close

विद्यालयमा जनप्रतिनिधिको छड्के

विद्यालयमा जनप्रतिनिधिको छड्के

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन जनप्रतिनिधि विद्यालयमा पुग्न थालेका छन् ।

जानकारी नदिइकन जनप्रतिनिधिहरु निरीक्षण (छड्के)का लागि विद्यालय जान थालेका हुन् । नगरप्रमुख र उपप्रमुख नगरपालिकाको शिक्षा शाखाको टोलीसहित विद्यालयको अवस्थाबारे जानकारी लिन जाने गरेका छन् ।

कक्षाकोठामै पुगेर शिक्षकहरुले अध्यापन गराएको टोलीले निरीक्षणसमेत गर्ने गरेको छ । विद्यालयको वास्तविकताबारे जानकारी लिने उद्देश्यले नगर भित्रका ८० वटै विद्यालयमा पुगेर अन्तरक्रिया गर्न थालेको उपप्रमुख सिता थापाले जानकारी दिइन् । 

उपप्रमुख थापाका अनुसार नगरपालिका भित्रका प्रायः सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार पर्याप्त भए पनि दरबन्दी अभाव, शैक्षिक सामग्रीको अभाव, विद्यार्थीको सङ्ख्या न्यूनलगायत समस्या देखिएको छ ।

नगर शिक्षा शाखाका विद्यालय निरीक्षक गोपाल खड्काका अनुसार विद्यालयको शैक्षिक अवस्था, फर्निचर, खातापाता, पुस्तकालय, दैनिक कार्यतालिका, कार्यविभाजनदेखि विद्यार्थीको शैक्षिक उपलब्धीको मुल्याङ्कनलगायत अवस्थाबारेमा जानकारी लिने गरिएको छ । 

निरीक्षणपछि विद्यालयको अवस्था समेटेर शैक्षिक सुधार गर्न नयाँ योजना र सुझाव समेत शिक्षा शाखाले सम्बन्धीत विद्यालयलाई दिने गरेको छ ।

नगरप्रमुख कृष्णप्रसाद सापकोटाले शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनुपर्नेमा जोड दिन्छन् । “शैक्षिक क्रियाकलाप गुणस्तरीय र उपलब्धीमुलक बनाउन आवश्यक छ, यसमा हामी सक्दो सहयोग गछौँ”, उनले भने ।