close

...अनि विमायाले घरमै उपचार पाइन्

...अनि विमायाले घरमै उपचार पाइन्

Trulli
ADVERTISEMENT

तनहुँ–  स्याउलामाथि खिया लागेको जस्तापाताले छाएको छाप्रो । निहुरिएर पनि भित्र पस्न मुस्किल हुन्छ । छाप्रोभित्र बन्दीपुर गाउँपालिका–२ आरथुम्का भुजेलगाउँकी ५१ वर्षीया विमाया भुजेल लडिरहेकी छन् ।


भदौ तेस्रो सातादेखि वामे सर्न सकेकी छैनन् । पाँच वर्षअघि देब्रो खुट्टाको घुँडामाथि भाँच्चिएपछि उनले घस्रिएर पाइला चालेकी थिइन् । त्यही खुट्टाको घुँडामुनि फेरि अर्को ठाउँ भाँच्चिएपछि उनी झनै थला परिन् ।


उपचार गर्नुको सट्टा भाँच्चिएको खुट्टामा कपडाले कसिन् । जडीबुटीको लेदो धसेर बसिन् । उपचारका लागि अस्पताल जान उनीसँग न पैसा थियो, न त स्वास्थ्य सचेतना नै । दिउँसो उखरमाउलो गर्मीमा पनि छाप्रोभित्र बसिरहेकी हुन्छिन्, उनी ।


लायन्स क्लब अफ पोखरा पीपलचौतारीका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठ, सचिव डा. विवेक पोखरेलको टोली घरमै पुगेर भाँच्चिएको खुट्टा प्लास्टर गरिदिएका छन् । दुखाइ कम हुने औषधी पनि दिए । महिना दिनपछि फेरि जाँच्न आउने वाचा गर्दै उनीहरू फर्किए ।

 
दोस्रो पटक खुट्टा भाँच्चिएको महिना दिनपछि घरमै उपचार पाउँदा उनको मन हल्का भयो । विमाया खुसी साट्छिन्, ‘तपाईंहरूलाई धेरै धन्यवाद । मलाई खुसी लाग्यो । घरमै आएर मेरो उपचार गरिदिनुभयो ।’


५ वर्षअघि विमायाको खुट्टा पहिलो पटक भाँच्चिएको थियो । पोखराको मणिपाल अस्पतालसम्म पु¥याएर उपचार गराएको उनका श्रीमान सोमबहादुर बताउँछन् । महिनौंसम्म लाखौं रुपैयाँ खर्चिंदा पनि निको नभएको उनी सुनाउँछन् ।


‘ठीक नभएपछि अपरेसन गरी खुट्टामा स्टिल राखी ल्याएको हो । दौडँदादौडिँदै स्टिल निस्कियो । आँपपीपल लगेर निकालेर ल्याएँ’, उनले श्रीमतीको उपचारको बेलिबिस्तार लगाए ।


त्यसपछि विमायाको खुट्टाले टेक्न भर पाएन् । घस्रिएरै जिन्दगीको पाइला निरन्तर चलिरह्यो । तर, भदौ १९ मा फेरि अर्को ठाउँमा भाँच्चियो । उपचार गर्न पैसा नभएर घरमै राखेको सोमबहादुर बताउँछन् । उनी भन्छन्, ‘आर्थिक अवस्था कमजोर छ । पहिल्यै त्यत्रो खर्च भयो । आम्दानी छैन । छोरा पनि बेपत्ता छ । त्यही भएर अस्पताल लगिनँ ।’


लायन्स क्लब अफ पोखरा पीपलचौतारीले आरथुम्कामा बृहत् स्वास्थ्य शिविर चलाएर विमायासँगै थला परेका अन्य २ जनाको पनि घरमै पुगेर स्वास्थ्य परीक्षण गरिदिएको हो । पोखराबाट पुगेका ३ डाक्टर र २   स्टाफ नर्सले स्वास्थ्य सेवा दिएका हुन् । उक्त शिविरबाट विमायाजस्ता ९६ रोगी लाभान्वित भए । क्लबले गाउँमै ५० हजार बराबरको निःशुल्क औषधी वितरण गरेको छ ।


६६ वर्षीय श्रीलाल भुजेलले शिविरमा गएर स्वास्थ्य परीक्षण गरे । महिनौं अघि लडेर ढाड दुख्न थालेको बताउने उनले निःशुल्क जाँच गराएर औषधी पाएपछि निको हुने आशा पलाएको सुनाए । उपचार नगर्नुको कारण खोतल्दा उनले सुनाए, ‘पैसा छैन । अस्पताल गएपछि पैसा माग्छन् । त्यसैले गइनँ ।’


