close

नयाँ पोसाकमा ललितपुरका नगर प्रहरी

नयाँ पोसाकमा ललितपुरका नगर प्रहरी

Trulli
ADVERTISEMENT

ललितपुर–

ललितपुर महानगरका नगर प्रहरीलाई नयाँ पोसाक वितरण गरिएको छ । सोमबार महानगर प्रमुख चिरीबाबु महर्जनले नयाँ र अन्त कतै प्रयोग नगरिएको डिजाइनसहितको पोसाक नगरभित्रका ५० नगर प्रहरीलाई वितरण गरेका हुन् ।


ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने जमर्को र संविधानमै व्यवस्था भएअनुरुप महानगरले पनि आवश्यकताअनुरुप नगर प्रहरीको व्यवस्था गर्न सक्ने भएकाले नगर प्रहरीलाई पनि स्मार्ट बनाउने उद्देश्यका साथ नयाँ पोसाक वितरण गरिएको नगरप्रमुख महर्जनले बताए ।


नगर प्रहरी प्रमुखको रुपमा केही समयअघि मात्र नियुक्त भएका सीताराम हाछेथु पनि सुरक्षा र आफ्नो संयन्त्रलाई स्मार्ट बनाउने मामलामा सेलिब्रेटी नै भएकाले उनैको नेतृत्वमा ललितपुर  नगर प्रहरी स्मार्ट बन्ने उनको विश्वास छ ।


हालसम्म नगर प्रहरीले गरेको कामले सर्वत्र प्रशंसा पाएको बताउँदै नगरप्रमुख  महर्जनले भने, ‘पछिल्लो समय मैले विभिन्न ठाउँबाट आएका फोन तथा एसएमएसलाई आधार मान्ने हो भने सराहनीय काम ललितपुर महानगरपालिकाभित्र भएको छ । यो मेरो मात्र सफलता नभई यसको श्रेय  सीताराम हाछेथुलाई पनि दिन चाहन्छु ।’

 

अहिले लागू गरिएको नगर प्रहरी पोसाक हालसम्म देशको कुनै पनि निकायले लागू गर्न नसकेकाले यो सराहनीय पक्ष भएको नगरप्रमुख महर्जनले बताए । योलगायत अहिले ललितपुर महानगरले गरेका सबै काम स्मार्टनेसको अभिन्न अंग भएको उनको दाबी छ ।


नगर प्रहरी प्रमुख सीताराम हाछेथुले राम्रो व्यक्तित्वले पनि काम झल्किने भएकाले यस्तो पोसाकले अन्य व्यक्तिले नगर प्रहरीलाई हेर्ने दृष्टिकोण फरक हुने विश्वास व्यक्त गरे ।