close

‘अधिकांश चुनावी प्रतिवद्धता पूरा भए’ 

‘अधिकांश चुनावी प्रतिवद्धता पूरा भए’ 

Trulli
ADVERTISEMENT

खड्गबहादुर खत्री, नगरप्रमुख
कमलामाई नगरपालिका, सिन्धुली 

 

स्थानीय सरकारको जिम्मेवारी सम्हालेको चार वर्ष पूरा भयो। निर्वाचनमा जनतामाझ गरिएका अधिकांश प्रतिवद्धता पूरा गरेका छौं। नयाँ कार्यहरू पनि गरेका छौं। समग्रमा हामीले आफ्नो स्रोत र साधनले भ्याएसम्मका सबै कार्य गरेका छौं।

 

हरेक कार्य गर्दा बाधाव्यवधान र अप्ठ्याराहरू आइपर्ने रहेछन्। तिनलाई समाधान गर्न हामी सबै निर्वाचित जनप्रतिनिधि मन वचनले लाग्यौं। सबैकोे साथ सहयोगले सजिलै पार लगायौं।

 

सर्वप्रथम त कानुनी जटिलता बढी थिए। अन्योल पनि थुप्रै थिए। तीन तहमध्ये पहिला स्थानीय सरकार बनेका कारण थुप्रै जटिलता सिर्जना भए। जनतामा अपेक्षा बढी भए पनि स्रोतसाधन कम भएकाले काम गर्नै कठिन भयो। मागहरूको सम्बोधन कम हुनु, विकास निर्माण जनसहभागितामा वादविवाद सिर्जना हुनु, तुरुन्तै प्रतिफल प्राप्त हुने योजनामा बजेटको माग हुनुले पनि काममा सहज हुन सकेन। नेपालको संविधानले परिकल्पना गरेअनुसार स्थानीय सरकारले स्थानीय तहमा आयोजना कार्यक्रम सञ्चालन गर्न पर्याप्त बजेटको व्यवस्था नहुनाले धेरै चुनौति सामना गर्नुपर्‍यो।

 

हालसम्म करिब पौने पाँच अर्बबराबरको बजेट कार्यान्वयन गरेका छौं। यस चालु आवमा मात्र एक अर्ब ११ करोडबराबरको बजेट कार्यान्वयन तहमा जाँदैछ। प्रशासनिक खर्च र सशर्त अनुदानबाहेक खुद वितरण गर्न पाउने बजेट सीमित छ। त्यसलाई पनि सही ढंगले वितरण गरेका छौं। संघीय सरकार, प्रदेश सरकार र अन्य निकायबाट पनि बजेट प्राप्त भएको छ। ती आयोजना सञ्चालन भएका छन्।

 

सिन्धुलीगढीको पुनस्निर्माणलाई नगर गौरवको आयोजनाको रूपमा लिएका  छौँ । नेपाली सेनाको सहकार्यमा युद्ध संग्रहालयको निर्माण बागमती प्रदेश र संघीय सरकारको पहलमा रानी दरबार बन्दैछ। सिन्धुलीगढीमा राष्ट्रको ध्यान केन्द्रित भएको छ। सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन भएका छन्। विकासका आयोजनामा स्थानीय सहभागिताको खोजी गरिएको छ। निस्शुल्क मजदुर स्वास्थ्य बिमा कार्यक्रम, बसपार्क र सिटीहल निर्माण, नगरपालिका अगाडिको पुष्पलाल–बीपी पार्क, नमुना आवासीय विद्यालय सञ्चालन, प्रायस् सबै आयोजनाको डीपीआर, दरबन्दीविहीन विद्यालयमा नगर अनुदान दरबन्दी आदि काम भए। विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयको सहकार्यमा शिक्षक तालिम, सबै वडामा एम्बुलेन्ससहितको स्वास्थ्य संस्था स्थापना, खर र परालको छाना अन्त्य कार्यक्रमअन्तर्गत गरिब घरपरिवारलाई जस्तापाता वितरण कार्यक्रम, नगरका सबै वडामा विद्युतीकरण, नगर युवा स्वरोजगार आदि कार्यहरू सम्झनलायक छन्।