भुजेल समुदायमा अस्पतालको सेवा महँगो हुने हुँदा रोग पालेरै घरमा बस्नेहरूको संख्या बग्रेल्ती छ । गाउँपालिकाको मुकामबाट नजिकै रहे पनि भुजेल समुदायमा अशिक्षित हुँदा स्वास्थ्य सेवाको पहुँचबाट टाढै छन् ।


स्थानीय स्वास्थ्यप्रति सचेत नहुँदा रोग पालेरै बस्ने गरेको क्लबका अध्यक्ष ढाकाकुमार श्रेष्ठले बताए । ‘वृद्धवृद्धा, महिला र केटाकेटी रोग पालेर बसेका छन्’, उनले भने ।


श्रेष्ठका अनुसार क्लबले आरथुम्कामा स्वास्थ्यकर्मीसहितको हेल्थ क्लिनिक सञ्चालनमा ल्याउने तयारी छ । यसअघि असोज २ मा पीपलचौतारीको टोली पुगेर आरथुम्कामा खाद्यान्न सामग्री वितरण गरेको थियो ।


नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले विमायाको दयनीय अवस्थाको फोटो सामाजिक सञ्जालमा पोस्ट्याएपछि क्लबले त्यहाँ पुगेर सघाउन चासो देखाएको हो ।


गाउँमा स्थानीयको अवस्था झनै दयनीय देखेपछि क्लबले गाउँको मुहार फेर्ने अठोट गरेको अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘एकीकृत बस्ती बसाल्नेदेखि उत्पादनसँग जोड्ने योजनामा छौं’, डा. श्रेष्ठ भन्छन्, ‘गरिबी र अशिक्षाले पिल्सिएको बस्तीमा क्रमिक परिर्वतन ल्याउनु छ ।’


यो बस्तीमा ३५ घर छन् । भुजेल समुदाय सीपले भने समृद्ध । बाँसबाट बन्ने नाङ्लो, डोको, डालोजस्ता सामग्री बनाएर बजारमा बिक्री गर्छन् । तर, चेतना स्तर कम हँुदा आम्दानी मदिरापन र खानपानमै खर्चिन्छन् ।


बचत गर्न सिकाउन लायन्सले सहकारीको अवधारणा पनि ल्याएको छ । गाउँभन्दा एक घन्टाको दूरी कुकुर्दीमा आधारभूत स्वास्थ्य चौकी छ । तर, भुजेल समुदायमा उपचार गराउन जाने प्रवृत्ति नरहेको वडाध्यक्ष कृष्णप्रसाद लामिछाने बताउँछन् ।


‘स्वास्थ्यको ख्याल राख्दैनन् । सरसफाइ गर्नुपर्छ । खानपानमा ध्यान दिनुस् भनेर सचेत गराउँछौं । व्यवहारमा लागू हुँदैन’, उनले भने । खानपानकै कारण बढी रोग देखिएको वडाध्यक्ष लामिछानेको बुझाइ छ ।


स्वास्थ्य सेवा सबै गाउँबासीको  पहुँचमा पु¥याउन गाउँपालिका प्रतिबद्ध रहेको अध्यक्ष पूर्णसिं थापा बताउँछन् । ‘सरकारलाई थाहा हुनुपर्छ, को नागरिक बिरामी भएको छ । खुट्टा भाँच्चिएर थला परेको पालिकालाई थाहा भएको भए हामीले उपचार गरिदिन्थ्यौं’, उनले भने ।


जनचेतना फैलाउने कार्यक्रम गर्दै आए पनि गाउँको नेतृत्व गर्न सक्ने सक्षम व्यक्ति अभावमा गाउँपालिकाको प्रयासले सार्थकता नपाएको उनको दाबी छ ।

विद्यार्थीलाई झोलाभरि पाठ्यासामग्री

लायन्स क्लब अफ पोखरा समर्पणले आरथुम्काको भुजेल बस्तीमा रहेको भैरव प्राविका विद्यार्थीलाई सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत ३२  विद्यार्थीलाई विद्यालय पोसाक, झोला, चप्पल र शैक्षिक सामग्री सहयोग गरेको हो ।


पोसाक सिलाउने व्यवस्थासमेत क्लबले नै गरिदिएको छ । ५० हजार रुपैयाँको सामग्री सघाएको अध्यक्ष भावना बसेलले जानकारी दिइन् ।