close

पराजयले सिकाएको पाठ :  आगामी चुनाव जित्न नागरिकका सपनाको वकालत गर्दै होम

पराजयले सिकाएको पाठ :  आगामी चुनाव जित्न नागरिकका सपनाको वकालत गर्दै होम

Trulli
ADVERTISEMENT

होम दुलाल

 

देउमाई नगरपालिका प्रमुख पदका उपविजेता होम दुलालले स्थानीय तहको निर्वाचनपछि इलाम बजारलाई कर्मथलो बनाउँदै आएका छन् । स्थानीय निर्वाचनमा नेपाली कांगे्रसबाट नगरप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सूर्यप्रसाद पोखरेलसँग पराजित भएका हुन् । 

 


रत्नचोक नजिकै आफ्नै  पुस्तक पसलमा भेटिने दुलाल ४२ वर्षको राजनीतिक यात्रामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो स्थानीय तहको निर्वाचनमा पराजय बेहोर्नु परे पनि थप ऊर्जा मिलेको सुनाउँछन् । राजनीतिक यात्राका क्रममा पञ्चायतकालीन समय दर्जन बढी पक्राउसँगै जेल जीवनसमेत भोगेका दुलालसँग आधा दर्जन झुटा मुद्दा खेपेको अनुभव छ । 

 


नेपाल विद्यार्थी संघको इलाम जिल्ला अध्यक्ष, नेपाल ट्रेड युनियन कांग्रेसको जिल्ला संस्थापक अध्यक्ष हुँदै विद्यार्थी कालमै राजनीतिमा होमिएका पार्टी संगठनका विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।  कांग्रेसको जिल्ला कार्यसमितिमा आमन्त्रित सदस्य रहेका दुलाल नगरप्रमुखमा बेहोरेको पराजयले पाठ सिकाएको बताउँछन् ।


‘मेरो सम्पूर्ण समय राजनीतिमा खर्चिरहेको छु । राजनीतिमा हारेका होइन । विजयको लाममा उभिएर सांगठनिक सुधार तथा क्रियाशील सदस्यता वितरणमा सक्रिय छु । नागरिकका सपनाको वकालत गरिरहेको छु’, दुलाल हौसिन्छन् । नीतिगत व्यवस्थापनमा केन्द्र सरकार चुकेकै कारण स्थानीय क्षेत्रका सबै काममा खाने मेलो लागेको उनको दाबी छ ।


अब हुने चुनावमा अहिलेका जनप्रतिनिधिबाट भएको काम गराइको हिसाबकिताब नागरिकले माग्ने भए पनि त्यतातिर ध्यान पुग्न नसकेको यथार्थ उनी सुनाउँछन् । ‘सिंहदरबारको शासन घरघरमा पुगे÷नपुगेको हिसाबकिताब नागरिकले खोज्ने छन्,’ दुलाल भन्छन् । 


आवधिक निर्वाचनका माध्यमबाट जनमतको परीक्षणद्वारा जनप्रतिनिधिको छनोट गर्ने र मतदाताप्रति तिनलाई उत्तरदायी बनाउने लोकतान्त्रिक विधिमा विश्वास गर्नेहरूका लागि विजय/पराजय स्वाभाविक हुने उनी ठान्छन् । बन्दुक चलाएर सत्ता कब्जा गर्ने माओवादीसमेत लोकतन्त्रमा समाहित भएकाले आपूmले हारे पनि सिद्धान्तको जिते भएको उनको तर्क छ । 


‘मेरो नगरपालिकामा मात्र होइन, अधिकांश स्थानीय सरकार अल्मलिएको देख्छु । स्थानीय सरकार लोक कल्याणकारीभन्दा पनि मुनाफाकारी हुन खोजेको देखियो । देउमाई सरकारको पनि यही चरित्र पाएको छु,’ दुलाल भन्छन् ।


समावेशी र पर्यावरणमैत्री विकास मात्र दिगो हुने भए पनि देउमाईलगायत कुनै पनि स्थानीय तहले यसतर्फ ध्यान पु¥याउन नसकेको उनको ठम्याइ छ । ‘देउमाई नगरपालिकामा उपलब्ध अपार सम्भावना अहिलेको सरकारले पहिचान गर्न सकेकै छैन । उपयुक्त भू–उपयोग नीति बनाएर सार्वजनिक/निजी साझेदारी नीतिका आधारमा व्यवस्थित बस्ती विकास गर्नुपर्छ ।  स्मार्ट नमुना नगर बनाउन चुरेदेखि उच्च पहाडी भू–भागसम्म रहेको नगरको भौगोलिक बनावटमा आधुनिक तथा व्यावसायिक कृषि, पशुपालन, जडीबुटीलगायतमा नगरपालिकाले ध्यानै दिएको छैन,’ दुलाल असन्तुष्ट सुनिन्छन् । नगरपालिकाभित्रका वडा, केन्द्र, बस्ती र उत्पादन क्षेत्र सबैलाई जोडेर सडक सन्जाल विस्तार गर्नुपर्ने उनको सुझाव छ । 


‘नगरको कार्यनीति नागरिकमैत्री र व्यावहारिक छैन । कर उत्पादनका साधनमा नभई उत्पादकत्व बढाएर उत्पादनमा लगाउने हो’, दुलाल नगरपालिकलाई सुझाव दिन्छन् । नगरवासीको चाहनाअनुसार निर्वाचित पदाधिकारीले काम नगरेकैले नागरिक  गुनासाका थैली भरिनै लागेको दुलाल  व्यंग्य गर्छन् ।


संघीय र प्रदेश सरकारले संघीयताको मर्मविपरीत संविधानले स्थानीय सरकारलाई प्रदान गरेको स्वायत्ततामा अनावश्यक हस्तक्षेप गरिरहेको दुलालको अनुभव बोल्छ ।