close

‘तुलसीपुर उपमहानगरपालिकाको पहिचानलाई राष्ट्रियरूपमा स्थापित गर्न सफल भएका छौँ’

‘तुलसीपुर उपमहानगरपालिकाको पहिचानलाई राष्ट्रियरूपमा स्थापित गर्न सफल भएका छौँ’

Trulli
ADVERTISEMENT

घनश्याम पाण्डे, नगरप्रमुख, तुलसीपुर उपमहानगरपालिका, दाङ 

 

तुलसीपुर उपमहानगरपालिकाको पहिचानलाई राष्ट्रियरूपमा स्थापित गरेका छौँ । हिजो तुलसीपुर राष्ट्रिय मानचित्रमा भेटिँदैन थियो आज त्यो भेटिने भएको छ, देखिने भएको छ । हामीले स्थानीय तहमा राम्रोसँग काम गरेकै कारणले हामीलाई नगर विकास कोषले नेपालकै उत्कृष्ट नगरपालिकाका रूपमा सम्मानित गरेको छ । त्यसले राष्ट्रिय पहिचान कायम गर्यो । अनलाइनमार्फत सबै वडाबाट सेवा प्रवाह गरेपछि हामीलाई सरकारले सेवा प्रवाहमा उत्कृष्ट नगरपालिकाका रूपमा सम्मान गर्यो । युवा परिचालनका दृष्टिले लुम्बिनी प्रदेशमा हामी उत्कृष्ट भएका छौँ । दाङ जिल्लाको सन्दर्भमा योजना निर्माण, व्यवस्थापनमा दशवटै पालिकामा हामी उत्कृष्ट भयौँ । 

 

हामीले तुलसीपुरको दीर्घकालीन योजना, सोच र आवधिक योजना बनाएर समृद्ध तुलसीपुर सधैँका लागि सबैका लागि भन्ने दीगो सहरका रूपमा परिकल्पना गरेका छौं । त्यसले तुलसीपुर उपमहानगरपालिका सेवा केन्द्रका रूपमा स्थापित हुन सफल भएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, व्यापार प्रवद्र्धन र रोजगारीका हिसाबले यो उदयीमान नयाँ केन्द्रका रूपमा स्थापित भएको छ । अर्को कुरा हिजो हामी स्थानीय तहमा निर्वाचित भएर आउँदाखेरि यो उपमहानगरपालिकाको राजस्व क्षमता केवल २ करोड मात्र थियो तर गत आिर्थक वर्षमा मात्रै हामीले २६ करोड आन्तरिक राजस्व हामीले परिकल्पना गर्यौँ र हामीले बनाएको राजस्व सुधार योजनाअनुसार कार्यान्वयन गर्दा यसले पौने २ अर्बको आन्तरिक राजस्व संकलन गर्न सक्छ जसमा राजस्वको दर नबढाएर दायरा वृद्धि गर्ने, अनौपचारिक क्षेत्रमा रहेका व्यापार व्यवसायलाई औपचारिक क्षेत्रमा ल्याउने गर्छौं । यसले हाम्रो आर्थिक सामथ्र्य पनि सृजना गरेको छ । 

 

हामीले दिने सेवाका रूपमा कुरा गर्दा हिजो दाङ विमानस्थल बन्द थियो आज हाम्रो पहलमा सञ्चालनमा आएको छ । चाहे तुलसीपुर फलफूल तथा तरकारी बजार होस्, या नमुना तुलसीपुर अटोभिलेज नै किन नहोस् । चाहे प्रदेशै सबैभन्दा ठूलो बसपार्क होस्, या मेट्रो अस्पताल या तुलसीपुर बहुप्राविधिक शिक्षालय नै किन नहोस् । यी सबै कुरामा स्थानीय सरकारका हिसाबले हामीले नै पहल गर्यौँ । 

 

