close

मेयर कोइरालाको सम्पत्ति: ३ करोडको गाडी, ८० तोला सुन

मेयर कोइरालाको सम्पत्ति: ३ करोडको गाडी, ८० तोला सुन

Trulli
ADVERTISEMENT

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरमा सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  

विराटनगरका जमिन्दार परिवारको रुपमा चिनिएका कोइरालाको नाममा महानगर क्षेत्रभित्र ८५ कठ्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । 

प्रमुख कोइरालाको नाममा विराटनगरको वडा नम्बर ११ र १५ मा रहेको आफ्नो व्यक्तिगत नामको जग्गाको विवरण मात्र सम्पति विवरणमा उल्लेख गरेका छन् । दुई वटा वडाका कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी उनको नाममा २८ हजार ७१९ वर्गमिटर ९८५ कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ । 

विराटनगर १५ मा ७४ कठ्ठा र ११ नम्बर वडामा ११ कठ्ठा जग्गा भाइको नाममा रहेको भएपनि पैत्रिक सम्पत्तिबाट आफ्नो भागमा आएको उल्लेख गरिएको छ । जग्गाका आर्थिक मूल्यांकन कति हो भनेर उल्लेख गरिएको छैन् ।

प्रमुख कोइरालाको एकाघरको सम्पति भने त्यो भन्दा धेरै छ । तर उनले व्यक्तिगत स्वामित्वमा रहेको सम्पत्तिको विवरण मात्र बुझाएका हुन् ।  

महानगर प्रमुख कोइरालाका प्रेस संयोजक मिनकुमार नवोदित श्रेष्ठका अनुसार कोइरालाले श्रीमती र आमाको नाममा भएको जग्गा र सम्पत्ति विवरणमा समावेश गरेका छैनन् । 

कोइरालासँग ८० तोला सुन रहेको विवरणमा उल्लेख गरिएको छ । उनले ८ लाख रुपैयाँमा ८० तोला सुन खरिद गरेको कैफियतमा जनाएका छन् । उनको नाममा सानिमा बैंकमा १० लाख रुपैयाँ नगद रहेको र उक्त नगद पनि पैत्रिक सम्पतिबाटै प्राप्त भएको भनिएको छ ।

उनले सम्पति विवरणमा विराटनगरमा भएका घरहरुको विवरण बारे उल्लेख गरेका छैनन् । उनको नाममा तीन करोड ३० लाख रुपैयाँ मूल्य पर्ने टोयोटाको प्राडो गाडी रहेको  विवरणमा उल्लेख छ ।