close

‘जनतासँग जोडिने काम गरिरहेका छौँ’

‘जनतासँग जोडिने काम गरिरहेका छौँ’

Trulli
ADVERTISEMENT

धीरज शर्मा बस्याल
नगरप्रमुख, बर्दघाट नगरपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) 

 

नगर प्रमुखका रूपमा नगरवासीको सेवा गर्नु मेरो एक मात्र उद्देश्य हो । निर्वाचित भएयता जनताका अपेक्षाअनुसार नै काम गरिरहेको छु । भौतिक पूर्वाधार, शिक्षा, औद्योगिक ग्राम, विकास निर्माणलगायत नगरपालिकाले गरेको प्रयासमा जनताको साथ छ । विकास निर्माणमा धेरै काम अघि बढेका छन् । 


नगरवासीलाई वडा कार्यालयबाट सर्वसुलभ सेवा दिन हामीले सबै वडाको आफ्नै भवन निर्माण गरेका छौँ । सुशासनको अनुभूति हुने गरी वडा कार्यालयबाट काम भइरहेका छन् । सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । नगरपालिकाबाट सेवा लिँदा कर्मचारीबाट दुःख दिने वा अतिरिक्त लाभ लिने कार्यलाई ‘जिरो टोलरेन्स’ गरेका छौँ । नगरवासीले जुनसुकै बेला जनप्रतिनिधिलाई भेटघाट गर्न सक्ने अवस्था छ । 


चार वर्षको अवधिमा एक सय किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । सडकको स्तरीकरण, वैकल्पिक मार्ग खोल्नेलगायत विकास निर्माणमा देखिने काम भएका छन् । दाउन्नेको पहाडमा खस्ने पहिरो र सवारीसाधन दुर्घटना हुँदा यातायात अवरोधका कारण जनताले भोग्नुपरेको सास्तीलाई कम गर्न लुम्बिनी र गण्डकी प्रदेश जोड्ने वैकल्पिक मार्गको ट्र्याक खोल्ने काम गरेका छौँ । 


बर्दघाटको हरेक वडामा स्वास्थ्यचौकी स्थापना गरिएका छन् । सिँचाइका लागि कुलो व्यवस्थित गर्ने, डिप र स्यालो ट्युबबेल निर्माण गरिरहेका छौँ । नगरपालिकाले चार वटा बजेट खर्च गर्दा जनताले चाहेका र अनुभूत गर्ने खालका विकास निर्माणका दर्जनौँ योजना सम्पन्न भएका छन् । अझै एउटा आर्थिक वर्षको बजेट बाँकी भएकाले नगरपालिकाले विकासका आधारहरू तयार गर्ने खालका योजनामा लगानी गर्ने तयारी गरेको छ । 


उत्पादनसँग नजोडिएसम्म जनताको जीवनस्तर नउकासिने र आर्थिक समृद्धि पनि हासिल नहुने भएकाले हामीले कृषकका लागि राहतका आकर्षक प्याकेज लागू गरेका छौँ । नगरपालिकाले कृषक र कृषि क्षेत्रका लागि लागू गरेका योजनाबाट कृषक साथीहरू खुशी भएका छन् । कृषकलाई परम्परागत खेती प्रणालीबाट आधुनिक र व्यावसायिक खेतीमा रूपान्तरण गर्न नगरपालिकाले विशेष पहल लिइरहेको छ ।

 

बेमौसमी खेतीप्रति कृषकलाई आकर्षित गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ । कृषि उपज भण्डारण गर्न शीत भण्डार निर्माण, कृषकले उत्पादन संकलन तथा बिक्रीका लागि कृषि बजार निर्माण गरेका छौँ । कृषकको आत्मबल बढाउन र उनीहरूलाई आइपर्ने अप्ठ्यारालाई सहजीकरण गर्न नगरपालिकाले निरन्तर काम गरिरहेको छ । मुख्य खाद्यान्न बालीको बीउमा ५० प्रतिशत र लहरे बालीमा शतप्रतिशत अनुदान दिने व्यवस्था मिलाएका छौँ । नगरपालिकाले कृषि क्षेत्रका लागि लिएका नीतिकै कारण कृषि पेशाबाट बाहिरिने क्रम रोकिएको छ । कृषि गर्न खोज्नेहरू बढेका छन् । नगरपालिकाको १२ र १३ वडालाई मकैको पकेट क्षेत्र र १४ र १५ वडालाई तरकारीको पकेट क्षेत्र बनाएका छौँ । 


नगरपालिकाको नीतिकै कारण सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्न थालेको छ । पूर्वप्राथमिक तहका विद्यार्थीलाई खाजा खाने व्यवस्था मिलाएपछि विद्यालय जाने विद्यार्थीको संख्या बढेको छ । हामीले लागू गरेको कार्यक्रमलाई संघीय सरकारले पनि अवलम्बन गरेको छ । संघीय सरकारले पनि कक्षा पाँचसम्म अध्ययन गर्ने विद्यार्थीका लागि खाजा उपलब्ध गराउने कार्यक्रम लागू गरेको छ ।

 

हामीले नेपालमै पहिलो पटक माध्यमिक तहमा पढ्ने विद्यार्थीका लागि म्याथ ल्याब स्थापना गरेका छौँ । गणित पढ्न गाह्रो हुने र धेरै विद्यार्थी एसईईमा फेल हुने गरेकाले सिकाइलाई सहज बनाउन म्याथ ल्याब स्थापना गरेका हौँ । यसले विद्यार्थीलाई म्याथको सिकाइ सहज बनाइरहेको छ । 


दश तले भ्यू टावर निर्माण, खेल मैदानको स्तरीकरण गर्ने, खुला व्यायामशाला बनाउने नगरपालिकाको योजना छ । यसै गरी बर्दघाटलाई संस्थागत सुत्केरी गराउने नगरपालिका घोषणा गर्ने अन्तिम तयारी गरिरहेका छौँ । जनतासँग जोडिने र जनताले पछिसम्म सम्झिने विकासका आधार तयार गर्नमा जोड दिइरहेका छौँ । जनतासँग जोडिने काम गरिरहेका छौँ ।