हिजोका दिनमा संसद् भवनले के पास गर्ला र हामीले काम गरौँला भन्ने हुन्थ्यो भने आज हामीले गरेको कामबाट संघीय र प्रदेश सरकारले समेत सिकिरहेको छ । जस्तो सिटिइभिटीसँग साझेदारीमा हामीले प्राविधिक शिक्षालय सञ्चालन गर्न सकिन्छ भन्ने सुरुवात गर्याँै । तुलसीपुरले गरेको यो पहल अहिले ५ सय ३५ पालिकामा स्थापित भयो । तुलसीपुरमा हामीले छोरीका लागि स्यानिटरी प्याड वितरण सुरु गर्यौँ । आज देशैभरका छोरीहरूले पाउन थाले । तुलसीपुरमा हामीले खरको छानो विस्थापन गर्ने कार्यक्रम ल्यायौँ । आज देशैभरमा सरकारले कार्यक्रम अगाडि बढाएका छन् । हामीले स्थानीय सरकार र एयरलाइन्सका बीचमा सम्झौता गरेर विमानस्थल सुचारु गर्यौँ आज देशैभरका स्थानीय सरकारहरूले त्यो मोडलको सिको गर्दै विमान सेवा सञ्चालन गरिरहेका छन् । संघीयताको राम्रो कुरा के भयो भने तल गरिएका दसाँै कामहरू राष्ट्रियरूपमा सिकाइको माध्यम बने । यसले के गर्यो भने यदि स्थानीय तहमा राम्रोसँग काम गर्यो भने त्यसको सामथ्र्य हुन्छ र त्यसलाई प्रदेश र संघ सरकराले सिको गरेर त्यो देशव्यापी रूपमा जान सक्दछ भन्ने कुरा देखायो । 

 

हामीले दाङ विमानस्थल सञ्चालन गर्छौं भनेका थियौँ, त्यो सञ्चालनमा छ । तुलसीपुर मेट्रो कलेज सञ्चालन गर्ने हाम्रो प्राथमिकता थियो त्यो पनि अहिले सञ्चालन भइरहेको छ । नमुना अटोभिलेज र बसपार्क सञ्चालन गर्ने भनेका थियो त्यो सञ्चालनमा आयो । तुलसीपुरका प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गर्ने भनेका थियौँ, त्यो गरेका छौँ । विकट वडाका जनताका लागि सहुलियतरूपमा एम्बुलेन्ससमेत सञ्चालन गरिरहेका छौँ । विशेषज्ञ सेवासहित मेट्रो अस्पताल सञ्चालन भइरहेको छ । व्यवस्थित तरकारी तथा फलफूल बजार पनि सञ्चालनमा ल्याएका छौँ । यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन रोजगारी लगायतका विभिन्न क्षेत्रमा हामीले काम गरेका छौँ । घोषणापत्रलाई नै मूल मर्म मानेर काम गरेको छौँ । 

 

हामीले गरौँला भनेर योजनामा राखेर तर पूरा गर्न नसकेका केही काम अवश्य पनि छन् । यसमा मुख्य गरेर कोरोनाका कारणले गर्दा पनि हामीलाई समस्या आएको हो । फोहोरलाई मोहोरमा रूपान्तरण गर्ने भनेर हामीले विभिन्न योजना निर्माण गरेका थियौँ । सोअनुसार केही काम पनि भएको थियो तर त्यसलाई अगाडि बढाउन सकेका छैनाँै । तथापि प्रक्रिया भने निक्कै अगाडि बढिसकेको छ । सकभर बाँकी समयमा त्यसलाई पूरा गर्ने हाम्रो लक्ष्य हो । दोस्रो कुरा, हामीले संघीय सरकारको भर पर्दा केही काम हुन सकेन । यो सहरको विकासमा संघीय सरकार र प्रदेश सरकारको उत्तिकै महत्व हुन्छ । जसले गर्दा हामीले स्मार्ट सिटी परियोजना संघीय सरकारको सहयोगमा र तुलसीपुर चक्रपथ योजना प्रदेश सरकारको सहयोग र सहकार्यमा यो वर्षदेखि काम गर्ने भनेका थियौँ तर प्रदेश र संघमा राजनीतिक नेतृत्व परिवर्तन भएसँगै त्यो नेतृत्वले तुलसीपुर स्मार्ट सिटी आयोजना र तुलसीपुर चक्रपथ योजनामा बजेट नछुट्याएको हुँदा त्यो हामीलाई समस्या भएको छ । 