 

कमला नदी कटान तथा नियन्त्रण गर्न अत्याधिक बजेट खर्च हुन्छ। सामान्य छेकबारका लागि ठाउँ–ठाउँमा तारजाली बाहेक केही गर्न सकेका छैनौं। तसर्थ यसको विस्तृत गुरुयोजना तयार पारी भर्खरै राष्ट्रिय योजना आयोगमा अपाध्यक्ष डा। विश्वनाथ पौडेलसँग कमला नदी नियन्त्रण गरी दुवै किनारामा करिडोर निर्माणका लागि बजेट माग गरेका छौं। यस नगरक्षेत्रमा पनि चुरे सुरक्षाका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू गरिएको छ। साथै जथाभावी चुरे दोहन नियन्त्रण, वृक्षारोपण कार्यक्रम, तटबन्धन कार्यक्रम आदि सञ्चालन गरेका छौं।

 


सिन्धुलीगढी देशकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न कार्यहरू गरेका छौं। भद्रकाली मन्दिर संरक्षण, भद्रकाली होमस्टे, कमलामाई मन्दिर संरक्षण, कमलामाई पिकनिक स्पट, १० नम्बर वडाको दोभानमा ट्रि हाउससहितको पिकनिक स्पट निर्माणका कार्य भइरहेका छन्।

 

आदिवासी जनजाति संग्रहालय निर्माणका लागि बजेट विनियोजन गरेका छौं। जनजाती विद्यार्थीका लागि लोकसेवा तयारी कक्षा, आदिवासी जनजाति लक्षित विभिन्न कार्यक्रम गरी जीवनस्तर उकास्ने कार्यक्रम सञ्चालन लगायतका कार्यक्रम सञ्चालन गरिएको छ।

 

एक वडा एक कृषि प्राविधिक भर्ना गरी कृषकलाई घरघरमै सेवा पुर्‍याइएको छ। अनुदानमा आधारित कृषि मल, बिउबिजन, औषधि, पशुबिमा, नश्ल सुधार, निस्शुल्क गाई र बाख्रा वितरण गरिएको छ। पहिला निर्वाचित हुँदा बखत एक टन तरकारी उत्पादन हुने यस नगरपालिकामा हाल चार टन तरकारी उत्पादन गरिएको छ। अब तरकारीमा आत्मनिर्भर हुने तरखरमा छौं भने निकट भविष्यमा दूध, मासु र च्याउमा आत्मनिर्भर बन्दैछौं।

 

कोभिड संक्रमणको सुरुमै देशमै अभाव भयो तर यहाँ समयमै पीपीई सेटको व्यवस्था गर्‍यौं। अस्पतालमा कोभिडमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था गर्‍यौं। गरिबीको रेखामुनि रहेका नागरिकलाई  निशुल्क  खाद्यान्न वितरण गर्‍यौं। कोभिड अस्पताल निर्माणमा नगरको जग्गा प्रदान गर्नेदेखि नगरको प्राविधिकले हिजाइन तयार पार्ने प्राविधिक सहयोग, निर्माण सामग्री सहयोगदेखि रकम व्यवस्था गर्‍यौं। स्वाब संकलन गरी निस्शुल्क परीक्षण गर्न, संक्रमित बोक्न निस्शुल्क एम्बुलेन्स, संक्रमितका शव व्यवस्थापन, मृतक परिवारलाई काजकिरिया खर्चवापत पन्ध्र हजार प्रदान गर्नेजस्ता काम भए।

 

चुनावी प्रतिवद्धता पूरा गर्न हामी सदैव लागिरहेका छौं। अधिकांश पूरा भएका पनि छन्। सदैव सुझाव, सल्लाह र साथसहयोग गरी सहकार्य गर्नु हुन हार्दिक अनुरोध गर्दछौं।