close

कृषि उत्पादनलाई विषादीमुक्त बनाउँदै छौँ 

कृषि उत्पादनलाई विषादीमुक्त बनाउँदै छौँ 

Trulli
ADVERTISEMENT

रमेशकुमार भुजेल, अध्यक्ष

बुद्धशान्ति गाउँपालिका, झापा


गाउँपालिकामा संक्रमण फैलिएपछि यसको नियन्त्रणमा लागिपरेका छौँ । गाउँपालिकाले अहिले १५ बेडको आइसोलेसन चलाइरहे पनि क्षमता भने २५ बेडको छ । संक्रमण घटाउन दैनिक परीक्षण गरिरहेका छौँ । ‘हामीले निरन्तर पिसिआर र एन्टिजेन परीक्षण गरिरहेका छौँ,’ उनले भने, ‘अहिलेसम्म ११५ जनालाई संक्रमणमुक्त बनाएर पठाइसकेको छौँ ।’ नगरले आफ्नै गाउँपालिकामा भएको भागिरथा बुद्ध शान्ति अस्पतालका डाक्टर, नर्सलाई परिचालन गरेर आइसोलेसनमा रहेका बिरामीको हेरचाह गरिरहेको छ । दोस्रो लहरमा जस्तो धेरै संक्रमित पहिलो लहरमा भएनन् । पहिलो लहरमा संक्रमण धेरै फैलिएन । गाउँपालिकाले बाहिरबाट आउने छिमेकी जिल्लाका मानिसलाई समेत आफ्नो क्वारेन्टाइनमा राखेका थियौँ ।

 

पहिलो लहरमा २०० बेडको क्वारेन्टाइन बनाए पनि दोस्रो लहरमा क्वारेन्टाइनलाई बन्द गरियो । गाउँपालिकाले संक्रमितलाई अस्पताल लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । कोभिड नियन्त्रणमा प्रदेशले १० लाख रुपैयाँ सहयोगबाहेक अन्य सहयोग दिएन । ‘अहिलेसम्म हामीले आफ्नै बजेट खर्च गरिरहेका छौँ,’ उनले भने, ‘सुरुमा प्रदेशले १० लाख रुपैयाँ पठाएको थियो । त्यसबाहेक हामीलाई प्रदेशको सहयोग पनि छैन । संघले केही सहयोग गरेको छैन ।’ जनताको कर रकम जनतामै सेवा पुर्‍याउने भनेर नगरले कोभिडका बिरामीलाई निःशुल्क उपचार गरिरहेको छ । गत वर्षबाट कोभिडका लागि छुट्टै रकम छुट्याएर काम गरिरहेका छौँ ।


संघले पठाएको बजेट स्थानीय सरकारको आवश्यकताअनुसारको भएन । स्थानीय सरकारको चाहना र आवश्यकताअनुसारको बजेट पाएनौँ । ‘हाम्रो आवश्यकताअनुसारका योजना संघको बजेटमा समेटिएको छैन,’ उनले भने, ‘माथिबाट निर्देशित योजना आएका छन् ।’ 


कार्यकालको चार वर्ष बितिसक्दा नागरिकका थुप्रै प्रतिबद्धता पूरा गरिसकेका छौँ । गाउँपालिकाको आफ्नै ५ बेडको अस्पताल निर्माण भइसकेको छ । कमजोर स्तरका स्थानीयलाई गाउँपालिकाले ११ लाख रुपैयाँ बजेट छुट्याएर स्वास्थ्य बिमा गरिदिएको छ । विद्युत् पहुँच नभएका सबै वडामा विद्युत् पु¥याइसकिएको छ । पूर्वाधार क्षेत्रमा २० किलोमिटर सडक ग्राभेल भएको छ भने ९ किलोमिटर कालोपत्रे भइसकेको छ । कृषि क्षेत्रको उत्पादन बढाउन कृषकलाई अनुदान दिएका छौँ । ‘हामीले कृषिलाई पनि प्राथमिकतामा राखेर काम गरेका छौँ,’ अध्यक्ष भुजेलले भने, ‘हामीले हाते ट्रयाक्टर, बिउ, मल अनुदान दिएर कृषकलाई उत्साहित गरेका छौँ । यस वर्ष कोल्ड स्टोर बनाउने तयारी थालेका छौँ ।’


नगरले उत्पादनलाई विषादीमुक्त बनाउन काम गरिरहेको छ । कृषकलाई अर्गानिक औषधी र मल व्यवस्था गरेका छौँ । गाउँपालिकाले कृषि उत्पादनलाई बजारीकरण गर्न आफ्नै कृषि बजार सुरु गरेको छ । गाउँपालिकाले आवश्यकताअनुसारको कानुन पनि निर्माण गरेर प्रयोगमा ल्याइसकेको छ । 


यो वर्षको बजेटमा पनि कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौँ । यो अवधिमा भ्युटावर, होमस्टे निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्न सकिएन । ‘हामीले पर्यटनमा धेरै काम गर्न सकेनौँ,’ उनले भने, ‘पर्यटनमा सम्भावना भएको क्षेत्र भए पनि योजनाअनुसारको काम गर्न सकिएन,’ उनले भने ।