close

ढकियामे नागरिकता प्रदर्शन हुँदै 

नागरिकताविहीनको अवस्था चिरफार

ढकियामे नागरिकता प्रदर्शन हुँदै 

नागरिकताविहीनको अवस्था चिरफार

Trulli
ADVERTISEMENT

काठमाडौं– युवा निर्देशक सरिता साहको निर्देशनमा ‘ढकियामे नागरिकता’ नाटकको पोस्टर सार्वजनिक भएको छ । नाटक आउँदो १ देखि १० माघसम्म हरेक दिन साँझ ४ः३० बजे शिल्पी थिएटर बत्तीसपुतलीमा प्रदर्शन हुनेछ ।

 


नाटकको माध्यमबाट जन्मसिद्ध नागरिकता पाएका आमाबुबाको छोराछोरीले वंशजको आधारमा नागरिकताविहीन हुन पुगेको, विदेशी महिलाले नेपालीसँग विवाह गरी श्रीमान् मरेपछि नागरिकता नपाएको कारण राज्यले दिने विभिन्न सेवा–सुविधाबाट वञ्चित हुन पुगेको, भूमि नभएका कारण नागरिकता नपाएको जस्ता समस्या देखाइनेछ ।

 


राज्यले नागरिकताजस्तो संवेदनशील विषयलाई नजरअन्दाज गर्दा लाखौँ नागरिक अनागरिक हुनुपरेको भन्दै साहले आफ्नो नाटकमार्फत आमनागरिकको समस्या जनसमुदायसमक्ष प्रस्तुत गर्ने बताइन् ।


 
‘नागरिकतासम्बन्धी राज्यले बनाएको कानुन कार्यान्वयन नहुँदा लाखौँ नागरिक अनागरिक हुन पुगेका छन्’, निर्देशक साहले भनिन्, ‘संविधानमा भएको व्यवस्था कार्यान्वयन नगर्ने समस्या त छँदै छ, महिलालाई नागरिकता लिन समस्या छ । जन्मसिद्धका सन्तानलाई नागरिकता दिँदा राष्ट्रियता मासिन्छ भन्ने डरलाई नाटकमार्फत प्रस्तुत गरिएको छ ।’


साहका अनुसार राज्यसत्तामा रहेकाहरूले आफ्नो अनुकूल नियम कानुन बनाइदिने, बनाएका कानुन कार्यान्वयन नगर्ने, अदालतको आदेश सिडिओले नमान्नेजस्ता समस्या देखिएका छन् । कहीँ न कहीँ प्रशासनको पनि कमी देखिएको कुरालाई नाटकमा दर्शाइने उनको भनाइ छ ।

 


नाटकमा कलाकारहरू सरिता साह (महोत्तरी), अनिल कुर्मी (नवलपरासी), सुजिता साह (महोत्तरी), राज शर्मा पंगेनी (नवलपरासी), आदित्य मिश्रा (रौतहट), हाङओ राई (भोजपुर), रमिता यादव (सिरहा), सञ्जय मुडियारी (मोरङ), सुदीपजंग कार्की (मोरङ), सुदीप पटेल (धनुषा), सुस्मिता पोख्रेल (सुनसरी), आकाश झा (महोत्तरी) र प्रिन्सेज साहको अभिनय रहेको छ ।