close

दाताले भरथेग गरे, संघले हेरेन

दाताले भरथेग गरे, संघले हेरेन

Trulli
ADVERTISEMENT

राजन मेहता
नगरप्रमुख, इनरुवा नगरपालिका, सुनसरी 

 

सुनसरी सदरमुकाम भएकाले इनरुवा नगरपालिकामा जनघनत्वको चाप छँदै छ । राजमार्ग पनि यहीबाट गएकाले आउजाउ गर्ने मान्छेको पनि भीड लाग्ने गर्छ । यसका बाबजुद कोरोना महामारी नियन्त्रणमा सक्दो पहल गरियो । मुख्यतया नगर क्षेत्रमा मानिसको आउजाउ रोकाएर कोरोना महामारी नियन्त्रणको प्रयास गर्‍यौँ । यसका लागि जनचेतना फैलाउने, टोलटोलमा जनप्रतिनिधिको समूह बनाएर समस्याको समाधान गर्ने काम भए ।


लकडाउन अवधिमा विपन्न र मजदुर वर्गलाई राहत बाँड्यौँ । बाहिरबाट आएका नगरबासीलाई राख्न १२ वटा वडामा क्वारेन्टाइन व्यवस्था गरियो । क्वारेन्टाइनमा राखिएकालाई १४ दिनसम्म खाने, बस्ने व्यवस्था हामीले गर्‍यौँ। १४ दिनसम्म पनि लक्षण नदेखिए मात्रै घर पठाउने व्यवस्था मिलायौँ । संक्रमित भएकालाई राख्न आइसोलेसनसमेत बनायौँ । ‘हामीले बाहिरबाट आएकालाई अनिवार्य क्वारेन्टाइन व्यवस्था गर्‍यौँ,’ उनले भने, ‘संक्रमितलाई राख्न आइसोलेसन बनायौँ । उनीहरूको हेरचाह, खाने सबै कुराको जिम्मेवारी नगरले लियो ।’ 


दोस्रो लहरमा ३० बेडको कोभिड अस्पताल निर्माण गर्‍यौँ। नगरपालिकाभित्र इनरुवा अस्पताल भएकाले त्यहाँका डाक्टर, नर्सलगायत जनशक्ति परिचालन गरियो । संघ सरकारले भ्याक्सिनमा ढिलाइ गरेकाले नगरबासीलाई आफैं किनेर लगाउन संघीय मन्त्रालयमा अनुमतिका लागिसमेत पत्र पठायौँ । ‘खोप आफंैले किनेर लगाउन हामीले अनुमतिका लागि पठायौँ,’ उनले भने, ‘संघले जवाफ दिएन ।’


संघीय सरकारले अहिलेसम्म केही सहयोग गरेन । अहिलेसम्म चिठ्ठी लेख्ने, पत्राचार गर्नेबाहेक संघको सहयोग हामीलाई भएन । ‘संघ र प्रदेश दुवैबाट केही सहयोग पाइएको छैन,’ उनले भने, ‘खाली चिठ्ठी, पत्राचार मात्रै गर्ने काम गर्छ । आर्थिक रूपले संकट छ ।’ दाताले नगरपालिकाका लागि धेरै आर्थिक सहयोग गरे । संघीय सरकारले अहिले ल्याएको बजेट स्थानीय सरकारलाई डुबाउने खालको छ ।


‘संघको बजेट स्थानीय सरकारलाई डुबाउने खाले छ,’ उनले भने, ‘कर्मचारीको तलब बढाइदिएको छ । दायित्व स्थानीय सरकारलाई बोकाएको छ । केहीले देलान् तर सबै स्थानीय सरकारले धान्न सक्ने अवस्था छैन । संघको नियत स्थानीय सरकारलाई ‘ग्रुम’ हुन नदिने छ ।’


नगरमा चार वर्षको अवधिमा थुप्रै काम भएका छन् । पूर्वाधार क्षेत्रमा करिब ३० किमि सडक निर्माण भइसकेको छ । स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बिमालगायत काम गरेका छौँ । कृषि क्षेत्रमा ‘एक गाउँ एक उत्पादन’ लाई मुख्य जोड दिइएको छ । कृषिमा आत्मनिर्भर बनाउन नगरपालिकाले अहिले बिउ, कृषि औजारलगायतमा अनुदान दिएको छ । माछापालन गर्नेलाई माछाका भुरा उपलब्ध गराएका छौँ । स्ट्रिट पार्क निर्माण गरेका छौँ । मुख्य सडकको दायाँबायाँ पूmल रोपेर सडकपेटीमा रंग लगाएर सहरी सौन्दर्य बढाएका छौँ ।

 

यो आर्थिक वर्षमा पनि नगरपालिकाले स्वास्थ्य र शिक्षामा प्राथमिकतामा दिएको छ । ‘हामीले यो आर्थिक वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई बढी बजेट दिएका छौँ,’ उनले भने, ‘सबै कुरा जनतालाई प्राथमिकता राखेर गरेका छौँ ।’