएको छ । बजारमा खाद्यान्न बिक्रीवितरणमा अनियमिता भइरहेको गुनासा धेरै आए । कृषकको उत्पादनलाई बजारीकरण र सन्तुलित मूल्यमा खाद्यान्न उपभोक्ताको पहँुचमा पु¥याउन मारिङ बहुउद्देशीय सहकारी संस्थामार्फत काम भइरहेको छ । तत्काललाई गाउँपालिकाभरिबाट वडा नम्बर–२ खाबाङ बगर र वडा नम्बर–९ चुनबाङबाट कृषि संकलन केन्द्रमार्फत कृषि उत्पादनलाई पालिकाले खरिद गरिदिने व्यवस्था गरिँदै छ । 


‘सफा, हरियाली, समृद्ध भूमे’ भन्ने नारा अपनाएर सरसफाइसँगै करिडोर योजनालाई पनि अगाडि बढाएका छौँ । वृक्षरोपणका लागि बजेट विनियोजन गरी काम गरिराखेका छौँ । फलफूल तथा अन्य बिरुवा खरिद गरी कृषकलाई वितरण गर्ने गरिरहेका छौँ । 


नांगो वनपाखामा सल्लो, धुपी, देयर, ओखरलगायत बोटबिरुवा लगाएका छौँ । फलफूलमा केरा, सुन्तला, कागती, स्याउ, नास्पतिलगायत बिरुवा रोपेका छाँै । मध्यपहाडी लोकमार्गको वरिपरि फलफूल हुने भूभाग रहेकोले फ्रुट करिडोर निर्माण कामलाई पनि अगाडि बढाएका छौँ । फलफूल मार्गको रूपमा पर्यटकीय स्थल बनाउने र मुख्य सडक भएकाले उत्पादित फलफूल सजिलै बजार लग्न सकिनेछ । 


नेपाल सरकारको पूर्ण सरसफाइ रणनीतिलाई मनन गर्दै ‘ग्रिन भूमे, क्लिन भूमे’ र ‘फ्रुट करिडोर, ग्रिन करिडोर’ योजनालाई अगाडि बढाइएको हो । ‘ग्रिन भूमे, क्लिन भूमे’ योजनाको सुरुवातमा नागरिकलाई सरसफाइप्रति आकर्षित गर्न पाँच किलो हरियो रङ निःशुल्क बाँड्यौँ । यस योजनाले बस्ती–बस्तीमा पूर्णता पाइराखेको छ । एक घरकाले घरआँगन लिपपोत गरेर रङरोगन गरेको देखेर अरूलाई पनि सरसफाइ गर्नुपर्ने रहेछ भने लाग्ने रहेछ । 


संवैधानिक व्यवस्थाअनुसार यस गाउँपालिकामा मेरो संयोजकत्वमा गाउँसभा सदस्यद्वय रूपधन कामी र नवीन्द्र पुन सदस्य रहेको न्यायिक समिति क्रियाशील छ । त्यसै गरी वडा–वडामा वडा अध्यक्षको संयोजकत्वमा न्यायिक समिति रहेको छ । कुनै घटना भएमा त्यसबारे राम्ररी बुझेर विवाद निरूपण गर्ने काम गरिन्छ । कम खर्चिलो, कम झन्झटिलो तवरले मेलमिलाप प्रक्रियाबाट समाधान गर्ने÷गराउने गरेका छौँ । गाउँपालिकाको न्यायिक समितिमा विभिन्न प्रकारका उजुरी आउने गरेका छन् । विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गरी निरूपण गर्दै आएका छौँ । 


महिला र फरक क्षमता भएकाहरूका लागि बजेट छुट्याएका छौँ । महिला सशक्तीकरणका लागि क्षमता विकास तालिम र आयआर्जन हुने खालका पालिका स्तरीय महिला बालबालिका विकास तथा ज्येष्ठ नागरिक इकाईले तालिम दिइराखेका छन् । द्वन्द्वपीडित र अति गरिब परिवारका लागि ३० लाख रुपैयाँको सेयर पुँजी लगानी गरिदिएका छौँ । भूमे गाउँपालिका विकासका बाटोमा लम्किँदै छ ।