close

कटहरियाको विद्यालयः अंग्रेजी माध्यममा पढाई, भवनका लागि केन्द्रसँग सहयोगको माग

कटहरियाको विद्यालयः अंग्रेजी माध्यममा पढाई, भवनका लागि केन्द्रसँग सहयोगको माग

Trulli
ADVERTISEMENT

रौतटह - कटहरिया नगरपालिकाले विगत एक वर्षमा शैक्षिक सुधार गर्दै आएको छ । नगरपालिकाका नगरप्रमुख अजय प्रकाशले आफ्नो एक वर्षमा  शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताएका छन् । 

उनका अनुसार एक वर्षमा शैक्षिक सुधारको लागि नगरपालिकाले नयाँ शिक्षकको व्यवस्थापन, शुल्कमा सहयोग र अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्दै आएको छ । उनले एक वर्षमा २३ वटा सामुदायिक विद्यालयको लागि ३६ जना शिक्षक पदपूर्ती गरेको बताए । संघीय सरकारले दिएको दरबन्दी शिक्षक अपुग भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट पदपूर्ति गरेको उनले पालिकाखबरलाई बताए  । 

'पालिकाभित्र २३ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । तर ५० जना मात्रै दरबन्दी शिक्षक छ,' उनले भने, 'सो शिक्षकले विद्यालय सञ्चालन गर्न पुग्छ त? त्यसैले विज्ञापनमार्फत हामीले शिक्षक पदपूर्ती गरेका छौँ ।' 

 अधिकांश अभिभावक आफ्नो सन्तानलाई बोर्डिङ विद्यालयमा पढाउने इच्छा राख्ने तर आर्थिक अभावले उनीहरुके सपना पुरा नहुने उनले बताए । 'अंग्रेजी माध्यमबाट पढाउनका लागि सन्तानलाई बोर्डिङ विद्यालयमा पढाउन खोज्नु हुन्छ । तर पैसा अभावले सक्नु हुन्न,' उनले भने, 'त्यसैले मेरो कार्यकालमा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम लागू गरेका छौँ । हाल सामुदायिक विद्यालयमा नेपाली र अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुँदै आएको छ ।' 

उनले शैक्षिक सुधारको लागि अन्य विभिन्न नीति ल्याएको बताए । तर पनि सामुदायिक विद्यालयको लागि भौतिक भवनको व्यवस्थापन गर्न नसकेकोमा उनले दुखेसो पोखे । 'अधिकांश विद्यालयको भवन नाजुक छ । तर नगरपालिकाको स्रोतबाट बनाउन सकेका छैनौँ,' उनले भने, 'जसोतसो सोही भवनबाट कक्षा सञ्चालन गर्दै आएका छौँ ।' 

भवन निर्माणको लागि केन्द्रीय तथा प्रदेश सरकारसँग बजेट माग गरेपनि कुनै सुनुवाई नभएको उनको गुनासो छ । 'हामीले पटकपटक भन्यौँ । यो वर्ष दिने भनेका थिए । तर दिनु भएन,' उनले भने । 

शिक्षा क्षेत्रसँगै कृषि, स्वास्थ्य, भौतिक पूर्वाधारमा प्राथमिकता राखेर काम गर्दै आएको उनले सुनाए ।