 

संवैधानिक जटिलता त्यति धेरै छैन । स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गर्ने सवालमा संविधानमा प्रस्ट ढंगले उल्लेख गरिएको छ । कानुनी र व्यवहारगत जटिलता हामीकहाँ धेरै छ । संविधानले गरेको व्यवस्थाअनुसार संघीय संसद् र प्रदेश संसद्ले समयमै हामीलाई अत्यावश्यक हुने कानुन निर्माण नगरेको हुँदा स्थानीय सरकारलाई कार्य सम्पादन गर्न ठूलो कठिनाइ छ । यो चाहिँ हाम्रा लागि चुनौतीका रूपमा रहेको छ । 

 

उदाहरणका रूपमा भन्नुपर्दा साझा सूचीमा रहेका कानुन हुन् । अनुसूची ८ एकल अधिकार हो भने अनुसूची ९ साझा अधिकार हो । त्यो साझा सूचीमा रहेका कामहरू गर्नका लागि संघ र प्रदेश सरकारले कानुन निर्माण गर्नुपर्ने हुन्छ । तर हाम्रो सन्दर्भमा यो साझा सूची नै स्थानीय सरकारको अधिकार कमजोर बनाउने टुल्सका रूपमा प्रयोग गर्न थालिएको छ । साझा सूचीमा भएका कारणले केन्द्रीकृत गर्ने काम गरियो जसले गर्दा संघीयताको बाधकका रूपमा संघ सरकार र प्रदेश सरकार देखिएका छन् । 

 

त्यस कारणले गर्दा यो चाहिँ राजनीतिक रूपमा ठूलो जटिलता हो । अर्को भनेको प्रशासनिक जटिलता पनि रहेको छ । प्रदेश र संघले कर्मचारी समायोजन गर्दा दक्ष जनशक्ति स्थानीय तहमा व्यवस्था गर्नुपर्ने हो । सबै तहका कर्मचारी व्यवस्थापनका लागि नियमन गर्ने निजामती सेवा ऐन अहिलेसम्म बनेको छैन । कर्मचारी व्यवस्थापनमा पनि यसले कठिनाइ उत्पन्न गराएको छ । तेस्रो कुरा भनेको वित्तीय हस्तान्तरणको कुरा हो जुन चाहिँ संघीयताको एउटा महत्वपूर्ण कुरा हुन सकिरहेको छैन । शिक्षकहरूको व्यवस्थापन र समायोजना हुन सकेको छैन । यी कुरा प्रमुख जटिलताका रूपमा रहेका छन् । 

 

हामीले बसालेको जगमा इँटा थप्ने काम भावी नेतृत्वको हो । हिजो हामी नेतृत्व लिएर आउँदा यहाँ बस्ने कुर्सी थिएन, काम गर्ने कर्मचारी सीमित थिए, न काम गर्ने कानुन थियो, न त हामीसँग बजेटको व्यवस्था नै थियो । सम्पूर्ण कुरा हामीले व्यवस्थापन गरेका छौँ । एउटा खाली पानामा हामीले काम गरेका छौँ तर अहिले सबै कुरा व्यवस्थित बनाएका छौँ । हिजो हामीलाई कहाँ जाने भन्ने समस्या थियो तर हामीले राजमार्गका लागि ट्रयाक खोलेका छौँ । अब त्यो ट्रयाकलाई मजबुत बनायो भने समृद्धिको यात्रा अगाडि बढ्छ ।