close

वडाध्यक्ष भएर भ्रष्टाचारविरुद्ध अभियान छेडेका घिमिरेले किन गरे आत्महत्या ?

घिमिरेका अन्तिम शब्द– ‘आरक्षण जातको आधारमा नभई वर्गको आधारमा होस्’

वडाध्यक्ष भएर भ्रष्टाचारविरुद्ध अभियान छेडेका घिमिरेले किन गरे आत्महत्या ?

घिमिरेका अन्तिम शब्द– ‘आरक्षण जातको आधारमा नभई वर्गको आधारमा होस्’

Trulli
ADVERTISEMENT

गुल्मी - ‘भ्रष्टहरूविरुद्ध एक हौं !’— शनिबार रुखमा झुण्डिएर आत्महत्या गरेका गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहन घिमिरेको एक हप्ता अगाडिको ‘फेसबुक स्टाटस’ हो यो । 

गत साउन २७ गते पोष्ट गरिएको स्टाटसमा मुसिकोट नगरपालिका वडा नं. ८ ले दुई लाखमा किनिएको भनिए पनि आधा रकम हिनामिना भएको भन्दै स्टिलको दराजको फोटोसहित राखेर मेयरसँग यसको जवाफसमेत मागिएको छ । 

यसको तीन दिनअघि घिमिरेले विपद् व्यवस्थापन कोषको दुरुपयोगका विषयमा फेसबुकमार्फत् गम्भीर चासो राखेका छन् । विपद् कोषबाट खर्च गरिएको रकमको हिसाब उनले नगरपालिकासँग लिन सूचनाको हकको प्रयोग गर्नु परेको उल्लेख गर्दै सो कोषको रकम व्यक्तिका नाममा भुक्तानी दिएकोप्रति उनले सचेत गराएका छन् । 

‘आर्थिक अनियमितताका सबै खाले विषयहरू अब क्रमिक रुपले बाहिर ल्याउने नै छौं । यसबाट सुशासन पक्षधर साथीहरूलाई थप ऊर्जाका साथ काम गर्न हौसला मिल्नेछ’ मृतक घिमिरेले लेखेका छन्, ‘नगरपालिकालाई नै कुनै अमुक दलको अखडाको रुपमा विकास गरिएको प्रष्ट हुन्छ ।’

घिमिरेले पछिल्लो समय लगातार अनियमितता र लापरवाहीका बारेमा निकै चासोका साथ काम गरिरहेको देखिन्छ । नेपाली कांग्रेसका नगर सभापतिको समेत जिम्मेवारीमा रहेका मृतक घिमिरेका वक्तव्यहरू केलाउँदा उनको सक्रियताले नगरभित्रका जनप्रतिनिधि र प्रशासकहरूलाई निकै असहज भएको सहजै महसुस गर्न सकिन्छ । 

घिमिरेको अर्काे पक्ष

आत्महत्या गर्नुभन्दा चार दिन अगाडि स्थानीय युवा शैलेषको मृत्युको खबर पाएपछि श्रद्धाञ्जली दिन घाटमै पुगेका थिए, वडाध्यक्ष घिमिरे । आत्महत्या गलत हो भन्ने मान्यता राखेर चार दिन अगाडि उनले लेखेका थिए, ‘मानवीय त्रुटिजन्य क्रियाकलापबाट सिर्जिट दुर्घटना रोक्न हामी सबै सचेत बन्नु आवश्यक देखियो ।’ यो सन्देश दिएको चार दिन नबित्दै आफैंले आत्महत्या रोजे, घिमिरेले । 

घिमिरे प्रखर, निडर र जुझारु युवा रहेको उनकै सहकर्मी रविन खनालको बुझाई छ । रविन र मृतक वडाध्यक्ष घिमिरे दुवईमा सँगै काम गरेका सहकर्मी हुन् । एउटै मेषमा खाएर काम गरेका रविनलाई घिमिरेले आत्महत्याको बाटो रोज्छन् भन्ने विश्वासै नरहेको कमेण्ट गरेका छन् । 

घिमिरेको अन्तिम इच्छा

टाँकसमेत नभएको, च्यातिएको गञ्जी र साईजभन्दा ठूला चप्पलभित्र गोडा घुसारेर अप्ठ्यारो गरी हिंडेका एक जना बालकको भिडियो शेयर गर्दै मृतक घिमिरेले राज्यको सेवा सुविधा वितरण प्रणालीमाथिनै प्रश्न गरेका छन् । 

विद्यालयमा सुविधा पाउने आशमा लाईनमा लागेका विद्यार्थी जातकै कारण सुविधाबाट बञ्चित भएको भाइरल भिडियो पोष्ट गर्दै घिमिरेले लेखेका छन्, ‘आरक्षण जातको आधारमा नभई वर्गको आधारमा होस् ।’

वडाध्यक्षमा निर्वाचित भएको छोटो अवधिमा जनतालाई नागरिक बनाउन तल्लिन रहेका घिमिरेले भ्रष्टाचारविरोधी अभियानमा लागिरहँदा समाजको अर्काे पक्षको गाली र असहयोग पाए । र, उनी त्यो वर्गको तारो बनिरहेका थिए । 

कस्तो चपेटा हो, परिस्थितीको ?

आत्महत्या रोजेका वडाध्यक्ष घिमिरेको त्यो कस्तो खालको परिस्थितीको चपेटा झेल्नुपर्याे भन्ने तथ्य पछि खुल्ला नै । उनीसँग आशा र विश्वास रहेका परिवार र मतदातालाई योगदान गर्न नसक्ने त्यस्तो कुन परिस्थिती आईपर्याे ? प्रहरीको अनुसन्धानपछि सार्वजनिक पनि होला । अहिल्यै अनुमान गर्नु प्रत्युत्पादक हुनसक्छ । तर, एउटा कुरा भने अवश्य भन्न सकिन्छ कि, राम्रो सोच राखेर काम गर्ने जनप्रतिनिधि र राष्ट्रसेवकका लागि समाजभित्रको एउटा तत्वले शारीरिक र मानसिकरुपमै असहज ‘परिस्थितीको चपेटा’मा पारिरहेको छ । 

अब यत्ति भन्न सकिन्छ कि, असल चरित्रको प्रतिनिधित्व गर्ने जनप्रतिनिधि वा कर्मचारी वा अभियन्ता वा व्यवसायी वा कोही कसैले आत्महत्याको बाटो रोज्नु नपरोस् । 

अल बिदा, मोहन घिमिरे ।