close

साम्पाङले मागे वडाध्यक्षको राजीनामा

साम्पाङले मागे वडाध्यक्षको राजीनामा

Trulli
ADVERTISEMENT

सुनसरी । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ राईले वडाध्यक्षहरुको राजीनामा माग गरेको छ । नगर कार्यपालिकाको बैठक बहिस्कार गरी उपस्थित नहुने वडाध्यक्षहरुसँग नगरप्रमुख राईले राजीनामा माग गरेका हुन् । 

नगरप्रमुख राईले आफूले बोलाएको बैठकमा पटक पटक वडाध्यक्षहरुले उपस्थित नभएपछि बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा माग गरेका हुन् । उनले नगर कार्यपालिका बैठकलाई पटक पटक बहिस्कार गरी जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनु पर्ने अधिकार खेलबाड भएको र आफ्नो कर्तव्य कुरा नगरेको आरोप लगाएका छन् । 

उनले प्रेस विज्ञप्तिमा लेखेका छन्,  ‘केही महिनादेखि बिनाखास कारण पटक–पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनुपर्ने अधिकारमाथि खेलवाड गरिरहेको र आफ्नो कर्तव्य पूरा नगरेको अवस्था अवगत गराउन यो विज्ञप्ति जारी गर्न बाध्य भएको छु ।’

उनले संविधानको धारा २७ मा उल्लेखित सूचना पाउने नागरिकको मौलिक हक दिन नमानेको देखिएकाले वडाहरूमा के कस्ता काम भएका छन्, तुरुन्तै सार्वजनिक गर्न सो विज्ञप्तिमार्फत निर्देशन दिएका छन् । 

उनले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ को उपधारा ४ क को ६ मा प्राप्त कार्यपालिकाको कामलाई रेखदेख, निर्देशन र नियन्त्रण गर्ने अधिकार प्रयोग गर्दै जनताको गरिमामय कार्यपालिका बैठकमा असभ्य, अशिष्ट र अमर्यादित भाषाशैली प्रयोग गरेर भाँडभैलो मच्चाउनेलाई स्पष्टीकरण माग्दा अन्यथा मान्नुपर्ने कुनै कारणसमेत नरहेको जनाएका छन् । 

‘धरान उपमहनगरपालिकाको बैठक सञ्चालन कार्यविधि २०७४ को धारा १४ को उपधारा १ अनुसार बैठकलाई सुव्यस्थित गर्ने अधिकार प्रयोग गरेको उनले बताएका छन् । उनले भने,  सोही धाराको उपधारा २ मा दिएको बैठक अध्यक्षता गरिरहेको नगरप्रमुखको सामुन्ने अवज्ञा गर्दै भाँडभैलो गर्नु विधिको उल्लंघन हो ।’

उनले कसैले पनि 'म बैठक बस्दिनँ ।' भन्न नपाइने र भनेमा कर्तव्य गर्न नसकेकाे वा जनताकाे सामू असक्षम भएकाे पुष्टि हुने बताए । साे कार्य गरेमा  नैतिकताकाे आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्ने  साे विज्ञप्तिमा उल्लेख गरेकाे छ ।